धादिङको हुग्दीखोलामा रहेको पुल आइतबार दिउँसो एक्कासि प्वाल पर्यो।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जोड्ने हुग्दी खोलाको उक्त पुल पृथ्वीराजमार्गको व्यस्तमध्ये पर्छ।
दोहोरीलत्त सवारी साधन आवतजावत गर्ने व्यस्त पुल बीचमै भ्वाङ परेपछि अहिले एकतर्फी तुल्याइएको छ। ढुंगाको छेकबार राखेर सवारी साधन हिँड्न रोकिएको छ।
पुलको ढलानमुनिको भागमा राखिएको फलामे पाता भाँचिएर पुलको खण्ड बीचमै फुटेको प्रारम्भिक आकलन गरिएको छ।
ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार पुलमा करिब साढे दुई फिटको प्वाल परेको छ।
उनकाअनुसार अहिले त्यहाँ पुल मात्रै होइन, सवारी आवागमन, यात्रुहरूको आवतजावत नै जोखिमपूर्ण बनेको छ।

२०८० वैशाख १८ गते गणेश खोलाको पुलको मुखमा ठूलो भ्वाङ पर्यो। धादिङको धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुलको मुखमा पहिले सानो आकारको भ्वाङ परेको थियो। विस्तारै बढ्दै गएपछि सवारी आवागमन नै अवरूद्ध हुन पुग्यो।
धादिङकै थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलामा पनि त्यस्तै भयो। गत जेठ १३ गते पुलमा भ्वाङ परेपछि आवतजावत नै प्रभावित बन्यो। पुलमा सवारी साधन चलाउने अवस्था नभएपछि यात्रुहरू गाडीबाट झरेर पैदलै गन्तव्यतर्फ लागेका थिए।
सोताङमा नयाँ पुल बनाउने काम भइरहेको थियो। त्यहीँ नयाँ पुल बनाउन संरचना निर्माण गर्ने उपक्रममा भाइब्रेसनका कारण पुरानो पुलमा भ्वाङ परेको हुनसक्ने आशंका गरिएको थियो।
पुलमा मात्रै होइन काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा कहिलकाहीँ बीच सडकमै (सिङ्क होल) अर्थात् भ्वाङ पर्ने गर्छ।
काठमाडौंको सोह्रखुट्टे, केही समयअघि नयाँ बानेश्वर क्षेत्र, नयाँ बानेश्वर–शंखमूल सडक, काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालय अगाडि नै बीच सडकमा भ्वाङ परेर आवतजावत अवरूद्ध भयो।
गत वैशाख २० गते हेटौंडामा आश्चर्यजनक घटना भयो। सडकमा एक्कासि सिङ्क होल बनेर गाडी दबिन थाल्यो। हेर्दाहेर्दै भ्वाङभित्रै गाडी अलप भयो।
२० दिनपछि गाडीका टुक्राटाक्री मात्रै फेला पर्यो। त्यो पनि खाडलभित्र दबिएको अवस्थामा ती टुक्राटाक्री फेला परेका थिए। र, क्रेनको सहायताले निकालिएको थियो।
जमिनको भौगर्भिक अवस्था, जमिनको भित्री सतहको माटो पानीसँग घुलेर कतैबाट पाइपिङ (निकास) हुने, ढल वा नाला निकासको पाइप फुटेर वरिपरिको माटो बगाउँदा पनि यस्ता सिङ्क होल बन्ने गर्छन्।
तर यहाँ चर्चा गर्न खोजिएको पुलको मुखमा अचानक किन भ्वाङ पर्छन् भन्ने हो।
यसबारेमा हामीले खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिव बास्कोटालाई सोध्यौं।
उनले पुलको मुखमा भ्वाङ पर्नुको तीन कारण औंल्याए।
पहिलो, उनले पुलको मुखमा खाँदेको माटोको कारण प्वाल पर्ने अवस्था देखाए। सामान्यतया पुलको लम्बाइ छोट्याउन खोलाले चर्चेको अथवा त्योभन्दा कम भागसम्म पनि पुलको स्ल्याब हाल्ने, त्यसपछि माटो भरेर अप्रोच रोड बनाउने चलन छ।
त्यसले अप्रोच रोड बनाउने उपक्रममा दुईतिर पर्खाल लगाएर बीचमा माटो खाँदिन्छ। त्यसरी सडक खण्ड तयार पार्ने क्रममा माटो खाँद्ने प्रक्रिया नमिल्दा पनि यस्ता खाडल देखिने सम्भावना रहेको उनले औंल्याए।
दोस्रो, पानीको निकास व्यवस्थित नहुँदा पनि पुलको मुखमा भ्वाङ पर्ने सम्भावना हुने उनले बताए।
‘यसरी बन्ने पुलमा पानीको निकास सही र व्यवस्थित हुनुपर्छ। सडकभित्र छिर्ने अवस्था आउनुहुँदैन। सडकभित्र पानी पस्यो भने माटो घुलेर कुनै ठाउँबाट निकास भयो भने बीच-बीचमा भ्वाङ बन्न थाल्छ,’ उनले भने।
यसरी जमिनको भित्री सतहमा खाडल वा गुफाजस्तो बन्ने र माथिल्लो सतहको भारवहन कमजोर हुँदै जाँदा खाडल बन्ने उनले बताए।
तेस्रो, खोलाको कटानका कारण पनि पुलको मुखमा प्वाल पर्ने अवस्था आउने उनले बताए।
‘पुललाई खोलाको बहावले असर नगरोस् भनेर नियन्त्रण, छेकबारको संरचना त बनाइएको हुन्छ। तर पनि कहिलेकाहीँ ती संरचनाले नथेगेर कटान हुन्छ र दुवैतर्फ पुललाई जोड्ने सडक खण्डमा खाडलसमेत पर्ने हुन्छ,’ उनले भने।
यसबाहेक हुग्दी खोलामा प्रकट भएजस्ता कारण पनि नहुने होइनन्। पुलकै संरचनामा देखिने खराबी लगायतका कारणले पनि भ्वाङ पर्ने अवस्था हुने उनले बताए।
उनले सडकलगायत संरचना बनाउँदा पानीको निकास र नदी कटानबारे ध्यान दिनुपर्ने औंल्याए।
‘संरचना बनाउँदा र बनिसकेपछि पानीको निकास ध्यान दिँदैनौं। पुलको मुखमा मात्रै होइन अन्यत्र पनि पानीको निकास व्यवस्थित भएन भने संरचना दिगो हुँदैनन्,’ उनले भने।