इरानले अमेरिकी आक्रमणअघि नै फर्दोबाट युरेनियम र महत्त्वपूर्ण सामग्रीहरू अन्यत्र सारेको हुनसक्ने बताइएको छ।
आइतबार बिहान अमेरिकाले फर्दोको आणविक परियोजनामा भीषण आक्रमण गर्नुअघि नै इरानले त्यहाँबाट युरेनियमसहित महत्त्वपूर्ण उपकरण त्यहाँबाट हटाएको हुनसक्ने दुई जना इसराइली अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
इसराइले अमेरिकी आक्रमणबाट फर्दोमा कति क्षति भयो भन्ने अध्ययन स्याटलाइट तस्बिर र गुप्तचर संयन्त्रमार्फत गरिरहेको छ।
केही दिनअघिका स्याटलाइट तस्बिरमा फर्दोको आणविक भट्टी वरपर धेरै ट्रकहरू देखिएको ती अधिकारीहरूले बताएको न्युयोर्कट टाइम्सले जनाएको छ। त्यहाँ ट्रकहरुको 'मुभमेन्ट' धेरै देखिएका कारण इरानले अमेरिकी हमलाअघि नै फर्दोबाट युरेनियम र महत्त्वपूर्ण उपकरण सारिसकेको आशंका गरिएको हो।
मक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाइट तस्बिरले आणविक क्षेत्र प्रवेशद्वारमा १६ वटा कार्गो ट्रकहरू रहेको देखाएको छ। लन्डनको ओपन सोर्स सेन्टरको विश्लेषणले भने इरानले आक्रमणका लागि साइट तयार गरिरहेको हुन सक्ने पनि बताएको छ। तर फर्दोबाट के हटाइएको थियो भन्ने चाहिँ स्पष्ट नभएको उसले बताएको छ।
आणविक हतियारको ठूलो उत्पादन केन्द्र रहेको आकलन गरिएको फर्दोमा अमेरिकाले आइतबार अत्यधिक शक्तिशाली जिबियू-५७ बंकरभेदी बम खसालेको थियो। फर्दोमा मात्रै १२ वटा त्यस्ता बम खसालेको भनेर रक्षामन्त्री पिट हेगसेथले गएरातिको पत्रकार सम्मेलनमा बताएका छन्।
३० हजार पाउन्डका एक दर्जन बम खसालिएकाले फर्दो कामै नलाग्नेगरी ध्वस्त भएको ट्रम्पले पनि बताएका थिए। तर फर्दोको आणविक भट्टी पूर्ण रूपमा ध्वस्त नभएको अमेरिकी अधिकारीहरूकै मूल्यांकन छ।
३०,००० पाउन्ड तौलका बंकरभेदी बम खसालेको भए पनि इरानको फर्दो साइट अत्यन्तै बलियो सुरक्षायुक्त संरचना भएकाले आक्रमणबाट आंशिक पूर्णरूपमा ध्वस्त नभएको बताइएको छ।
क्षति कति भएको भन्ने विषयमा भने अनुसन्धान भइहेको बताइएको छ। अमेरिकी वायु सेनाका प्रमुख ड्यानियल केनले तीन वटै आणविक परियोजनामा गम्भीर क्षति पुगेको तर पूर्ण मूल्यांकन आउन केही दिन लाग्न सक्ने बताएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले पनि क्षतिको मूल्यांकन भइरहेको बताएका छन्।
पूर्व पेन्टागन तथा सिआइएका अधिकारी मिक मुलरोयले हमलामा प्रयोग भएको बम हेर्दा इरानको आणविक कार्यक्रमलाई कम्तिमा २ देखि ५ वर्ष पछाडि धकेलेको बताएका छन्।
'पूर्ण क्षतिको मूल्याङ्कन आउँदो केही दिनमा हुनेछ,' उनले भने।
यो पहाडको २६२ देखि २९५ फिट तल रहेको भनिएको छ। यो भट्टी ध्वस्त बनाउने बम अमेरिकासँग मात्रै रहेको मानिन्छ। फर्दोमा पनि ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादन हुन्छ भनेर सिएनएनले लेखेको छ। यो सुविधामा २ हजार ७०० सेन्ट्रीफ्यूज छन्।