इरानमा इन्टरनेट बन्द गरिएको छ।
इरानमा इसराइलको हमलासँगै साइबर आक्रमण पनि बढ्न थालेपछि गत साताको बुधबारदेखि देशभरि इन्टरनेट सेवा बन्द गरिएको छ।
गत बुधबार इरानमा साइबर हमला गरी करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इन्टरनेट ब्ल्याकआउट गरेको थियो।
त्यतिबेला इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'नोबिटेक्स'माथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी भएको थियो।
उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह 'प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)'ले जिम्मेवारी लिएको थियो।
इन्टरनेट सेवा बन्द भएपछि इरानबाहिर रहेकाहरूले आफ्ना आफन्तहरू सामाजिक सञ्जामार्फत कुराकानी गर्न पाएका छैनन्। मोबाइल र टेलिफोन सेवा भने सञ्चालनमा छ। इरानबाहिर रहेकाहरूले सिधै मोबाइल र टेलिफोनमा सम्पर्क गरेर हालखबर सोधिरहेका छन्।
त्यसरी फोन गर्नेहरुले अनौठो सन्देश सुनेको भनेर अमेरिकी मिडिया सिएनएनले जनाएको छ। त्यस्तो सन्देश मोबाइलमा फोन गर्दा मात्रै सुनिएको बताइएको छ।
सिएनएनले उक्त सन्देशको रेकर्ड गरेको छ। सन्देश करिब ९० सेकेन्ड लामो छ।
त्यसमा जीवन,खुशी र शान्तिका विषयहरू समेटिएको छ। फोन लाग्नेबित्तिकै रिङ ब्याक टोनको शैलीमा सुरू हुने उक्त सन्देशले सुरूमा भन्छ- नमस्ते, यो सन्देश सुन्न समय निकाल्नुभएकोमा धन्यवाद।
त्यसपछि उसले जीवन जगतको कुरा सुनाउँछ।
'जीवन अप्रत्याशित आश्चर्यहरूले भरिएको छ। यी आश्चर्यहरूले कहिले खुशी ल्याउँछन् त कहिले चुनौतीहरू। मुख्य कुरा भनेको यी चुनौतीहरू पार गर्न हामीभित्रको शक्ति पत्ता लगाउनु हो,' सन्देशमा भनिएको कुरालाई उद्धृत गरेर सिएनएनले लेखेको छ।
त्यसपछि सन्देश सुनाउनेले सुन्नेलाई आँखा बन्द गर्न भन्छ र शान्ति खुशी मिल्ने ठाउँको कल्पना गर्न सुझाव दिन्छ।
यस्तो सन्देश सुनेपछि फोन गर्नेहरूले आश्चर्यचकित हुने बताएका छन्। ल्याण्डलाइन टेलिफोनमा गर्दा भने त्यस्तो सन्देश सुनिँदैन।
आमसञ्चारका विज्ञहरूले त्यसको पछाडि पनि साइबर हमला हुन सक्ने बताएका छन्।
'इन्टरनेट बन्द हुँदा फोन सन्देश पठाउने विकल्पमा जान्छ। त्यसैले मोबाइलमा देखिने सन्देशहरू प्रायः फलब्याक प्रणालीअन्तर्गत देखा पर्छन्,' उनले सिएनएनसँग भने।
टोकरका अनुसार, यसरी देखिने अडियो सन्देशहरू विश्वका विभिन्न ठाउँमा इन्टरनेट अवरुद्ध हुँदा देखिने सामान्य प्रवृत्ति हो।
'कहिले ‘समर भ्याकेसन’ को विज्ञापन आउँछ, कहिले कुनै अरू नै फजुल कुरा हो,' उनले भने।
'यो सन्देश त्यस्तो गेटवे म्यासेजजस्तै हो जुन तपाईंको फोन नउठ्दा आउँछ। जस्तो लाग्छ, यिनीहरूले सामान्य सेटिङ प्रयोग गरेर सन्देश प्रविष्ट गरेका हुन्, जुन ठाउँमा जे टाइप गर्यो त्यही बज्नेगरी सेट गरिएको छ,' टोकरले भनेका छन्।
उनका अनुसार यो प्रणाली एआई प्रयोग गरेर बनाइएको भने होइन, तर पूर्वनिर्धारित वा सजिलै उपलब्ध हुने सामग्रीहरूमार्फत तयार गरिएको देखिन्छ।
यसबारेमा इरानले आधिकारिक रूपमा केही भनेको छैन।