करिब ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्कालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परेकी रोक्का पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङका श्रीमती हुन्। दावा तिब्बती मूलका बेल्जियन नागरिक हुन्।
रोक्का ठमेलमा रहेको भियना होटलका सञ्चालक समेत हुन्।
नेकपा माओवादी केन्द्रका नेताहरूसँग निकट रहेको भनिएकी रोक्का लामो समयपछि पक्राउ परेकी हुन्।
विशेषगरी माओवादीका उपमहासचिव वर्षमान पुन र नन्दकिशोर पुनसँग उनको निकटता रहेको भन्ने समाचारहरू बाहिरिएका थिए। वर्षमान पुनसँग दावाले बसेर डिनर गरेको फोटो त चर्चित नै छ।
यद्यपि माओवादीका नेताहरू भने सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो।
उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो। पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो।
दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो।
विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो। सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भए पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो।
सिआइबीले अनुसन्धान सुरू गर्नु अगावै राजस्व अनुसन्धान विभागले २०८० साउन १४ गते दावा छिरिङलाई पक्राउ गरेको थियो। तर श्रीमती रोक्का भने फरार थिइन्।
सिआइबीले अनुसन्धान गर्दा दावा व्यवस्थापकको भूमिकामा बसेर काम गर्ने व्यक्ति रहेको निष्कर्ष निकालेको थियो। उनले मध्यस्थताको भूमिका खेल्ने, भेटघाटको वातावरण मिलाउने, खाने, होटलमा बस्ने लगायतको काममा सहजीकरण गर्थे।
उनकै संलग्नतामा अन्य विदेशी नागरिकहरूलाई समेत नेपाली नागरिकता र राहदानी समेत उपलब्ध गराएको आरोप थियो।
फरार रहेकी अमलालाई पक्राउ गर्न सिआइबीले इन्टरपोललाई समेत गुहारेको थियो।
इन्टपोलमार्फत २०८० सालमै डिफ्युजन नोटिस समेत जारी भएको थियो। उनका श्रीमान दावा भने २०८० असोज १९ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। दावाले उच्च अदालत पाटनमा निवेदन दिए पनि छाडेको थिएन।