बिहीबार बिहानै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले सवारी साधनका चालक, यात्रु तथा सर्वसाधारणका लागि एउटा सूचना निकाल्यो।
‘नारायणगढ–बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह बढ्न गई डाइभर्सनमा क्षति पुगेको र निरन्तरको वर्षाको कारण दुम्कीबास–दाउन्ने सडक खण्ड चिप्लो भई सवारी साधन फस्ने र चिप्लने भई आवागमन असहज भएकोले उक्त सडकखण्डमा यात्रा नगरी अन्य रूटहरूको प्रयोग गर्नुहोला,’ सूचनामा उल्लेख थियो।
प्रहरीले नारायणगढ बुटवल सडक खण्डको विकल्पमा प्रयोग गर्न सकिने वैकल्पिक मार्गहरूको बारेमा पनि सूचनामा जानकारी गराएको छ।
पूर्वबाट पश्चिम जाने सवारी साधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङजा हुँदै बुटवल।
काठमाडौंबाट पश्चिम जाने सवारी साधन मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवल।
पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्य स्थान र साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैंडाकोट, पिपलडाँडा सडक खण्डबाट यात्रा गर्न सकिने।
बुधबार रातिदेखि परेको पानीले बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने—दुम्किबास खण्डको सडक चिप्लो बनेपछि र पुल भत्किएका खोलाहरूमा बाढी आएर डाइभर्सन बगाएपछि प्रहरीले उक्त सडकखण्डमा यात्रा नगर्न बिहीबार बिहानै सूचना जारी गरेको थियो।
प्रहरीले सूचना जारी गरे पनि बुधबार रातिदेखि नै सडकमा गाडीहरूको लाइन लागिसकेको थियो।
दुम्किबासस्थित विनयी खोलाको डाइभर्सनदेखि अरूण खोलासम्म दुईतर्फी नै हजारौं गाडीको लाइन लागेको थियो।
दुम्किबासबाट पूर्वतर्फ मात्र होइन दाउन्ने तर्फको सडक झनै अस्तव्यस्त थियो। बर्दघाटदेखि दुम्किबाससम्म आधा दर्जन स्थानमा एकतर्फी बनेको हिलाम्मे सडकमा गाडीहरू फसेका थिए।
पूर्वबाट पश्चिम आउने गाडीहरूलाई प्रहरीले चोरमारा, कावासोती, रजहर लगायत स्थानमा रोके पनि चालकहरूले अटेर गर्दै अगाडि बढिरहेका थिए।
सडकमा फसेका गाडीहरूलाई प्रहरीले दिनभरि पार गराइरहेको थियो। मालबाहक गाडीहरू विनयी खोलामा बनाइएको डाइभर्सन पार गरिरहेका थिए।
बिहीबार राति १० बजेतिर काठमाडौंबाट बर्दियाका लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस प्रहरीले अगाडि नजान आग्रह गर्दागर्दै डाइभर्सनतर्फ अगाडि बढ्छ। अगाडि रहेको मालबाहक ट्रक सहजै डाइभर्सन पार गरे पनि यात्रुबाहक बस डाइभर्सन पार गर्न सक्दैन खोलामा फस्छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी मधु नेपालका अनुसार बस डाइभर्सनमा जाँदासम्म खोलामा ठूलो बाढी आइपुगेको थियो। जब बस खोलामा फस्यो बाढी बढ्दै गयो। बसमा ३८ जना यात्रु थिए। बाढी प्रतिमिनेट एक फिटको दरले बढिरहेको थियो। प्रहरी प्रशासनले क्रेनको सहायताले तीन चार घण्टाको प्रयासपछि सबै यात्रुहरूको सकुशल उद्धार गर्न सक्यो। यात्रुहरूको उद्धार गरेपछि बसलाई बाढीले पाँच सय मिटर भन्दा तल बगायो।
प्रहरीले सूचना जारी गरेको १२ घण्टा नबित्दै यात्रुबाहक बसलाई बाढीमा हेल्ने चालकलाई प्रहरीले कारबाही गर्छ कि गर्दैन? अहिले त्यसतर्फ सबैको चासो बढेको छ।
हामीले चालकलाई कारबाही हुन्छ, हुँदैन र भए कस्तो कारबाही हुन्छ भनेर नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र प्रहरी नायब उपरीक्षक नेपाललाई सोधेका थियौं।
प्रमुख जिल्ला अधिकारी नेपालले राष्ट्रिय राजमार्गमा गाडी रोक्ने स्थानीय प्रशासनको अधिकार नहुने भएकोले चालकलाई कारबाही गर्ने विषयमा पनि छलफल भइरहेको बताए।
‘स्थानीय प्रशासनले राष्ट्रिय राजमार्ग रोक्न सक्दैन चालक र यात्रुहरूलाई सचेत र सतर्क बनाउने मात्र हो, बिहीबार सूचना जारी गरिएको भए पनि सडकमा गाडी रोकेको अवस्था थिएन यस्तो बेला चालक र यात्रुहरू पनि सचेत बन्न जरूरी छ,' उनले भने।
प्रहरी नायब उपरीक्षक नेपालले पनि चालकलाई सचेत बनाएको बताए।
‘राति साढे दुई बजेसम्म बाढीमा फसेर उद्धार गरिएका यात्रुहरू र चालक अहिले दुम्किबासमै हुनुहुन्छ, प्रहरीले सचेत बनाएको छ, चालकलाई कस्तो कारबाही सिफारिस गर्न सकिन्छ छलफलमै छौं,’ उनले भने।
प्रहरी नायब उपरीक्षक नेपालले प्रहरीले अगाडिको सडक जोखिम देखेर अगाडि बढ्न रोके पनि चालकहरूले अटेर गर्दा अप्रिय घटना निम्तिने गरेको गुनासो गरे।
‘भाग्यवश भनौं बाढीमा फसेको गाडीका सबै यात्रुको सकुशल उद्धार गर्न सकियो, खोलामा बाढी जसरी बढिरहेको थियो त्यसले अप्रिय घटना निम्तिन पनि सक्थ्यो। बाढी पहिरो जस्ता घटनाबाट जोगिन चालक र यात्रुहरू पनि सचेत बन्न जरूरी छ,’ प्रहरी नायब उपरीक्षक नेपालले भने।
उनले प्रहरीले रोक्दारोक्दै बसलाई अगाडि बढाउने चालकलाई कारबाहीको लागि छलफल भइरहेको बताए।
‘चालकले थोरै खाली ठाउँ देख्यो कि गाडी घुसाइहाल्ने प्रवृत्तिले समस्या निम्तिइरहेको छ, यस्तो प्रवृत्तिलाई रोक्न जरूरी छ,’ उनले भने।
यात्रुबाहक बस र साना गाडीहरू दुम्किबासदेखि होङ्सी गेट निस्कने सडक भए पनि चालकहरूले १६ किलोमिटर लामो दूरी भएको भन्दै उक्त सडक प्रयोग गर्न मान्दैनन्।
अहिले बुटवल नारायणगढ सडकखण्डमा बर्दघाटदेखि विनयी खोलासम्मको सडक सबभन्दा जोखिम क्षेत्र बनेको छ।
ओभरलोड सहितको भारतीय ट्रकका कारण गत पुसमा विनयी खोलाको पक्की पुल भाँचिएपछि गाडीहरूलाई आवतजावत गर्न उत्तरतर्फ डाइभर्सन बनाइएको थियो। उक्त बस सोही डाइभर्सन तर्ने क्रममा बाढीमा फसेको थियो।
पुल भाँचिए पनि सडक विस्तारसँगै बनइरहेको नयाँ पुल अझै तयार भएको छैन।
प्रमुख जिल्ला अधिकारी पाण्डेले वर्षा अवधिभर मालबाहक गाडीलाई अन्य कुनै नाका प्रयोग गर्न र यात्रुबाहक बस र साना गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे।
शुक्रबार बिहान पनि दुम्किबास डाइभर्सनदेखि अरूणखोलासम्म दुई तर्फी नै हजारौं गाडीको लाइन रहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए।
दुम्किबासबाट पूर्वतर्फ मात्र होइन दाउन्ने तर्फको सडक झनै अस्तव्यस्त छ। बर्दघाटदेखि दुम्किबाससम्म आधा दर्जन स्थानमा सडक एकतर्फी बनेको छ भने त्यही सडक पनि हिलोले गाडी फस्ने गरेका छन्।
पुन सञ्चालन भएको सडकमा आवागमन सहज बनाइदिने काम प्रहरीको रहे पनि सडकका खाडल पुर्ने काममा समेत लाग्नुपरेको गुनासो गरे।