पूर्वीनवलपरासीको विनयी खोलामा आएको बाढीले बस बगाउँदा सबै यात्रुको उद्धार भएको छ।
मध्यराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबासस्थित विनयी खोलामा बस बगाएको
बिहीबार मध्यराति आएको बाढीले यात्रुबाहक बस बगाएको हो।
काठमाडौंबाट नेपालगञ्जका लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस बाढीमा फसेको थियो।
खोलाको भेलमा बस फसेपछि स्थानीय प्रशासनले बसका यात्रुहरूको उद्धार गरेपछि बाढीले बस बगाएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार २७ जना यात्रुको सशस्त्रको टोलीले उद्धार गरेको हो। बसमा अन्दाजी ३५ देखि ४० जना थिए।
बुधबार रातिदेखि परेको पानीले बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने-दुम्किबास खण्डको सडक चिप्लो बनेपछि र पुल भत्किएकाले विनयी खोलामा बनाएको डाइभर्सनसमेत बगाएपछि प्रहरीले उक्त सडकखण्डमा यात्रा नगर्न बिहीबार बिहानै सूचना जारी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यात्रुबाहक बस र साना गाडीहरू दुम्किबासदेखि होङ्सी गेट निस्कने छुट्टै सडक भए पनि चालकहरूले लामो दुरी भएको भन्दै उक्त सडक प्रयोग गर्न नमान्ने गरेको बताए।
‘यो सडकखण्डमा बर्दघाटदेखि विनयी खोलासम्मको सडक अहिले सबैभन्दा जोखिम क्षेत्र बनेको छ, यात्रुहरूले पनि केही दिन यो सडक खण्डमा यात्रा नगर्दा उपयुक्त हुन्छ,’ उनले भने।
राष्ट्रिय राजमार्ग भएकोले सडक बन्द गर्ने अधिकार स्थानीय प्रशासनलाई नभए पनि जोखिमयुक्त रहेकोले यात्रा नगर्न सूचना जारी गर्दै आएको उनले बताए।
ओभरलोड सहितको भारतीय ट्रकका कारण गत पुसमा विनयी खोलाको पक्की पुल भाँचिएपछि गाडीहरूलाई आवतजावत गर्न उत्तरतर्फ डाईभर्सन बनाइएको थियो। उक्त बस सोही डाइभर्सन तर्ने क्रममा बाढीमा फसेको थियो।
पुल भाँचिएपछि सडक बिस्तारसँगै बनाइरहेको नयाँ पुल अझै तयार भएको छैन। प्रमुख जिल्ला अधिकारी पाण्डेले वर्षा अवधिभर मालवाहक गाडीलाई अन्य कुनै नाका प्रयोग गर्न र यात्रुवाहक बस र साना गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे।
बुटवलदेखि पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनहरू पाल्पाको रामपुर हुँदै गैंडाकोट निस्किने कालिगण्डकी कोरिडोरको सडक प्रयोग गर्न मिल्ने अवस्थामा रहेको छ।