राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको घटनाको निन्दा गरेको छ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय सदस्य मेघ आले र कन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि रड प्रहार गरिएको घटनाको भर्त्सना गरेको हो।
यस्ता घटनाले पार्टीलाई विचतलिन नगर्ने बरू अझै दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने रास्वपाले जनाएको छ।
' घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नेछ। त्यस्तै, घाइते साथीहरूको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको जानकारी गराइन्छ,’ रास्वपाले भनेको छ।
स्याङ्जाको वालिङ नगरपालिका– १० का वडाध्यक्ष सुनिल खनालले आले र नेपालमाथि मंगलबार आक्रमण गरेका थिए।
आँधिखोलामा दोहन भएको भन्दै विरोध गरेपछि आफूहरूमाथि ज्यान मार्ने उद्धेश्यले रड प्रहार भएको दिनकरले बताएका छन्।
घटनापछि उनीहरूले प्रहरीमा उजुरी पनि दिएका छन्। स्याङ्जा प्रहरीले वडाध्यक्ष खनालसँगै कुटपिटमा सहभागी भएका वालिङ नगरपालिका– ८ का साजन पंगेनी पक्राउ परिसकेका छन्।
वडाध्यक्ष खनाल भने अझै फरार छन्।