ठीक समयमा गन्तव्यमा पुग्न नसकिने। अत्यावश्यकीय सेवाका एम्बुलेन्स र दमकलले समेत बाटो नपाउने। मुख्य चोकहरूमा समेत ट्राफिक लाइटको अभाव। अत्यधिक सवारी साधनको चाप र उछिनपाछिनका कारण दुर्घटनाको भय उस्तै।
यो सबै काठमाडौं उपत्यकाको परिचय बनेको थियो।
जतिपटक बाटो चौडा बनाए पनि मोटरसाइकल, कार लगायत साना तथा हलुका सवारी साधनहरूको आयात नघट्दा सडक विस्तार निष्प्रभावी बनेको थियो। यात्रुहरूले पाउने सकस दिनानुदिन बढ्दो थियो।
केही समयअघिदेखि यसको विकल्प खोज्न थालिएको छ।
ढिलो गन्तव्यमा पुग्ने, निर्धारित समयमा कार्यालयमा समेत पुग्न असहज हुने सधैंको सकसबाट यात्रुहरूलाई छुट्कारा दिलाउन खोजिएको छ।
त्यही अनुसार काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका कलंकीमा अन्डरपास निर्माण गरिएको थियो। कलंकीमा चक्रपथ खण्डको बीचको लेनबाट ओहोरदोहोर गर्ने सवारी साधनहरूले जाममा बस्नुपर्दैन। उनीहरूले बिना व्यवधान ओहोरदोहोर गर्न पाउँछन्।
अहिले ललितपुरको ग्वार्कोमा पनि ओभरपास तयार भएको छ। यो ग्वार्को पनि काठमाडौं उपत्यका छिर्ने सानोतिनो नाका नै हो। पश्चिमी काभ्रेपलाञ्चोक, पूर्वी ललितपुर जानेहरू यो बाटो प्रयोग गर्छन्। लुभू, इमाडोलतर्फबाट सातदोबाटो, बालकुमारी, मंगलबजार जाने तथा मंगलबजारबाट इमाडोल, सातदोबाटो, बालकुमारीतर्फ जाने चोक हो यो। त्यसैले कार्यालय समयमा यहाँ सवारी जाम सघन हुन्छ। साँझ, बिहान पनि आधा घन्टासम्म जाममा बस्नुपरेको दुखेसो यात्रुहरूले पोख्दै आएका छन्।
त्यसबाट छुट्कारा दिलाउन यहाँ तीन वर्ष तीन महिनाअघि ओभर पास बनाउन थालिएको थियो।
यहाँ २०७८ फागुनमा काम थालिएको थियो। दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माणको जिम्मा पाएको थियो। तर निर्माण कम्पनीले तोकिएको अवधिमा काम पूरा गर्न सकेन।
२०८२ फागुन १२ भित्र निर्माण पूरा गरिसक्ने सम्झौता थियो। उक्त अवधिमा काम नसकिएपछि २०८१ असारसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो। त्यस अवधिमा पनि काम सकिएन। दोस्रो पटक पुस ९ गतेसम्मलाई समयावधि थप भयो।
पुस १० गतेबाट भने जरिवाना तिराउँदै निर्माण व्यवसायीलाई काममा लगाइएको थियो। निर्माण कम्पनीले यो ओभरपास १७ करोड ६ लाख ८८ रूपैयाँमा ठेक्का लिएको थियो।
अहिले ग्वार्को ओभरपासको निर्माण पूरा भएको छ।
सडक डिभिजन कार्यालयले असार ६ गतेबाट सञ्चालनको तयारी गरेको छ। त्यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ। ग्वार्को चोकको चक्रपथ खण्ड उचालेर ओभरपास बनाइएको हो। जहाँ कोटेश्वरतर्फ ३२० मिटर र्याम्प बनाइएको छ। सात दोबाटोतर्फको भाग भने १८५ मिटर छ।
चार लेनको यो र्याम्पको चौडाइ १०.२ मिटर छ।
ग्वार्को चारदोबाटो पनि हो। यो ओभरपास बनेपछि मंगलबजार र इमालडोलतर्फ जाने सवारी साधनहरू ओभरपासमुनिबाट ओहोरदोहोर गर्नेछन्। सातदोबाटो र कोटेश्वरतर्फ जाने सवारी साधनले मात्रै ओभरपास प्रयोग गर्न मिल्ने भएकाले जाम हट्ने विश्वास गरिएको छ।
अहिले ओभरपासमा रंगरोगन र बत्ती जडानको काम भइरहेको छ।
निर्माण सकिने बेला गत माघमा र्याम्पका लागि ठड्याइएको इन्टरलक आरई प्यानल चर्किएको थियो। केही भागमा यस्तो समस्या देखिएपछि ४० मिटरजति खण्ड भत्काएर पुनः बनाइएको छ। र्याम्प सुरक्षित र व्यवस्थित बनेको सडक डिभिजन काठमाडौंले बताएको छ।
यो ओभरपास बनेपछि ग्वार्को जाम शून्य हुने ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आकलन गरे। उनका अनुसार चक्रपथ खण्डका सवारी साधनले ग्वार्को चोकमा जाम हुने गरेको छ। त्यसलाई जाम नहुने गरी ओभरपास गरिएको छ।
त्यस कारण मंगलबजारतर्फबाट आउनेजाने र इमाडोलतर्फ जानेआउने सवारी साधनलाई पनि सकस हुने छैन।
'ओभरपासले ग्वार्को चोक जामशून्य नै हुने देखिन्छ। चक्रपथ खण्डको तुलनामा मंगलबजार र इमाडोलतर्फबाट आउनेजाने सवारी साधन कम हुने हुँदा अहिलेको अवस्थामा त्यहाँ जामशून्य नै हुने देखिन्छ,' उनले भने।
तर उनले अर्को समस्या देखाए। ग्वार्को चोकको जाम अब सातदोबाटो र कोटेश्वरतर्फ सर्न सक्ने सम्भावना रहेको उनले बताए।
'ग्वार्कोचोक जाममुक्त हुँदा सातदोबाटोतर्फबाट गएका गाडी एकैपटक कोटेश्वर चोक पुग्छन्। त्यसो हुँदा त्यहाँ सवारी चाप पर्न सक्छ। कोटेश्वरमा अहिले पनि सवारी चाप छँदैछ। ग्वार्को चोकमा जाम हुँदा केहो कोटेश्वर चोकमा थुप्रिएका सवारी साधन पास भइसक्थे। ठीक त्यस्तै समस्या सातदोबाटोमा पनि देखिन सक्छ। अतः मैले ग्वार्कोको जामको समस्या कोटेश्वर र सातदोबाटोतर्फ सर्ने सम्भावना देखेको छु,' उनले सेतोपाटीसँग भने।
अहिले ललितपुरको नगर प्रहरी प्रमुख भए पनि विगतमा उनी १० वर्षभन्दा बढी ट्राफिक निरीक्षकका रूपमा सातदोबाटो, ग्वार्को, कोटेश्वर आदि ठाउँमा खटिएका थिए। त्यही अनुभवका आधारमा उनले यसो भनेका हुन्।
उनले सातदोबाटो र कोटेश्वर चोकमा सवारी साधनको चाप कम पार्ने हो भने बालकुमारी पुल आसपास ट्राफिक लाइट राख्नुपर्ने सुझाव दिए।
हाछेथुले ग्वार्कोको ओभर पास निर्माण भइसकेकाले सुरक्षा सावधानीमा पनि ध्यान दिनुपर्ने बताए। ओभरपासको बनोटअनुसार गति र भारवहन सीमिततामा चनाखो हुनुपर्ने बताए।
'चक्रपथ क्षेत्रमा मोटरसाइकल लगायत साना सवारी साधन दुर्घटना बढी हुने गरेकै छ। त्यस कारण ओभरपासमा गति सीमितता हुनैपर्छ। ओभरपास सुरक्षित र व्यवस्थित बनाउनुपर्छ। अत्यधिक भारवहन भएका सवारी साधन ओहोरदोहोर गर्दा ओभरपासमा जाम नहुने र नअड्किने प्रबन्ध गर्नुपर्छ,' उनले सुझाव दिए।
चक्रपथ खण्डमा अहिले सवारी साधनको गति ५० किलोमिटर प्रतिघन्टा भन्दा बढी तय गरिएको छैन। यही आधारमा ओभरपासको पनि गति सीमित गर्नुपर्ने उनको बुझाइ छ।
'नयाँ प्रकृतिको सडक संरचना बनेकाले ओभरपास हेर्न मात्रै पनि धेरै यात्रु र सडक प्रयोगकर्ता पुग्छन्। यो सबैलाई मध्यनजर गरेर सुरक्षामा ध्यान दिनुपर्छ,' उनले भने।
भिडिओमा हेर्नुहोस् कस्तो बन्यो ग्वार्कोको ओभरपास।
-1750254230.jpg)
-1750254231.jpg)
-1750254230.jpg)
-1750254228.jpg)
-1750254225.jpg)
-1750254227.jpg)
-1750254227.jpg)
-1750254228.jpg)
-1750254225.jpg)
-1750254224.jpg)
-1750254224.jpg)
-1750254224.jpg)
-1750254224.jpg)
तस्बिर/भिडिओ - नवीनबाबु गुरूङ