गत जेठ १ गते उत्तरी हुम्लाको तिल्जुङ खोलामा डरलाग्दो भेलबाढी आयो।
रातिपख, सबै सुत्ने बेला गाँवै गड्गडाउँदै आएको भेलबाढी मानिसहरूले प्रत्यक्ष देख्न त पाएनन्, तर त्यसको क्षति उनीहरूले अनुभूत गरे।
उत्तरी हुम्लाको तिलगाउँमा २०–२२ घरधुरी मात्र बस्छन्। हिउँ पर्ने याममा तल झर्ने र हिउँ पग्लिएपछि थातथलोतिर उक्लने त्यहाँका मानिसको चलन हो। अन्यत्र पनि यस्तै चलन हुन्छ।
हिउँ पग्लिने सिजन सुरू भइसके पनि बाढी गएको दिन त्यस गाउँमा ३३ जना मात्र थिए। उनीहरूले भागेर ज्यान जोगाए।
भेलबाढीले दुईवटा घर, केही सिँचाइ कुलो, १५ किलोवाट क्षमताको स्थानीय जलविद्युत योजना र बाटाघाटामा क्षति पुर्यायो। मानिसहरू अहिले बस्तीबाट विस्थापित भएर सुरक्षित ठाउँमा स्थानान्तरित भएका छन्।
न चरक्क घाम चर्किएको थियो, न झमझम झरी परेको थियो। बस्ती नै लछार्ने गरी कहाँबाट भेलबाढी आयो भनेर स्थानीय आश्चर्यचकित परे।
त्यसैको भोलिपल्ट पाँच जनाको एक समूह बाढीको कारण खोज्न हिमालतिर उक्लियो। आठ घन्टा पैदल हिँडेपछि उनीहरू तिल्जुङ खोलाको शिरक्षेत्र पुगेका थिए।
उनीहरूले त्यहाँ स–साना दुईवटा हिमताल फेला पारे।
उनीहरूले पहिले हिमताल भत्किएको अनुमान गरेका थिए। त्यहाँ पुग्दा थाहा भयो, ताल फुटेको थिएन। तैपनि तालमा चराले पिउने पानी पनि थिएन। सबै चुहिएर निख्रिएको थियो।
त्यसअघि त्यस क्षेत्रमा स्थानीयहरू बिरलै पुग्थे। मानव बस्तीभन्दा कोशौं टाढा र निर्जन इलाकामा हिमताल भए–नभएको पनि स्थानीयहरू अनभिज्ञ थिए।
बाढी गएको भोलिपल्टै पुगेका उनीहरूले ताललाई जुन रूपमा देखे, त्यसले झनै आश्चर्य बढाइदियो। वास्तवमा हिमताल विचलनको नयाँ प्रकृतिको घटना उनीहरूले देखेका थिए।
तापक्रमको घटबढसँगै हिमालको फेदमुनि हिमताल बन्ने र सुक्ने उपक्रम चलिरहेको छ। पुराना केही हिमताल सुकेका छन्। नयाँ नयाँ थपिएका पनि छन्।
गुगल अर्थमा गएर १०–१५ वर्षअघिको स्याटलाइट तस्बिर हेर्दा पनि त्यस क्षेत्रमा सानाठूला हिमताल यसअघि पनि अस्तित्वमा रहेका देखिन्छन्। तर त्यसरी चुहिएको पहिलोपटक हो।
हुम्ला कर्णाली नदीको अरू जलाधार क्षेत्रमा यसअघि हिमताल विस्फोट भएका छन्। क्षतिको अभिलेख पनि भेटिन्छ। त्यहाँको हिमताल विस्फोट अनौठै थियो।
सामान्यतया हिमताल विस्फोट यी कारणले हुन्छ।
पहिलो, पोखरीभन्दा माथिको हिमढिस्को भत्किएपछि हिमतालको लय बिथोलिन्छ र ताल विस्फोट हुन्छ।
यसको उदाहरण गोरखाको मनास्लु क्षेत्रलाई लिन सकिन्छ। चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ मा पर्ने मनास्लु हिमशृंखला फेदीको वीरेन्द्र तालमा पोखरीको ठिक माथि ठूलो हिमढिस्को खसेको थियो। त्यसै कारण तालको पानी छचल्किँदा भेलबाढीको रूप लिएको थियो।
ठिक यस्तै घटना गत वर्ष सोलुखुम्बुको थामे क्षेत्रमा पनि भयो। त्यहाँ रहेका साना–ठूला पोखरीमध्ये माथिल्लो पोखरीमा त्यसैगरी हिमढिक्का झर्यो। पानी छचल्किँदै बाहिरिएर अर्को पोखरीको डिल भत्काउन पुग्यो। र, भेलबाढीको रूप लियो।
अर्को कारण तापक्रम र अरू विविध कारणले हिमतालको बाँध, जसलाई हामी 'मोरेन' पनि भन्छौं। त्यो कमजोर हुँदा भत्कन्छ र बाढीको रूप लिन्छ।
यसरी तालको प्राकृतिक बाँध भत्काएर बग्ने पानीले वरपरको फर्माफ्रोस्ट जसलाई नेपालीमा हामी हिमोढ भन्छौं, त्यसलाई र तलतलका कमजोर चट्टान, बलौटे माटोसमेत बगाउँदा ठूलो भेलबाढीको रूप लिने अध्येताहरू बताउँछन्।
तर हुम्लामा यी दुवै विचलन देखिएको थिएन।
स्थानीयका अनुसार त्यहाँको हिमतालको मोरेन जस्ताको तस्तै थियो। तालको बीच भागमा ठुल्ठूला चिरा परेको थियो। र, त्यहीँबाटै पानी लिकेज भएको थियो। १०–१५ मिटर तलबाट चुहिएर गएको थियो। चुहिएको स्थानको पानी कञ्चन थियो। उनीहरूले के कारणले हो पत्ता लगाउन सकेनन्।
हिन्दकुश भेग समेटेर त्यहाँको हिमाली क्षेत्रको अध्ययन गर्ने एउटा संस्था छ, जसलाई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) भनिन्छ। उसले हिमतालहरूबारे अध्ययन गर्ने गरेको छ। विश्वव्यापी समस्याका रूपमा रहेको जलवायु परिवर्तन, बढ्दो तापमान वृद्धिका कारण हिमतालमा पर्न गएको जोखिम पनि पत्ता लगाउने गरेको छ।
स्थानीयहरूले पठाएको फोटो, भिडिओका आधारमा इसिमोडले हुम्ला भेलबाढीबारे अध्ययन गर्यो। प्रारम्भिक अध्ययनका आधारमा इसिमोडले यसलाई 'थर्मोकार्स्ट' भनेको छ।
अब प्रश्न आउँछ, थर्मोकार्स्ट भनेको के हो? यो कस्तो ठाउँमा हुन्छ?

उत्तरी हुम्लाको हिमतालमा परेको चिरा। तस्बिर स्रोत: शिव बाँस्कोटा
यो हामीलाई पनि नयाँ विषय भयो। अध्येताहरूकै सूचनालाई आधार मानेर हामीले पनि अध्ययन गर्यौं। प्रायः यो साइबेरिया, अलास्का, क्यानडा लगायत क्षेत्रमा यस्तो हिमविचलनका घटना हुने रहेछ।
वर्षभरि शून्य डिग्री वा त्योभन्दा कम तापमान हुने क्षेत्रमा बरफ मात्र होइन, वरिपरिका ढुंगामाटो पनि जमेर बस्छ। त्यसैलाई हामी पर्माफ्रोस्ट अर्थात् हिमोढ भन्छौं।
तापमान बढ्न थाल्दा तालको बरफ वा वरपरको हिमोढ कमजोर हुन थाल्छ। पग्लँदै जान्छ। यसले जमिनको सतहमा वा भित्र अनौठा गुफा, ओडार बन्न थाल्छ। जमिनको सतह भासिन पनि थाल्छ। भासिने क्रममा ठूला–साना खाडल देखापर्छ। थर्मोकार्स्ट त्यही प्रक्रिया हो।
हुम्लामा त्यस्तै विचलनका कारण तालको पानी चुहिएर गयो भनेर इसिमोडले प्रारम्भिक आकलन गरेको छ। यद्यपि उसले पूर्णतः निचोड निकालिसकेको छैन। उसले अहिले भौतिक ताल क्षेत्रमै पुगेर उपकरणसहित अध्ययन गरिरहेको छ।
इसिमोडको प्रारम्भिक आकलनसँग सहमत हुने आधार भने छन्। किनभने, तालको बीच भागमा चिरा परेको छ। तालको मोरिन धेरै अग्लो आकारमा जस्ताको तस्तै छन्। ढँड्यानजस्तो देखिने भूभागबाट पानी निरन्तर बगिरहेकै छ। चुहिएको स्थानको पानी धमिलिएको पनि छैन।
भेलबाढी अध्ययन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठ सहितको टोली पनि हुम्ला गएको थियो। उक्त टोलीमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी थिए।
उनीहरूले त्यस ठाउँमा भूमिगत बरफ पग्लिन गई बनेको सानो ओडारजस्तो संरचना क्रमशः तालतर्फ बढेको र त्यहीँबाट पानी चुहिएको निष्कर्ष निकालेका छन्। यसलाई उनीहरूले 'सबसर्फेस सिपेज' भनेका छन्।
यो भनेको खाडल वा गुफाजस्तो भित्री भूभागबाट पानी रसाउन थाल्नु हो। यसो हुँदा एक्कासि पानी निस्किएको पनि हुन सक्ने उनीहरूको आकलन छ।
छोटो समयमा गरेको अध्ययनले तालको पानी चुहावट हुनुको विस्तृत कारण उनीहरूले पनि खुलाउन सकेका छैनन्। त्यस भेगमा निरन्तर तापमान बढेको थियो भन्नलाई कुनै आधार छैन। किनभने, हुम्ला सदरकुमाम सिमीकोटबाहेक अन्यत्र तापमान र वर्षा मापन केन्द्र नै छैन।
इसिमोडले नै विस्तृत अध्ययन गरिरहेकाले हिमताल चुहिनुको थप कारण बुझ्न उसको निचोड पर्खनुपर्ने हुन्छ।
अब प्रश्न आउँछ, तिल्जुङ खोलामा तत्कालै पहिलेजस्तै भेलपहिरो आउने सम्भावना छ कि छैन?
सरकारी अध्ययन टोलीले तत्कालै भने यो सम्भावना देखेको छैन। हिउँद याम नभएकाले ठूलो हिमपात भएर ताल भरिने सम्भावना कम छ। अहिले तालको पानी निकास भइ नै रहेको छ। तर अर्को हिउँद याममा हिउँ परेर ताल भरिने र गर्मीमा पग्लिएर भेलबाढी आउन सक्ने जोखिम भने प्रस्टै देखिन्छ।
सानो तालको पानी अचानक निस्किएकाले तटीय क्षेत्रमा तुलनात्मक कम क्षति भएको मान्न सकिन्छ। तर हुम्लाको नयाँ प्रकृतिको विचलनले हिमाली क्षेत्रमा विपत्तिका नयाँ संकेत भने देखिएका छन्।
हिमाली क्षेत्रमा हिमरेखा सर्न थालेको निकै भइसक्यो। हिउँले ढाकेको जमिनको संरचना क्रमशः नांगिदै जाने र वर्षा क्रमशः उत्तरतिर सर्दै जाँदा हिमाली क्षेत्रमा ठुल्ठूला भेलबाढीको जोखिम देखिन्छ। यसको उदाहरण चार वर्षअघिको मेलम्चीको भेलबाढीलाई नै लिन सकिन्छ। अतः अब हाम्रो ध्यान यता केन्द्रित हुनुपर्छ।
***