दाङको बबई गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष प्रेमबहादुर डाँगीमाथि लाठी प्रहार भएको छ।
बबई – १ क्युरेनीका प्रकाश बुढाथोकीले वडाध्यक्ष डाँगीमाथि बुधबार दिउँसो ४ बजेतिर हापुरे बजारमा लाठी प्रहार गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले सेतोपाटीलाई बताए।
वडाध्यक्ष डाँगीका अनुसार उनलाई पछाडिबाट आक्रमण भएको थियो।
‘म गाउँपालिकाबाट गाउँतर्फ फर्किंदै थिए,’ उनले भने, ‘हापुरे बजारमा खाजा खान होटलतर्फ जाँदै गर्दा ममाथि पछाडिबाट एकाएक आक्रमण भएको थियो।’
आक्रमण हुनासाथ उनी उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल आएका थिए। वडाध्यक्ष डाँगीले आफ्नो टाउको र हातमा चोट रहेको तथा टाउकोमा ९ वटा जति टाँका लगाइएको सेतोपाटीलाई बताए।
‘चिकित्सकले मलाई सिटी स्क्यान गर्नुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘अब म अर्को हस्पिटलमा सिटी स्क्यान गर्न जाँदैछु।’
इप्रका खिलतपुरका प्रहरी प्रमुख खड्काका अनुसार केही दिन पहिला वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्ने बुढाथोकीले सामाजिक सञ्जालमा वडाध्यक्षका विरोध गर्दै स्ट्याटस लेखेका थिए। त्यो स्ट्याटसपछि वडाध्यक्ष डाँगीको उजुरीका कारण इप्रका खिलतपुरले बुढाथोकीलाई झिकाएको थियो। उनीहरूका बीचमा इप्रकामा आपसमा मौखिक सहमति भएको थियो।
‘गाउँ घरकै र मेरो भाइ नाता पर्ने उसले दाइ गल्ती भयो अब त्यस्तो गल्ती दोहोर्याउँदिन भनेको हुँदा मैले पनि ठिकै छ भनेर मौखिक सहमतिमा छोडिदिएको थिएँ,’ वडाध्यक्ष डाँगीले भने, ‘उसले मलाई आमा गाली गर्दै लेखेको स्ट्याटस पनि हटाएको थियो, तर आज एकाएक ममाथि आक्रमण गर्यो।’
वडाध्यक्ष डाँगी नेकपा एमालेबाट निर्वाचित भएका थिए। बुढाथोकी भने नेपाली कांग्रेसका समर्थक हुन्।
वडाध्यक्ष डाँगीले आस्थाकै कारण आफूमाथि आक्रमण भएको दाबी गरे।
इप्रका खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले आरोपित बुढाथोकीको खोजी भइरहेको बताए।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोली बुढाथोकीको खोजीमा खटिएको छ।
गाउँपालिका अध्यक्षमाथि कार्यकक्षमै हेलमेट प्रहार
बुधबार दिउँसो नै बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्।
बबई–७ चरकमटियाका सुरेश हमालले आफूमाथि एकाएक आएर हेलमेट प्रहार गरेको गाउँपालिका अध्यक्ष क्षत्रीले सेतोपाटीलाई बताए।
‘म कार्यकक्षमै बसिरहेको थिएँ, ऊ आएर एकाएक ममाथि हेलमेट प्रहार गर्यो,’ उनले भने, ‘कार्यकक्षमा रहेका अन्य सेवाग्राहीले मलाई जोगाए।’
योजना माग्न गाउँपालिका आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियारले आक्रमणकारी युवकलाई धकलेका कारण आफू जोगिएको अध्यक्ष खत्रीले बताए।
‘पूर्णबहादुर मास्कीले कोखामा लागेको छ। उहाँले नछेकेको भए मेरो टाउकोमै लाग्थ्यो होला,’ अध्यक्ष क्षत्रीले भने।
कार्यपालिका सदस्य परियार, मास्की लगायतले आक्रमण गर्ने युवालाई धकल्दै बाहिर पठाएको पनि अध्यक्ष क्षत्रीले बताए।
आक्रमणबाट मास्कीको चस्मा फुटेको छ।

अध्यक्ष क्षत्रीले आक्रमण गर्ने युवकले कार्यापालिकाको एउटा दराज पनि तोडफोड गरेको बताए।
अहिले प्रहरी पुगेर क्षतिको विवरण तयार पार्नुका साथै मुचुल्का तयार पारिरहेको खिलतपुरका प्रहरी प्रमुख खड्काले बताए।
खड्काका अनुसार हमालले समयमै खोलाजन्य वस्तुको ठेक्का नखोलेको कुरा झिकेर कार्यकक्षमै आक्रमणको प्रयास गरेको कुरा खुल्न आएको छ।
‘तपाईंले समयमै किन बालुवा, गिट्टीको लागि ठेक्का खोल्नु भएन अब यतिखेर काम गर्न पाइँदैन असार लाग्न लाग्यो भन्दै आक्रमणको प्रयास भएको भन्ने बुझ्नमा आएको छ,’ खड्काले भने।
गाउँपालिका अध्यक्ष क्षत्रीले भने आक्रमण गर्ने हमालले झारगजेरी घाटमा बिना अनुमति बालुवा गिट्टीको मनपरी उत्खनन् गरिरहेको हुँदा त्यो रोकिने अवस्था आएपछि आफूमाथि आक्रमण भएको दाबी गरे।
असारपछि नदी तथा खोलाजन्य वस्तुको उत्खनन् पूर्ण रूपमा रोकिने गर्छ।
हमालविरूद्ध गाउँपालिका अध्यक्ष क्षत्रीको पनि जाहेरी लेखेको तथा हमालको पनि खोजी कार्य सुरू भएको प्रहरी निरीक्षक खड्काले बताए।
वडाध्यक्ष र गाउँपालिका अध्यक्षमाथि आक्रमण गरेका भनिएका दुबै जनासँग सम्पर्क गर्ने प्रयास भने सम्भव हुन सकेन।