यसपालिको बर्खायाममा मेलम्चीको पानी पथान्तरण पूर्णतया नरोकिने भएको छ।
निरन्तर खोलाको पानी धमिलो भएमा र ठूलो बाढी आएमा सुरूङको मुख बन्द गर्ने अन्यथा अरू समयमा सञ्चालन गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
उनका अनुसार अहिले मेलम्ची खोलाबाट निर्बाध पानी आइरहेको छ। अहिले दैनिक १७ करोड लिटरभन्दा माथि नै करिब २७ किलोमिटर लामो सुरूङमार्फत् काठमाडौं ल्याइएको छ।
बर्खायाममा मेलम्ची पानी बन्द हुँदा काठमाडौं उपत्यकाको आन्तरिक स्रोत मात्रैले उपभोक्ताको माग धान्न सक्दैन। काठमाडौं उपत्यकामा मात्रै दैनिक ५० करोड लिटरभन्दा माथिको खानेपानीको माग रहने गरेको छ।
चार वर्षअघि २०७८ असार १, साउन १६ र १७ गते हेलम्बुको शिरक्षेत्र भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले तटीय क्षेत्रमा विनाश तुल्याउँदा मेलम्चीको हेडवर्क्स पनि पुरिएको थियो।
झन्डै ९० प्रतिशत काम पूरा भइसकेको बाँध गेग्रानले पुरेपछि काठमाडौं अस्थायी तरिकाले पानी ल्याउने गरिएको छ। अहिले सुरूङमा सिधै पानी पठाएर काठमाडौं ल्याइएको छ।
बर्खामा नदीको सतह बढ्ने थालेपछि सुरूङ बन्द गर्ने गरिएको थियो।
यसपटक मेलम्ची खानेपानी आयोजनाले विकल्प पनि तयार पारेको छ। मेलम्ची नदी बन्द हुँदा हेडवर्क्सनजिकैको रिबर्मा खोलाको पानी सुरूङमा हालेर ल्याउन मिल्ने गरी संरचना तयार पारिएको प्रवक्ता पन्तले बताए।
उनका अनुसार उक्त संरचनाको निर्माण कार्य पूरा भएको छ। तर मेलम्चीकै पानी बर्खामा पूर्णरूपमा बन्द नगरिने हुँदा काठमाडौं उपत्यका वितरण प्रणालीमा खासै समस्या हुँदैन।
‘खोला निरन्तर धमिलो भए, बाढी आए बन्द गर्ने र खोलाको सतह घटेपछि पुनः सञ्चालन गर्ने गरी प्रबन्ध गर्न लागेका छौं। त्यस्तै सुरूङ नजिकैको रिबर्मा खोलाको पानी ल्याउन संरचना तयार भइसकेको छ। त्यसकारण उपत्यकाको वितरण प्रणालीमा चाप पर्ने त्यस्तो सम्भावना छैन,’ उनले भने।
-1749374266.jpeg)
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मेलम्ची खानेपानी आयोजना २०५५/०५६ देखि चलिरहेको छ। खानेपानी परियोजनाअन्तर्गत दुई चरणमा काम भइरहेको छ।
पहिलो चरणमा पहुँच मार्ग, सुरूङ, बाँध क्षेत्र लगायत काम गरिएको थियो। झन्डै एक अर्ब रूपैयाँ लागतमा निर्माण भएको बाँध क्षेत्र चार वर्षअघिको बाढीले तहसनहस बनाएको थियो।
पुरिएको बाँध क्षेत्रमाथि पहिरो खसेकाले एसियाली विकास बैंकले सर्कथलीमा सार्न सुझाव दिएको छ।
मेलम्ची खानेपानी आयोजनाले बाँध सार्न झन्डै चार अर्ब रूपैयाँ लाग्ने आयोजनाले बताएको छ।
एक किलोमिटर सुरूङ, पहुँच मार्ग र बाँध क्षेत्र निर्माणका लागि उक्त रकम प्रस्ताव गरिएको हो।
मेलम्ची खानेपानीको सुरूङ, पहुँचमार्ग निर्माण र मुआब्जा वितरणमा अहिलेसम्म ३१ अर्ब ३४ करोड ९ लाख रूपैयाँ खर्च भएको छ।
मेलम्चीको पानी काठमाडौं पथान्तरण गर्ने यो परियोजनाको लागत ३५ अर्ब ५४ करोड रूपैयाँ अनुमान गरिएकामा पहिलो चरणअन्तर्गत सञ्चालित क्रियाकलापहरूमा भौतिक प्रगति ९९ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०६५/०६६ देखि मेलम्ची खानेपानी उपआयोजना–२ सञ्चालित छ। यसले काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्ने काम गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो काम गरिरहेको हो।
यस उपआयोजनामा अहिलेसम्म ३७ अर्ब २८ करोड ५४ लाख रूपैयाँ खर्च भएको छ।
यस उपआयोजना मार्फत् थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर काम सक्नुपर्नेमा अहिलेसम्म ७९.२२ किलोमिटर अर्थात् ७७.२४ प्रतिशत काम सकिएको छ।
त्यस्तै वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात् ९०.१२ किलोमिटर काम भएको छ।