बाँकेको कोहलपुर नगरपालिका–११ मा भाडामा बस्ने ९ वर्षीय कुशल बुढाको अपहरणपछि निर्मम हत्यामा संलग्न अभियुक्तहरूमध्ये ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
एक जना नाबालक रहेको हुँदा उनलाई भने सुधार गृहमा पठाइएको छ।
जिल्ला अदालत बाँकेको जेठ १८ गतेको आदेशले कुशलकी आमा, झट्केलो बुवासहित आठ जना पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
पुर्पक्षका लागि कारागार चलान गरिएकाहरूका कुशलकी आमा कोहलपुर नगरपालिका – ११ कुषी चोकमा कोठा भाडामा बस्ने ३१ बर्षीया यशोदा बुढा, झट्केलो बाबु– दैलेखको दुल्लु नगरपालिका – १० घर कोहलपुर बस्दै आएका ३३ बर्षीय निरकनाथ योगीसहित अन्य ६ जना छन्।
पुर्पक्षका लागि पठाइएका अन्यहरूमा कोहलपुर–४ गोवा गाउँ गफारपुर टोल बस्ने ४२ वर्षीय रमजान नाँउ, सोही ठाउँ बस्ने ४५ वर्षीय जमिन नाँउ, सोही ठाउँ बस्ने ४३ वर्षीय मो.सरिफ नाँउ, ५४ वर्षीय सब्बिर नाँउ, २४ बर्षीय सकिल नाँउ छन्।
त्यस्तै, भारतको जिल्ला बहराईच, थाना मोतिपुर गाउँ मिहीपुरुवा घर भई कोहलपुरको मदन चोकमा साइकल बनाउने २४ वर्षीय निजामुद्दिन नाँउ पनि पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।
तर, थाना मोतिपुर गाउँ मिहीपुरुवा घर भई चपरगौरीमा कपाल काट्ने पेसा गर्ने १७ वर्षीय सल्मान सल्मानी भनिने अजमेर अली भने सुधार गृहमा पठाइएका छन्।
प्रहरीले पहिलो पटक पक्राउ परेका सबैको नाम सार्वजनिक गरेको हो। यसभन्दा पहिला आमा यशोदा र झट्केलो बाबु निरकको मात्रै प्रहरीले नाम सार्वजनिक गरेको थियो। कुलशका घरका हजुर बुवा र आमाले कर्तव्य गरी नातिको हत्या गरेको भन्दै वैशाख १६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।
कुशल बुढाको अपहरण गरी घाँटी रेटेर हत्या भएको अवस्थामा वैशाख १५ गते बेलुका गाडेको अवस्थामा बैजनाथ गाउँपालिका वडा नं. ४ नौलापुर खेतको कुलोमा शव फेला परेको थियो। गोठालो गएका स्थानीय शब देखेपछि प्रहरीलाई खबर गरेका थिए।
कोहलपुर नगरपालिका –४ बस्ने ४५ वर्षीय जमिर नाँउ लगायतले वैशाख ८ गते कोहलपुर – ११ गोलपार्क नजिकबाट अपहरण गरी एकान्त स्थलमा लगेर हत्या गरेका थिए।
कुशल बुढाले गोलपार्क नजिक साइकल चलाइरहेको समयमा चकलेट र मिठाइ दिएर साइकल समेत अटो रिक्सामा राखेर लगिएको पक्राउ परेकाहरूले बयान गरेका छन्। कुशल हत्याका मुख्य योजनाकार एक जनासहित हत्यामा संलग्न अर्का एक जना भने फरार छन्।
प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार फरार अभियुक्त र कुशलकी आमा बीचमा धेरै सम्बन्ध तथा सम्पर्कहरू पाइएको थियो।
कुशलका घरका हजुरआमा बुवाले कुशलकी आमा र उनका हालका श्रीमानलाई प्रमुख दोषी मान्दै जाहेर मुद्दाका कारण प्रहरीले वैशाख १६ गते उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलको प्राविधिक जाँच गरेको थियो। त्यो जाँचमा कुशलकी आमाको एक व्यक्तिसँग लामो समयदेखिको निरन्तर सम्बन्ध खुलेको डिएसपी खनालले बताइन्। त्यसपछि प्रहरीले घटनास्थलबाट बरामद र कुशलको अनुहार छोपेको कपडा (विइन्डसिडर) कुशलकी आमालाई देखाएको थियो। उनले त्यो कपडा लगाउने ब्यक्तिको पहिचान गरेकी थिइन्। त्यसपछि प्रहरीले उनको खोजी थाल्दा मुख्य योजनाकार फरार भइसकेका थिए।
वैशाख ८ गते बेलुकी साढे ७ बजेतिर कुशल आफू बस्ने कोठादेखि नजिकै खाली चौरमा साइकल चलाइरहेका थिए। त्यही मौका छोपी चिनजाका ती फरार अभियुक्तले चकलेट दिएर घुम्न जाउँ अरू पनि चकलेट दिन्छु भन्दै कुशलको साइकल अटोमा राखेर उनलाई पनि अटोमा एकान्तस्थल पुर्याएका थिए।
कुशल हत्याका मुख्य योजनाकार मानिएका फरार ती युवक यशोदा बुढासँग विवाह गर्ने चाहन्थे।
यशोदा र ती पुरूषबीच प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ। तर पछिल्लो समय यशोदाले उनलाई बेवास्ता गर्न थालेकी थिइन्।
रिसाएका ती युवकले सुरूमा यशोदाकै हत्या योजना बनाएको प्रहरीसमक्ष बताएका छन्। पछि कुशललाई मारेर बदला लिन योजना बनाएको खुलेको प्रहरी बताउँछ।
कुशलको शव फेला नपरेको भए र प्रहरीले तत्काल सक्रियता नदेखाएको भए फेरि यशोदाको ज्यान पनि खतरामा थियो भन्ने तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ।
आमा माथिको पहिलो टार्गेट संभव नभएपछि बदला लिन दोस्रो योजना बुनेर कुशलको हत्या भएको प्रहरी बताउँछ।
योजना अनुसार कुशललाई चकलेट दिएर कोहलपुरदेखि मुख्य सडक खण्डको बाटो गएनन्। सडक र चोकका सिसी टिभीबाट जोगिन भित्रको घुमाउरो बाटो हुँदै ३ घन्टाको समय लगाएर रातिको समयमा बैजनाथ गाउँपालिका–४ नौलापुर पुर्याउँछन्। त्यहाँ पुर्याइ अटोबाट ओर्लिएलगत्तै सुरूमै कुशलको टाउकोमा लाठीले प्रहार गरेपछि घाँटी रेटेर हत्या गरेको भन्ने बयान पक्राउ परेकाहरूले गरेको डिएसपी खनालले बताइन्।
छोरो हराएको भन्दै वैशाख ९ गते आमा यशोदा श्रीमान निरकका साथ इप्रका कोहलपुरमा पुगेर खोजीका लागि निवेदन दिएका थिए।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ माइती भएकी यशोदाले विगतमा बाँकेको जानकी गाउँपालिका–३ का एक पुरूषसँग विवाह गरेकी थिइन्।
कुशल उनीबाटै जन्मिएका थिए। यशोदाका पहिलो श्रीमानले करिव ७ वर्षअघि आत्महत्या गरेका थिए। यशोदा पेसाले अस्पतालमा सरसफाइको काम गर्ने गर्थिन्। त्यसपछि उनले दैलेखको दुल्लु नगरपालिका–११ का निरक नाथसँग विवाह गरेकी थिइन्। निरक रोजगारीका लागि छिमेकी देश भारत आउजाउ गरिरहन्थे। यही क्रममा यशोदा र कुशलको हत्याका प्रमुख योजनाकार फरार अभियुक्तका बीचमा सम्बन्ध स्थापित भएको प्रहरी बताउँछ।
कुशलको हत्या गरी गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले यशोदा र निरकलाई घटनास्थल पुर्याएर पहिचान गराएको थियो। कपडाको आधारमा उनीहरूले नै कुशलको शवको पहिचान गरेका थिए।
यो पनि:
घटनास्थलमा फेला परेको कपडाबाट कुशलका हत्या अभियुक्त पहिचान
९ वर्षीय बालकको हत्यामा नयाँ ट्विस्ट: अर्कै युवकको खोजीमा प्रहरी