जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बु आसपासका ठाउँहरूमा मेघ गर्जन चट्याङ सहितको हल्कादेखि मध्यम पानी परिरहेको बताएको छ। उक्त पानी पार्ने प्रणाली उत्तर–पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यसो त काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।
कोशी प्रदेशमा बुधबार विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा आकलन गरिएकाले त्यहाँ गेग्रान बहावको जोखिम छ। मनसुन प्रवेश गरेकै दिन धनकुटा र धरान जोड्ने सडक खण्ड लेउती खोलाको गेग्रान बहावले कटान गरेको थियो।
पछिल्लो एक घन्टामा धनकुटाको पाख्रिबासमा १३.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै भोजपुरमा २३.४, ताप्लेजुङमा १३.४ मिलिमिटर वर्षा भएको छ। पछिल्लो एक घन्टामा कोशी प्रदेशका सबैजसो केन्द्रमा उल्लेख्य वर्षा भइरहेको छ।