कपिलवस्तुको विजयनगर गाउँपालिकामा खेतमा छरेको घाँसमा चरिरहेका ६ वटा भैँसी एकैपटक मरेका छन्।
विजयनगर गाउँपालिका वडा नं. ५ नौरङ्गियामा रहेको भैँसी स्रोत केन्द्रका ६ वटा भैँसी मरेको गाउँपालिकाका पशु शाखा प्रमुख प्रह्लाद कुमार ठाकुरले जानकारी दिए।
ठाकुरका अनुसार नौरङ्गियाका वीर बहादुर अहिरले खेतमा छरेको चरी घाँसमा चराउन लगेका भैँसी बिहान एकै पटक मरेका हुन्।
स्थानीय शिवनाथ यादवको खेतमा छरेको चरी घाँसमा सोमबार बिहान आठ बजेतिर चरिरहेका भैँसी एकाएक ढलेका थिए।
पशु शाखा प्रमुख ठाकुरका अनुसार अहिरले भैँसी स्रोत केन्द्रमा साना ठूला गरी २६ वटा भैँसी पालेका थिए।
तिनैमध्ये ६ वटा माउ भैँसी घाँसमा चर्दाचर्दै एकाएक ढलेर मरेका हुन्। घाँसमा चरेको एउटा बिरामी भैँसीको उपचार भइरहेको छ।
घाँसमा चरिरहेका सात वटा माउ भैँसी एकाएक लड्खडाउने र ढल्ने गर्न थालेपछि अरू भैँसी र पाडापाडीहरूलाई भने तत्काल त्यहाँबाट बाहिर निकालिएको कारण बिरामी हुनबाट बचाउन सकिएको ठाकुरले बताए।
गत वैशाखमा छरिएको उक्त घाँस यसअघि एक पटक काटेर भैँसीलाई खुवाइसकिएको र केही दिनअघि परेको वर्षापछि घाँस पलाएको थियो।
पशु शाखा प्रमुख ठाकुरले भैँसीको मृत्यु हुनुको कारणबारे पुष्टि हुन नसकेको बताए।
भैँसीको मृत्यु भएपछि नवलपरासीबाट पशु चिकित्सकलाई ल्याएर पोस्टमर्टम गरिएको भए पनि त्यसको रिपोर्ट आउन समय लाग्ने भएकोले यही कारणले भैँसीको मृत्यु भएको हो भन्न नसकिने उनले बताए।
‘घाँसमा विषादी छरेको हो वा अन्य कुनै कारणले भैँसी मरेका हुन् यसै भन्न सकिन्न, आज नै पोस्टमर्टम गरेर भैँसीलाई गाडिएको छ तर, पोस्टमर्टम रिपोर्ट आउन भने केही समय लाग्छ,’ उनले भने।
भैँसीहरू चरेको खेत नजिकै मकै खेती रहेको छ। इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको जनाएको छ।
गाउँपालिकाका पशु शाखा प्रमुख ठाकुरका अनुसार विजयनगर गाउँपालिकामा उन्नत जातका भैँसी उत्पादन गर्न सहज होस् भन्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको अनुदानमा भैँसी स्रोत केन्द्रको स्थापना गरिएको थियो।
विगत दुई वर्ष देखि सञ्चालित स्रोत केन्द्रमा बिउको लागि मुर्रा जातका भैँसीबाट पाडाहरू उत्पादन भइरहेको उनले बताए।