बैतडीमा शनिबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ विष्टपालीका ८१ वर्षीय महावीर विष्टको मृत्यु भएको हो।
धनगढीबाट विष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ क १८१३ नम्बरको मिनी ट्रकले बाटोमा हिँडिरहेका विष्टलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै बैतडीमै शनिबार एक जनाको भीरबाट लडेर मृत्यु भएको छ।
भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथको मृत्यु भएको प्रवक्ता बडूले जानकारी दिए।
घर नजिकै जंगलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते भएकी थिइन्। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।