त्यस दिन निर्मला तामाङ अरू गाउँले साथीसँगै छिमेकीको मकै गोड्न खेताला गएकी थिइन्।
मेलो सकेर मात्रै निस्किने भन्दै बारी खनिरहेका उनीहरूलाई अघिदेखि कालोमैलो भएर गड्याङगुडुङ थर्किरहेको आकाशले धोका दियो। पौने चार बजेतिर एक्कासि दर्किन थालेको पानीले उनीहरूलाई घरतिर दौडिन बाध्य पार्यो। बारीबाट घरको सिकुवामा पुग्नुअघि उनीहरू निथ्रुक्क भइसकेका थिए।
झरी थामिएपछि फेरि मेलो पस्ने भन्दै ओतमा बसिरहेका थिए, एक्कासि जमिन थर्काउँदै बज्रेको चट्याङले ३१ वर्षीया निर्मलालाई बेहोस तुल्यायो। गएको वैशाख ३१ गते बुधबार अपराह्नको यो घटनामा घाइते भएकी उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइयो। त्यहाँ पुग्दानपुग्दै उनको ज्यान गइसकेको थियो।
संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ८ मानेडाँडा गाउँमा वैशाखको अन्तिम दिन भएको यो घटनालाई गाउँलेले अझै भुल्न सकेका छैनन्। तीन जना घाइते समेत भएको त्यस दिनको घटनापछि गड्याङगुडुङ हुन थालेपछि गाउँले काममा निस्किन छाडेको वडाध्यक्ष देवराज राई बताउँछन्।
'त्यस दिन उहाँहरू पानीले भिजेर सिकुवामा पुग्नुभएछ, केहीबेरपछि परेको चट्याङको बज्रले निर्मलालाई लागेछ,' वडाध्यक्ष राईले भने, 'बेहोस भएर अस्पताल लगेको केहीबेरमै उहाँको ज्यान गयो।'
प्राकृतिक विपदबारे जनचेतना जगाउने हरेकजसो सामग्रीमा भनिएको हुन्छ — जब आकाश गर्जिन थाल्छ, सकेसम्म सुरक्षित स्थानमा बस्नुपर्छ। त्यसका लागि घर सबभन्दा उपयुक्त ठाउँ हो।
निर्मलालाई भने घरले समेत चट्याङबाट जोगाउन सकेन। चट्याङका शक्तिशाली करेन्टले उनलाई घरभित्रै लपेट्यो। प्रश्न उठ्छ, के घरभित्रै पनि चट्याङबाट मान्छे असुरक्षित हुन्छ?
विज्ञहरूका अनुसार घरभित्र भनेर मात्रै हुँदैन, विद्युतीय करेन्ट प्रवाह हुने र हुन सक्ने जुनसुकै ठाउँमा मान्छे चट्याङबाट असुरक्षित हुन सक्छ। जसरी निर्मला असुरक्षित भइन्।
'पछि थाहा भयो, उहाँ भिजेकै शरीर लिएर अलि सुकिलो ठाउँ वा काठकै खाटमा बसेको भए पनि सुरक्षित हुनु हुनेरहेछ,' वडाध्यक्ष राईले भने, 'तर पूरै भिजेको शरीर, त्यहीँमाथि चिसो भरइँमा थ्याच्चै बसेका बेला करेन्टले भेटेको रहेछ।'
चट्याङ के हो र यसबाट कसरी सुरक्षित हुन सकिन्छ भन्नेबारे हामी केहीबेरमा चर्चा गर्नेछौं। त्यसअघि चट्याङले नेपालमा गर्दै आएको मानवीय क्षतिको पाटो हेरौं।
राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा हरेक वर्ष सरदर एक सय जनाको मृत्यु चट्याङबाट हुन्छ।
प्राधिकरणको तथ्यांक अनुसार २०७२ वैशाख १ देखि २०८२ जेठ १५ को अवधिसम्ममा (एक दशक) चट्याङबाट देशभर ८०५ जनाले ज्यान गुमाइसकेका छन्। दुई हजार ७२४ वटा चट्याङका यी घटनामा घाइते हुनेको संख्या दुई हजार ७४६ छ।
२०८२ सुरू भएयताको डेढ महिनाको अवधिमा मात्रै मुलुकभर ९९ वटा चट्याङका घटनामा परेर १४ जनाको मृत्यु भइसकेको छ। ७३ जना घाइते भएका छन्। संखुवासभाकी निर्मला तिनै १४ जनामध्ये एक हुन्।
प्रदेशगत रूपमा चट्याङबाट ज्यान गुमाउनेको सबभन्दा ठूलो संख्या कोशीमा छ। कोशी प्रदेश सरकारका विपद विज्ञ रामकुमार दाहालका अनुसार विगत लामो समयदेखि कोशीमा चट्याङले सबभन्दा ठूलो मानवीय क्षति गर्दै आएको छ।
'विपदहरूमध्ये कोशीमा सर्वसाधारणको ज्यान लिने सबभन्दा ठूलो कारण नै चट्याङ हो। अहिले मात्रै होइन, लामो समयदेखि,' उनले भने, 'त्यसपछि मात्रै बाढीपहिरो र आगलागीका घटना आउँछन्।'
२०७२ वैशाखदेखि २०८१ चैत अन्तिमसम्म कोशीमा ७११ वटा चट्याङका घटनामा परेर २१० जनाको मृत्यु भइसकेको छ। ५७० जना घाइते भएका छन्।
यही अवधिमा मधेस प्रदेशमा २०७ वटा चट्याङका घटनामा ११२ जनाले ज्यान गुमाउँदा १३७ जना घाइते भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। त्यसैगरी बागमतीमा ३५२ वटा घटनामा १२० जनाको मृत्यु भएको छ। र, ४६२ जना घाइते भएका छन्।
गण्डकीमा ३०६ वटा घटनामा ७५ जनाले ज्यान गुमाउँदा २७४ जना घाइते भएका छन्। लुम्बिनीमा ४०६ वटा घटनामा १३९ को मृत्यु भयो भने ३९२ जना घाइते भएका छन्।
त्यस्तै कर्णालीमा २८० घटनामा ४७ जनाले ज्यान गुमाए। ३७८ जना घाइते भए। सुदूरपश्चिम प्रदेशमा ३५२ वटा चट्याङका घटनामा पछिल्लो दशकमा ज्यान गुमाउनेको संख्या ८३ छ। ४४८ जना घाइते भएका छन्।
विपद विज्ञ रामकुमार दाहालका अनुसार नेपालमा सबभन्दा धेरै चट्याङ पर्ने प्रदेश कोशी हो भने सबभन्दा कम पर्ने कर्णाली।
यति धेरै मानवीय क्षति भइरहे पनि मनसुनजन्य विपदका बाढी, पहिरो, डुबान र कटानको जे–जति चर्चा हुन्छ, त्यसको थोरै अंश पनि चट्याङबारे हुँदैन। तत्कालै ज्यान लिइहाल्ने चट्याङबारे समाजले धेरै गम्भीरता नदेखाएको दाहालको भनाइ छ।
विपद क्षेत्रमा काम गर्ने सरकार र अन्य संघसंस्थाको बढ्ता ध्यान बाढी र पहिरोतिर केन्द्रित हुँदा चट्याङबारे धेरै छलफल र बहस नहुने समस्या अहिले पनि विद्यमान छ।
चट्याङबारे नेपाली समाजमा धेरै भ्रम भएको विज्ञहरू बताउँछन्। अझ लेखेको छ भने जहाँ भए पनि मरिन्छ भन्ने जबर्जस्ती र बेवास्ताका कारण धेरैले आधारभूत सतर्कता नै अपनाउँदैनन्। चट्याङबारे धेरै कुरा थाहा नभएकाहरू मात्रै होइन, जानकारहरूले समेत बेवास्ता गरेकै कारण क्षति बढिरहेको विज्ञहरूको भनाइ छ।
'एउटा ठूलो समुदायसम्म चट्याङ के हो र कसरी जोगिन सकिन्छ भन्ने जानकारी पुर्याउनै सकिएको छैन,' विपद विज्ञ दाहाल भन्छन्, 'जानकारी भएकाले पनि धेरै हदसम्म बेवास्ता गरेको देखिन्छ।'
धेरैको ज्यान लिने चट्याङबारे नेपालमा पर्याप्त अध्ययन पनि नभएको उनी बताउँछन्। नेपालको पूर्वी भेगमा सबभन्दा धेरै चट्याङ पर्ने तथ्य प्रमाणित भइसकेको छ। तर त्यही भेगमा यतिधेरै चट्याङ किन पर्छ भन्नेबारे यथेष्ट अनुसन्धान हुनै सकेको छैन।
विपद प्राधिकरणले सर्वसाधारणलाई सचेत गराउन विभिन्न सामग्रीहरूमा उल्लेख गरिए अनुसार प्रि–मनसुनमा चट्याङको सम्भावना धेरै हुने गरेको छ। पोस्ट मनसुन पनि चट्याङका लागि जोखिमपूर्ण समय हो। खासगरी चैतदेखि असोजसम्मै चट्याङ पार्ने स्थानीय प्रणाली जुनसुकै बेला विकसित हुन सक्छ। मनसुनमा मज्जाले झरी पर्दा भने यसको जोखिम कम हुने गरेको छ।
मौसम विज्ञानको भाषामा वातावरण स्टेबल (स्थिर) र अनस्टेबल (अस्थिर) भइराख्ने प्रक्रिया चलिरहन्छ।
सामान्यतया हावा पूर्व–पश्चिम, उत्तर–दक्षिण दिशातिर बहने प्रक्रिया चलिरहेको हुन्छ। वातावरण अस्थिर बनेको अवस्थामा भने हावा पृथ्वीबाट आकाशतिर बहकिन थाल्छ। तलबाट माथितिर जाने हावा बलियो हुन्छ र त्यसले आकाशमा चट्याङ पार्ने बादल बनाउँछ।
'चट्याङ भनेको आकाशबाट जमिनमा खस्ने एक शक्तिशाली विद्युतीय करेन्ट हो। हुरी–बतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाज सहितको विद्युतीय लहर उत्पन्न हुन्छ र खास बाटो बनाउँदै त्यो पृथ्वीमा आइपुग्छ। त्यही करेन्टलाई नै हामी चट्याङ भन्छौं,' केही समयअघि सेतोपाटीसँगको कुराकानीमा जल तथा मौसमविद विनोद पोखरेलले भनेका थिए, 'सूर्यको तापले जमिनको सतहको तापक्रम बढिरहेको हुन्छ। त्यस बेला वाष्पीकरण विधिबाट जलाशयका स्रोतबाट पानीका कण माथितिर उड्दै जान्छन्। यसरी माथि गएका पानीका कणले बादलको रूप लिन्छन्।'
उनका अनुसार हावाका कारण गतिशील हुने बादलबीच त्यस क्रममा अनेकौं घर्षण हुन्छ र त्यसले त्यहाँ चार्ज उत्पन्न हुन्छ।
यो प्रक्रिया जारी रहँदा जति बेला बादलमा पानीको मात्रा पर्याप्त हुन्छ, बादलको तह एकदमै बाक्लो बन्छ, क्युमलोनिम्बस भनिने त्यही बाक्लो बादलले चट्याङ पार्छ। कालो बादल डम्म भरिएका बेला चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।
उनले अगाडि भनेका छन्, 'तलबाट माथितिर बहेको हावामा मोइस्चर पनि छ भने त्यसले सतहबाट एकदमै लामो बादल बनाउँछ। त्यो १५ किलोमिटरसम्म लामो हुन सक्छ। बादलमा बरफ बनाउने र असिना झार्ने त्यसैले हो। बाक्ला र लामा बादलबीच घर्षण हुँदा निस्किने शक्ति नै चट्याङ बनेर पृथ्वीमा आइपुग्ने हो।'
जानकारहरूका भनाइमा चट्याङबाट जोगिने सबभन्दा राम्रो उपाय भनेको सुरक्षित ठाउँमा बस्नु हो। बादल गर्जिनन थालेपछि घरभित्र पसिहाल्नुपर्ने उनीहरू बताउँछन्।
प्राधिकरणले प्रसारण गर्ने सूचनामा पनि चट्याङबाट जोगिन घरभित्रै बस्नुपर्ने उल्लेख छ। तर घरभित्रै सुतेको वा बसेको ठाउँमा धेरै जनाको चट्याङका कारण मृत्यु भएको छ।
विपद विज्ञ रामकुमार दाहालका अनुसार माटोले बनेका होचा घरमा बस्नेहरू चट्याङको जोखिममा धेरै परेको देखिएको छ।
'विद्युतीय सुचालकको सम्पर्कमा रहँदा त जहाँ पनि जोखिम हुन सक्छ। सामान्यतया पक्की घर सबभन्दा सुरक्षित हो तर सबैको त्यस्तो घर छैन। त्यसैले चट्याङको जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायस्तरमै पर्याप्त जानकारी दिन जरूरी छ,' उनले भने।
प्राधिकरणको सूचना अनुसार चट्याङबाट जोगिन घरभित्रै र विद्युतीय कुचालक करेन्ट नलाग्ने वस्तुमाथि बस्नुपर्छ। कम्प्युटर, टिभी, आइरन, मोटर, ल्यान्डलाइन फोन वा मोबाइल जस्ता विद्युतीय उपकरण चलाउन हुँदैन। यी उपकरण प्लगबाट झिकेर राख्नुपर्छ।
सोझै धाराको पानी चलाउने, कपडा धुने, भाँडा माझ्ने कामले पनि जोखिम बढाउँछ। धातुका स्ट्यान्ड भएका सामान चलाउन र फलामे ग्रिल छुन हुँदैन।
बादल गड्याङगुडुङ गर्जिएका बेला यस्ता कामबाट बचे चट्याङको जोखिमबाट बच्न सकिन्छ। त्यस्तै घरभित्र बस्दा झ्याल–ढोका राम्रोसँग बन्द गर्नु पनि जोखिम कम गर्ने उपाय हो। आकाश गर्जेका बेला चिसो भुइँमा बस्नु झनै जोखिम हुन्छ। संखुवासभाकी निर्मलाको ज्यान जाने कारण नै चिसो भुइँ र पानीले भिजेको शरीर बन्यो।
प्राधिकरणले शुक्रबार सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा राखेको भिडिओ अनुसार घर बाहिर हुँदा भने चट्याङको जोखिम धेरै हुन्छ।
बादल गर्जिँदा वा चट्याङ परिरहँदा रूख वा ठूलो टावरमुनि बस्नु हुँदैन। बरू खुला ठाउँ हातले दुवै कान थुनेर टाउकोमाथि हात पारेर, कुर्कुच्चा जोडेर जमिनमा टुक्रुक्क बस्न सकिन्छ। त्यस्तै यो बेला पौडी खेल्ने, जलाशयको छेउमा जाने, खेतबारीमा जाने जस्ता काम गर्नु हुँदैन।