बहत्तर वर्षअघि आजकै दिन।
सन् १९५३ मे २९ को बिहान सगरमाथा माथिको आकाश खुलेको थियो। चारै बजे झिसमिसेमा सगरमाथाको चौथो शिविरबाट बरफ र हिउँमा बाटो बनाउँदै अघि बढेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको अगाडि मोटो बरफ झुन्डिएको ४० फिट अग्लो चट्टानी पर्खाल खडा भइदियो।
हिलारीले आफ्नो पुस्तक 'भ्यू फ्रम द समिट' मा लेखेका छन्, 'त्यसपछि मैले तेन्जिङलाई डोरी चट्टान माथि फ्याँकेर अड्काउन लगाएँ।'
निकै सावधानीपूर्वक हातले भेटेजति बरफ समात्दै माथि उक्लिएपछि हिलारीको आत्मविश्वास ह्वात्तै बढ्यो।
शिखरमुनिको त्यही चट्टानी पर्खाललाई हिलारी स्टेप भन्ने गरिएको छ।
त्यो अन्तिम अवरोध बडो मुस्किलले पार गरे दुवैले। तेन्जिङ पछि पछि, हिलारी अघि अघि।
ती दुई हिउँमा बाटो बनाउँदै अगाडिको थुम्कोतर्फ उक्लिन थाले। अब चढ्न बाँकी कुनै उकालो बाँकी रहेन, अगाडि कुनै थुम्को देखिएन।
हिलारीले घडी हेरे – बिहानको ११:३० बजेको थियो।
उनीहरू केही सम्म जस्तो देखिने हिउँले ढाकिएको सानो भागमा उभिएका थिए — त्यो सगरमाथा शिखर थियो।
खुसी हुँदै हिलारीले तेन्जिङसँग हात मिलाउन खोजे, 'तर तेन्जिङ झनै खुसी भएर ग्वाम्मै अंगालो हाल्न पो आए,' हिलरीले लेखेका छन्।
सन् १९५३ मे २९ को बिहान ११:३० बजे हिलारी र तेन्जिङले सगरमाथा शिखरमा पहिलो मानव पाइला राखेका थिए। स्रोत- हिालरीको पुस्तकको स्क्रिनसट
दुवैको खुसीको सीमा रहेन। झोलामा ल्याएका झन्डाहरू निकाले र बरफ फोर्ने कुटो जस्तो आइस एक्समा फहराए। एकअर्काका तस्बिर खिचे।
त्यसपछि 'तेन्जिङले हिउँमा सानो दुलो बनाएर चकलेट लगायतका कोसेली शिखरका देवतालाई चढाए। हिलारीले पनि आफ्नो टोली नेता जन हन्टलाई एक ब्रिटिस पादरीले दिएको जिसस क्राइस्ट झुन्ड्याइएको देखिने सानो क्रुसिफिक्स हिउँमा चढाए।
हिलारी लेख्छन् 'अघिल्लो रात धेरै कागती पानी पिएकाले पिसाबले औधि च्यापेको थियो। त्यसपछि (शिखरमै कतै) पिसाब गरेँ।'
शिखरमा १५ मिनेट बिताएपछि दुवै जना हतार हतार ओरालो झरे।
त्यस दिन उनीहरूको खुसीको कुनै सीमा थिएन।
आरोहण क्रममा हिलारी र तेन्जिङ।
सन् १९२४ मा सगरमाथा शिखरतर्फ लाग्दै गर्दा बेपत्ता भएका दुई ब्रिटिस आरोही जर्ज म्यालरी र एन्ड्रु अर्भिन सगरमाथा नजिकै बिलाएका थिए। तर त्यस दिन हिलारी र तेन्जिङले नयाँ इतिहास रच्न सफल भएका थिए।
तल्लो शिविरमा आफ्ना साथी भेटेपछि हिलारी चिच्याए, 'वी नक्ड द बास्टर्ड अफ (हामीले त्यसलाई ढालिदियौं।)'
संसारका कुना कुनामा आफ्नो साम्राज्य फैलाएको ब्रिटिसका लागि आफ्नो टोलीका सदस्य सगरमाथा शिखरमा पहिलोपटक पुगेको भन्दा ठूलो खबर के हुन सक्थ्यो। त्यो पनि महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेककै केही दिन अगाडि।
त्यो भव्य समाचार त्यति बेला आधार शिविर पुगेका टाइम्स पत्रिकाका संवाददाता जेम्स (जन) मोरिसले गोप्य कोड भाषामा लेखेर, कसैलाई दौडाएर नाम्चे पुर्याएर, रेडियोमार्फत काठमाडौंमा टिपाएका थिए।
त्यहाँबाट कसैले पढे पनि नबुझ्ने उल्टोपाल्टो भाषामा टेलिग्राम गरेर पठाइएको स्कुप भनिने बडो ठूलो समाचार महारानीको राज्याभिषेककै दिन जुन २ तारिखमा टाइम्स पत्रिकाको पहिलो पानामा छापिएको थियो।
महारानीको राज्याभिषेकको दिन सन् १९५३ जुन २ तारिखमा ब्रिटेनको टाइम्स पत्रिकाको पहिलो पानामा छापिएको सगरमाथा विजयको खबर। स्रोत: टाइम्स पत्रिकाको स्क्रिनसट
त्यस्तो भव्य प्रथम आरोहणको ७२ वर्षपछि समय धेरै बदिलिइसकेको छ।
सूचना प्रविधि र इन्टरनेट आरोहीसँगै टुप्पोसम्मै पुग्न थालिसकेको छ। क्षणभरमै समाचार विश्वव्यापी बन्ने अवस्था आइसकेको छ। हिलारी र तेन्जिङको पाइला पछ्याउँदै ८,००० जनाभन्दा बढीले सगरमाथा चढिसकेका छन्।
यसपटक झन्डै ५०० ले सगरमाथा चढ्ने अनुमति लिएका थिए। त्यो क्रम बढ्दो छ।
सगरमाथा आरोहणका तौरतरिका र समय पनि कल्पनै गर्न नसकिने अवस्थामा पुगिसकेका छन्। केही उदाहरण आफै पढ्नुहोस् —
कामीरिता शेर्पाको ३१औं आरोहण
थामेमा जन्मिएका कामीरिताले ३१ पटक सगरमाथा चढिसकेका छन्। तस्बिर स्रोत: कामीरिता शेर्पा/फेसबुक
खुम्बुको थामे गाउँमा जन्मिएका कामीरिता शेर्पा ५५ वर्षका भइसके। उनले सन् १९९४ मा पहिलोपटक सगरमाथा चढेका थिए। त्यसपछि हरेक वर्षजसो सगरमाथा शिखर चुम्ने गरेका छन्, आरोहण टोलीको नेतृत्व गर्दै।
यसै साता उनी ३१औं पटक सगरमाथा शिखरमा पुगे, पोहोर साल आफैले राखेको कीर्तिमान तोड्न सफल भए।
प्राय: आरोहीहरू सोलुखुम्बुतिरको दक्षिणपूर्वी मोहडाबाट सगरमाथा चढ्छन्। यसपालि पनि धेरैले त्यसै गरे। कामीरिताको टोलीमा उनी पछि पछि थिए, भारतीय सेनाको आरोहण दलका २२ सदस्य र तिनलाई सघाउने २७ शेर्पाहरू।
धेरै शेर्पा आफू र परिवार पाल्न आवश्यक रूपैयाँ जोहो गर्न हिमाल चढ्छन्। त्यसै क्रममा उनीहरूले कामीरिताले जस्तै नाम र सम्मान पाउने गरेका छन्।
यसैबीच २९ पटक सगरमाथा शिखर चुमिसकेका अर्का शेर्पा पासाङ दावा कामीरितालाई भेट्टाउन कस्सिइसकेका छन्।
टाशी ग्याल्जेन शेर्पाको करामत
फोर्त्से गाउँका टाशी ग्याल्जेनले एकै याममा चारपटक सगरमाथाको टुप्पोमा पुगेर धेरैलाई चकित तुल्याइदिएका छन्। तस्बिर सौजन्य: टाशी ग्याल्जेन शेर्पा
खुम्बुकै माथिल्लो बस्ती फोर्त्सेमा जन्मिएका टाशी ग्याल्जेनले पनि यसपालि सगरमाथामा कमालै गरे। २९ वर्षका टाशी ग्याल्जेन गत शुक्रबार बिहान चौथोपटक सगरमाथा शिखरमा पुगे। त्यसअघि यही मे महिनामा उनले तीनपटक सगरमाथा चढिसकेका थिए।
उनी पहिलोपटक मे ९ मा डोरी बिछ्याउँदै माथि पुगेका थिए। विदेशी आरोहीहरूले बढ्दो रूपमा नयाँ नयाँ प्रविधिको सहारा लिइरहेको अवस्थामा उनले हिलारी र तेन्जिङकै शैलीमा एकै याममा चारपटक सगरमाथाको सफल आरोहण गरिदिए, नयाँ कीर्तिमान राखिदिए।
सन् २०१७ देखि पदयात्री घुमाउने काममा लागेका टाशी ग्याल्जिन त्यसको दुई वर्षपछि सन् २०१९ मा पहिलोपटक सगरमाथाको टुप्पोमा पुगेका थिए।
त्यसपछि उनले थप चारचोटि सगरमाथामा पाइला टेकिसकेका थिए। अन्य धेरै शेर्पा आरोहीजस्तै उनको आरोहण रफ्तार पनि भविष्यमा हेर्नलायक हुनेछ।
'अब तपाईंले कामीरिता शेर्पालाई उछिन्ने होइन?'
'कहाँ सक्नु, दाइलाई गाह्रो छ,' उनले फिस्स हाँस्दै भने।
के थाहा सगरमाथा आरोहणको लहर — को कहाँ पुग्ने हो, ढिलो या चाँडो।
जेनन् ग्यास सुँघेर पाँच दिनमै सगरमाथा
यो यामको सबभन्दा विवादास्पद सगरमाथा आरोहण चाहिँ यो हो — लन्डन र न्यू योर्कबाट उडेको एक साताभन्दा कम समयमा गरिएको सगरमाथाको सफल आरोहण।
अर्थात्, समुद्र सतहमा तयारी गरेर सोझै नेपाल अवतरण र हेलिकप्टरमा आधार शिविर गएर फटाफट सगरमाथा आरोहण।
गत साता ब्रिटेनका चार जना पूर्व सैनिकको टोलीले पाँच दिनभन्दा कम समयमा सगरमाथाको टुप्पोमा पुग्न सफल भएको उद्घोष गर्यो। ठिक त्यति नै बेला अमेरिकी-युक्रेनी आरोही एन्ड्रु उशाकोवले पनि आफू चार दिनभन्दा कम समयमा न्यू योर्कबाट सगरमाथा शिखर पुगेको दाबी गरे।
यस्तो खबर सुनेर हिलारी र तेन्जिङले के भन्थे होलान्?
यस्तो तौरतरिकाले शेर्पा समुदायलाई मात्र नभई नेपाल सरकारलाई समेत तरंगित तुल्याइदिएको छ। यहाँका पर्यटन अधिकारीले ती विवादास्पद आरोहणबारे छानबिन थालिएको बताइसकेका छन्।
उनीहरूले गरेको यस्तो रहेछ —
ब्रिटेनका आरोहीले यात्रा सुरू गर्नु ठिक अगाडि खेलकुदमा प्रतिबन्धित गरिएको जेनन् नामक ग्यास सुँघेका रहेछन्। दुखाइ कम गर्न वा महसुस हुन नदिन एनेस्थेटिकका रूपमा प्रयोग गरिने जेनन् सुँघ्नाले शरीरमा अक्सिजन फैलाउने राता रक्तकोष बन्न मद्दत गरेको आरोहण आयोजकको दाबी छ। त्यसबारे वैज्ञानिक परीक्षणहरू जारी छन्।
अर्का आरोही उशाकोवले चाहिँ आफूले जेनन् ग्यासको सहारा नलिएको दाबी गरेका छन्। बरू उनले आफ्नो न्यू योर्कको अपार्टमेन्टभित्र हाइपोक्सिक टेन्ट भनिने हिमालको जस्तै कम अक्सिजन हुने त्रिपाल राखेर त्यसभित्र महिनौं रात बिताएर अभ्यास गरेको बताएका छन्।
यसअघि पनि कैयन विदेशी आरोहीले उच्च हिमाली यात्राअघि आफ्नो घरमा त्यस्तै हाइपोक्सिक टेन्ट राखेर कम अक्सिजनमा हिँड्ने र सुत्ने अभ्यास गर्ने गरेका विवरण सार्वजनिक भइसकेका छन्।
ब्रिटिस आरोही पनि शेर्पाभन्दा के कम
कामीरिता पछि पछि २९ चोटि सगरमाथ चोटि अर्थात् टुप्पो चुमिसकेका पासाङ दावा छँदै छन्। तर गैरशेर्पा आरोहीमध्ये सबभन्दा धेरै कुनै विदेशीले सगरमाथा चढेका छन् भने ती हुन् ब्रिटिस आरोही तथा गाइड केन्टन कूल। उनले गत साता १९औं पटक सगरमाथा शिखर चुमे।
उनीपछि अमेरिकी डेभ हान र ग्यारेट म्याडिसन छन्। उनीहरू दुवैले १५ चोटि शिखर पुगिसकेका छन्।
तर बर्सेनि हिमाल फर्किने गरेका ५० वर्षका कूल यहीँ रोकिएलान् जस्तो छैन। उनी अर्को वर्ष पनि हिलारी–तेन्जिङ शैलीमा सगरमाथा क्षेत्रमा हप्तौं बिताउँदै, उचाइसँग अभ्यस्त हुँदै, कुनै लागुऔषध बिनै माथि जाने सम्भावना प्रबल छ।
समुद्र किनारदेखि हिँड्दै पौडँदै सगरमाथा
इक्रमुल हसन शकिलले आफ्नो सगरमाथा आरोहणको पैदल यात्रा कक्स् बजारको समुद्र किनारबाट गरेका थिए। तस्बिर सौजन्य: इक्रमुल हसन शकिल
हिलारी र तेन्जिङको आत्मालाई यो खबरले खुसी बनाउन सक्छ। त्यो हो — बांग्लादेशका युवा इक्रमुल हसन शकिलको सफलताको खबर।
उनी बांग्लादेशको कक्स बजारको समुद्र किनारदेखि हिँडेरै नेपाल आइपुगे, मेची तरेर कञ्चनजंगा आधार शिविर पुगे जहाँ उनी कम अक्सिजनसँग अभ्यस्त भए। त्यसपछि हिँडेरै सगरमाथा आधार शिविर पुगे।
उनले ८४ दिनमा करिब १,४०० किलोमिटर यात्रा पैदलै गरे र सगरमाथा शिखर चुमे।
बाटोमा (बांग्लादेशबाट बहने) जमुना नदी तेर्सियो। तर उनले पुल तरेनन्। भने, 'मैले तीन किलोमिटर चौडा खोला पौडेरै तरेँ। पारि आइपुग्दा तीन किलोमिटर तल पुगेछु।'
अहिले ३१ वर्षमा हिँडिरहेका शकिललाई मैले दुई वर्षअघि च्छो रोल्पा ताल नजिकै भेटेको थिएँ।
उनी अझै पूर्व तर अझै माथि पर्ने टाशी लाप्चा पार गरेर खुम्बुको थामे झर्ने योजनामा थिए। त्यो साल उनले १,७०० किलोमिटर लामो जिएचटी अर्थात् ग्रेट हिमालयन ट्रेल भनिने उच्च हिमाली पदयात्रा पूरा गरेका थिए।
'समुद्रदेखि सगरमाथा शिखर यात्रामा सबभन्दा कठिन के थियो?'
'पौडिएर जमुना नदी तर्नु। खुम्बु आइसफल क्षेत्र पार गर्नु। अनि हिलरी स्टेप चढ्नु।'
शकिलको समुद्रदेखि सगरमाथा यात्राले प्लास्टिकको प्रयोगले वातावरणमा पारिरहेको नराम्रो प्रभावबारे समेत जनचेतना फैलाउने जमर्को गरेको थियो।
***