यस वर्षको मनसुन याममा करिब २० लाख नागरिक प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पारित गरेको यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार लुम्बिनीमा सबभन्दा बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ।
कर्णाली, गण्डकीका अधिकांश र लुम्बिनीको उत्तर भागमा सरदरभन्दा ६५ प्रतिशतसम्म बढी वर्षा आकलन गरिएकाले नागरिक पनि लुम्बिनी प्रदेशकै प्रभावित हुने अनुमान गरिएको हो।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ नागरिक प्रभावित हुने अनुमान छ।
त्यसपछि बागमती प्रदेशका नागरिक प्रभावित हुने अनुमान छ। बागमती प्रदेशका ७४ हजार घरधुरीका ३ लाख २७ हजार ३७६ नागरिक प्रभावित हुने आकलन छ।
तेस्रोमा कोशी प्रदेश प्रभावित हुने देखिएको छ। कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जना प्रभावित हुने अनुमान छ।
सुदूरपश्चिम प्रदेशमा ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जना नागरिक प्रभावित हुने अनुमान छ। मधेसमा ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ र कर्णालीका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जना नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान छ।
यस वर्ष मौसमको विशेष अवस्थामा तीन दिन अगावै चेतावनी सहितको आकस्मिक बुलेटिन जारी गर्ने जल तथा मौसम विज्ञान विभागको योजना छ।
भारी, धेरै, अति भारी वर्षाको विशेष पूर्वानुमान ५ दिन अगावै जारी गरी सरोकारवालाकहाँ पठाउने पनि तयारी छ।
प्राधिकरणले विपद व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख १८ हजार २८६ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेको छ। जसअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख ७२ हजार ४२१ रुपैयाँ छ। केन्द्रीय विपद व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख ७३ हजार १०५ रुपैयाँ छ।
प्रदेश विपद व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख २९ हजार ३९३ र जिल्ला विपद व्यवस्थापन कोषमा ६९ करोड ५ लाख ४३ हजार ३६७ रुपैयाँ रहेको प्राधिकरणले बताएको छ।