बुटवलको होराइजन चोकमा एक महिलासहित दुईजना बालिकाको वीभत्स हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजन चोकस्थित मिलिजुली पथमा अन्दाजी ३४ वर्षीय दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो।
महिला र बालिकाहरूको हत्या गर्ने सुजन कोइराला रहेको र उनले आफ्नै दाजुको हत्या गरी जेल चलान भई केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ।
हत्या गर्ने सुजन र मृतक दीपा पूर्वपतिपत्नी रहेको र केही वर्ष पहिले नै सम्बन्धविच्छेद भइसकेको प्रहरीले जनाएको छ। दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन्।
सुजनले दीपालाई मंगलबार आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। तीनै जनाको शव घन र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुजन र दीपा पूर्वपति पत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकालतर्फका रहेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या गर्ने सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ।
मृतक महिला पाल्पाको तानसेन नगरपालिका– ७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्।