चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गर्न संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच वटा मुद्दा चलाउने गरी प्रहरीले राय दिने तयारी गरेको छ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' प्रसाईंले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा राखेका थिए।
तर सभा हुनुअघि नै प्रदर्शन हिंसात्मक बनेको थियो। प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाएका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो।
प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र र पार्टी कार्यालयमा आगजनी गरेका थिए भने भाटभटेनी सुपरमार्केट लुटपाट गरेका थिए।
तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।
घटनापछि फरार रहेका प्रसाईंलाई प्रहरीले भारतबाट नेपाल ल्याएको थियो।
प्रसाईं चैत २९ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
प्रसाईंमाथि अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए।
‘कति जनाविरूद्ध मुद्दा चलाउने भनेर हेर्ने काम भइरहेको छ। अहिले नै यति जनाविरूद्ध चल्छ भनेर यकिन भइसकेको छैन,’ उनले भने।
यो घटनामा परिसरले ५६ दिनदेखि अनुसन्धान गरिरहेको छ। यसमा बयान लेखन र प्रमाण संकलनको काम सकिसकेको छ।
प्रहरीले यस घटनामा मुख्य दोषी दुर्गा प्रसाईंलाई नै बनाएको छ। प्रसाईंविरूद्ध प्रहरीले पाँच वटा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा राय दिने तयारी गरिरहेको छ।
एसपी बोहराले प्रसाईंविरूद्ध अन्य मुद्दासँगै ज्यानसम्बन्धी कसुरमा पनि मुद्दा चलाउन राय दिइने बताए।
प्रसाईंविरूद्ध पत्रकार सुरज रजकको मृत्यु भएको घटनालाई लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।
एभिन्युज टिभीका पत्रकार रजकको चैत १५ गते तीनकुनेमा आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो।
यही कसुरमा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाहीविरूद्ध पनि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन राय दिन लागेको हो।
दुवैले तीनकुनेको घरमा आगजनी गरिरहेको भिडिओ सार्वजनिक भएको थियो।
यसबाहेक प्रहरीमाथि गाडी चलाएको भन्दै प्रसाईंविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८३ अन्तर्गत ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।
त्यस्तै संहिताको दफा ५० अनुसार राजद्रो, दफा २८५ अनुसार आपराधिक उपद्रव र संगठित अपराधमा समेत मुद्दा चलाउन राय दिन लागेको हो।
प्रहरी परिसरको हिरासतमा अहिले राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेका २६ जना छन्। आपराधिक उपद्रवकको कसुरमा २७ जना हिरासतमा छन्।
त्यस्तै 'संयुक्त जनआन्दोलन समिति' का सदस्यसचिव रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा समितिले तोकेका आन्दोलन परिचालन समितिका धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्।