शिर क्षेत्रमा आकर्षक हिमशृंखला। समिपबाट बग्ने तिल्जुङ खोलो। प्राचीन बौद्ध गुम्बाहरू। धेरथोर आयस्ता हुने खेतका गह्राहरू।
उत्तरी हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिल गाउँको परिचय हो यो।
जेठ १ गते तिल गाउँको शिर क्षेत्रबाट उर्लिंदै आएको हिमबाढीले तिल गाउँको परिचय बदलिदिएको छ। खोला नजिकैको बस्ती उच्च जोखिममा छ। खोलो गहिरिएर गएको छ। ठुल्ठूला ढुंगा पनि बगाएर ल्याएको छ।
मनसुन नलाग्दै सामना गर्नुपरेको विपत्तिले अहिले तिलगाउँवासी त्राहिमाम् छन्।
‘मध्यरात गाउँ नै थर्कने गरी बाढी आएछ। गाउँका मानिसहरूको सुत्नै लागेका थिए। त्यस्तै १० बजेको हुँदो तर अपत्यारिलो किसिमले खोला कराउन थालेपछि मानिसहरू ज्यान जोगाउन भागेछन्। भाग्दै, भाग्दै उनीहरू गाउँ माथि पुगेछन्। भोलिपल्ट मात्रै थाहा भयो, के–के क्षति पुर्यायो भनेर,’ त्यस रातको घटनाबारे वर्णन गर्दै नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले सेतोपाटीसँग भने।
तामाङले पनि तिल्जुङको विपत्ति भोलिपल्ट शुक्रबार मात्रै थाहा पाएका हुन्। उनले पालिका अध्यक्ष प्रेमबहादुर लामालाई विपत्तिको जानकारी गराए भने आफू सिधै तिलगाउँ उक्लिए।
वडाध्यक्ष तामाङको गाउँ हल्जी। जुन तिलगाउँबाट थोरै तल र पूर्वतर्फ पर्छ। ३९८४ मिटरको उचाइको तिलगाउँमा गाउँमा लामा जाति नै बसोबास गर्छन्। खेतीकमाइका अतिरिक्त व्यापार व्यवसाय पनि गर्छन्। गुजुमुज्ज गाउँ, जहाँ करिब ५० घरधुरी छन्।
तीमध्ये अहिले १८ घरधुरीमा मात्रै मानिसको बसोबास छ। अरू व्यापार, व्यवसायका लागि गाउँबाहिर छन्।
वडाध्यक्ष तामाङ पुग्दा तिलगाउँको अवस्था भयावह थियो। तिल्चुङ खोला साम्य बनिसकेको थियो तर त्यसले गेग्रान थुपारेको थियो। साविकको भन्दा गहिरिएको थियो।
‘गाउँका मानिस डराइरहनुभएको थियो। त्यसभन्दा अघि तिलगाउँमा त्यस्तो अवस्था थाहा पाइएको थिएन। कहाँबाट के आयो, हिमालै फुट्यो कि जस्तो भएको थियो,’ उनले भने।
लेदोसहितको बाढीले १५ किलोवाट क्षमताको जलविद्युत परियोजना, चार–पाँचवटा काठेपुल, सिँञ्चाइ कुलो खण्डहर बनाइको थियो। खोलाले दुई घरमा क्षति पुर्याएको थियो भने अरू घर जोखिममा थियो।
‘सुरूमा त स्थानीयलाई सुरक्षित ठाउँमा सानुपर्यो। त्यो काम गरेँ मैले। नजिकै हिमशिखर विद्यालय थियो। त्यहाँ राख्ने काम भयो। त्यसपछि बाढी कसरी आयो भनेर खोज्नतिर लागेँ,’ उनले भने।
हल्जीबाट तिलगाउँ उनी तीन घन्टामा पुगेका थिए। तिलगाउँसम्म गाडी जाने मोटरबाटो छ। तर हिउँदमा मात्र गाडी गुड्छ। तिल्चुङको बाढीले त्यो बाटोसमेत कटान गरेको छ।
त्यसैले घुमाउरो बाटो प्रयोग गर्दा बिहान ९ बजेतिर मात्रै तिलगाउँ पुग्न सकेको उनले बताए।
यतिबेलासम्म तिलगाउँवासी उद्धार र राहतकै प्रतीक्षामा छन्।
बाढी गएको तीन दिनपछि आइतबार जनपद, सशस्त्रलगायत सुरक्षाकर्मी तिलगाउँ पुगेका थिए। उनीहरूले क्षतिको विवरण टिपोट गरेर तल फर्किएका छन्।
अहिले तिलगाउँमा पानी परेको छैन। खोला कानै थर्कने गरी सुसाएको छैन। तर भयले बेस्सरी थिचेको छ, उनीहरूलाई।
बाढीबाट विस्थापित बनेका ३३ जना स्थानीयलाई स्कुलमै पाल टाँगेर राखिएको छ।
सरकारी तवरबाट हिमाली गाउँमा बाढी पस्नुको कारण पत्ता लागेको छैन।
वडाध्यक्ष पाल्जोर आफैले तदारूकता देखाएर दुई जना स्थानीयलाई खोलाको शिर क्षेत्र पठाएका थिए। सोमबार झन्डै आठ घन्टा लगाएर स्थानीयहरू बाढी उत्पत्ति भएको स्थान पुगेर फर्किएको पाल्जोरले बताए।
‘उहाँहरू सोमबार बिहानै जानुभएको थियो। आठ घन्टा लगाएर पुग्नुभयो। उहाँहरूले दुई वटा हिमताल फुटेको देखेको बताउनुभएको छ। केही तस्बिरहरू पनि ल्याउनुभएको छ। विज्ञहरूले त्यसबारे अध्ययन गर्लान्। हामीले त ताल नै फुटेर त्यसको पानी बाढीको रूपमा आएको पायौं,’ वडाध्यक्ष पाल्जोरले भने।
ताल विस्फोटजस्तो अवस्था देखिएपछि स्थानीय झन् त्रसित छन्। उनीहरूलाई आफ्नो शिरमाथि हिमताल भएको यसअघि थाहा रहेनछ। त्यतातिर जाने काम नपर्ने हुँदा कोही गएका पनि रहेनछन्।
‘ताल फुटेर बाढी आएको थाहा पाएपछि फेरि पनि यस्तै हुने हो कि, बस्ती नै पो बगाउने हो कि भन्ने त्रास छ। अहिलेको बाढीले बस्ती यसै पनि जोखिममा छ,’ उनले भने।
स्थानीयका अनुसार तिल्चुङको शिर क्षेत्र, गाउँबाट पश्चिमउत्तरतर्फ दुइटा ताल फुटेजस्तो देखिएको छ। तालको माथिल्लो क्षेत्रमा हिउँ देखिए पनि तल्लो सतहमा पानी छैन। त्यही बगेर आएको हुनसक्ने उनीहरूले अनुमान गरेका छन्।
तिल्चुङको शिर क्षेत्रमा केही हिमताल रहेको गुगल इमेजबाट पनि देखिन्छ। यसअघि त्यहाँ ताल भए, नभएकोबारे अध्ययन पनि नभएको वडाध्यक्ष पाल्जोरले बताए।
गुगल इमेजमा तिलचुङको शिरक्षेत्रमा देखिएका हिमतालहरू।
‘ताल भएको थाहा थिएन। ताल फुट्न थालेकाले अरू पनि जोखिममा छन् कि भन्ने नै भयो। बस्ती कसरी जोगाउने होला भन्ने चिन्ता छ,’ उनले भने।
उनले संघीय सरकारबाट उद्धार, घटनाको कारण बुझ्ने तदारूकता आफूले नपाएको गुनासो गरे। ‘गाउँपालिकाले आफ्नो काम गरिरहेकै छौं तर केन्द्रबाट त्यति चासो दिएको पाएका छैनौं,’ उनले भने।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले तिलगाउँमा कसरी गेग्रानसहितको बाढी आयो भनेर अध्ययन भइरहेको बताए।
प्राधिकरणसँग हिमताल विस्फोट अध्ययन, अन्वेषण गर्ने विज्ञता नरहेकाले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा अध्ययन भइरहेको उनले बताए।
‘मैले यो घटना जेठ २ गतै नै थाहा पाएको हुँ। थाहा पाउनासाथ मेरो पहिलो काम नै तिल्चुङमाथिको हिमालय क्षेत्रमा रहेका तालहरूमा विचलन देखिएको छ कि छैन? त्यस क्षेत्रका स्याटेलाइट इमेजहरूले के भन्छ भन्ने नै थियो। मैले त्यही दिन इसिमोडका अधिकारीलाई फोन गरेर अध्ययन गरिदिन आग्रह गरेको थिएँ,’ उनले भने।
आइतबार पत्र नै लेखेर अध्ययनका लागि आग्रह गरेको उनले बताए।
उनले जिल्ला विपदमार्फत उद्धार, राहत, पुनर्स्थापनाको काम भइरहेको बताउँदै ताल फुटेको आशंका गरिएको ठाउँमा सुरक्षाकर्मी पठाउन नसकिएको बताए। ताल फुटेको आशंका गरिएको ठाउँ झन्डै ५ हजार ४ सय मिटरको उचाइमा अवस्थित रहेको स्थानीयले बताएका छन्।
ताल फुटेको सूचना आएलगत्तै कतिपयले हेलिकप्टरमार्फत त्यस क्षेत्रको अवलोकन गर्न कतिपय सुझाव दिएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी प्रमुख भट्टले इसिमोडको रिपोर्ट कुरिरहेको बताए।
‘उहाँहरूले मंगलबारसम्म भूउपग्रह प्रणालीको तस्बिरहरूमार्फत बाढी अघि र बाढीपछिको त्यहाँको हिम तालतलैयामा देखिएका बदलाब अध्ययन गर्नुहुनेछ। त्यसैको आधारमा हामी थप अध्ययन र अन्वेषण गर्नेछौं,’ उनले भने, ‘अहिले नै स्रोत साधन खर्च गर्नेतिर किन लाग्नु।’
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बाढीको कारण यकिन भइनसकेको बताए। केही स्थानीय पुगेर आए पनि उनीहरूले उपलब्ध गराएको तस्बिरकै आधारमा ताल विस्फोट भयो भनेर भन्न नसकिने बताए।
पछिल्लो समय हिमताल वरपरको स्थायी हिमजमिन (पर्माफ्रस्ट) कमजोर भएको छ। जसले सिमेन्टेड शैलीमा तालतलैयालाई संरक्षण गर्छन्। तापमान बढेसँगै जमेको हिउँले अँठ्याएर राखेको माटो, चट्टान अन्य भू–सामग्री कमजोर हुँदै गएका छन्, जसले तालको प्राकृतिक बाँध (मोरिन) कमजोर बनेको छ। जुनसुकै बेला फुट्ने जोखिम देखिएको छ।
तिलगाउँ माथि रहेका ताल क्षेत्रमा पनि पर्माफ्रस्ट कमजोर हुँदा त्यहाँको चट्टानी भूभागबाट पानी छिरेर आएको हुनसक्ने र जसले तटीय क्षेत्रको फर्माफ्रस्ट पगाल्दै र बगाउँदै ल्याउँदा ठूलो भेलबाढीको रूप लिएको हुनसक्ने पनि आशंका गरिएको छ।
प्रमुख जिल्ला अधिकारीले पनि त्यही आशंका गरे।
‘तालको पानी छिर्यो कि भन्ने आशंका पनि छ। विस्फोट भएको पनि हुनसक्छ। अध्ययनपछि यकिन गर्न सकिएला। अहिले हामी उद्धार राहतकै काममा सक्रियतापूर्वक लागिपरेका छौं,’ उनले भने।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम वरिष्ठ सल्लाहकार डा. अरुणभक्त श्रेष्ठले त्यस क्षेत्रका हिमतालमा यसअघि पनि विचलन देखिएको बताए। उनका अनुसार हुम्लाकी हल्जी क्षेत्रमा यसअघि हिमताल फुटेर बाढी आएको थियो।
तिल्चुङको शिर क्षेत्रमा ताल विस्फोट नभइ स–साना हिमपहिरो चलेको हुनसक्ने पनि आशंका गरे। यद्यपि अध्ययनअघि नै भन्नु हतार हुने उनको विश्लेषण छ।
‘हामीले बाढीपूर्व र पश्चातका भूउपग्रह प्रणालीबाट खिचिएका तस्बिहरू संकलन गरिरहेका छौं। त्यसआधारमा विश्लेषण गरेर हामी भन्नेछौं,’ उनले भने।
यसका अतिरिक्त उनले साना खहरे, खोल्सा र हिमतालमुनि रहेका नदी, खोलामा बाढी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने पनि औंल्याए।
‘त्यस्तो प्रणाली नहुँदा कतिबेला बाढी आउँछ भन्ने नै थाहा नहुने अवस्था छ। त्यहाँ पनि राति बाढी आयो,’ उनले भने।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले एक वर्षयता गोरखा, सोलुखुम्बु, दोलखा, हुम्लामा गरी चारवटा हिमताल विस्फोटका घटना सामान्य सन्देश नभएको बताए। यसले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको भयवाह दृश्य देखाइरहेको रूपमा बुझ्नुपर्ने बताए।
‘यी परिघटनाले हाम्रा हिमताल, तलैयाहरू जोखिमपूर्ण बन्दैछन्। विस्फोटको खतरा बोकेर बसेका छन् भन्ने रूपमा बुझ्नुपर्छ,’ उनले भने, ‘कोशी जलाधार क्षेत्रका हिमतालहरू जोखिममा छन्। त्यहाँको हिमताल विस्फोट हुँदा अन्तर्राष्ट्रिय समुदायको चासो देखिन्छ।
त्यहाँ ठूलो पर्यटकीय आकर्षण पनि छ। तुलनात्मकरूपमा पश्चिमी क्षेत्रमा हिमताल विस्फोट हुँदा कम चासो देखिएको हामीले पाउँछौं। सगरमाथा संवाद चलिरहँदा हुम्लामा हिमताल विस्फोट भएको छ। यो विषयलाई हामीले अन्तर्राष्ट्रिय मञ्चमै पुर्याउनुपर्छ।


-1747629252.jpeg)

-1747629250.jpeg)



सबै तस्बिर: वडाध्यक्ष पाल्जोर तामाङ