वैशाखको यो भुइँ पोल्ने गर्मी!
सवारी साधनको चर्को आवाजले काठमाडौं माइतीघर मण्डलमा अहिले एकैछिन पनि टिक्न सकिँदैन।
सडकको तातो राप उस्तै छ!
तर रूकुमपश्चिम चौरजहारी नगरपालिका–८ का पाँच जना आमालाई यी कुराले पटक्कै छोएकै छैन। उनीहरू ९ दिनदेखि (आइतबारसम्म) माइतीघर मण्डलको तातो भुइँमा म्याट ओछ्याएर धर्नामा छन्।
सडकको बीचमा हरियालीका लागि राखिएका बोट–बुट्यानहरूले अलिअलि घाम छेक्छ। उनीहरू तातो राप छल्न बिरूवाको छाया जहाँजहाँ पर्छ, त्यहीँत्यहीँ म्याट सार्दै बस्छन्। दिनैभरि यो क्रम चलिरहन्छ।
‘योभन्दा बढी हामीलाई आफ्नै सासले पोलिरहेको छ,’ ४२ वर्षीय उर्मिला विश्वकर्माले भनिन्, ‘हामी जिउँदै जलिरहेका छौं। छोराहरूको मृत्युको रापले पोल्न छोडेको छैन।’
छोराहरूको हत्यारा जबसम्म खुलेआम डुलेर हिँडिराख्छन्, तबसम्म आफ्नो मनले शान्ति नपाउने उनीहरू बताउँछन्।
उनीहरू आफ्ना दुःख पोख्न सदन छेउमै बसेका छन्। तर ९ दिनसम्म सरकारी निकाय वा कुनै संघसंस्थाका मानिसहरू उनीहरूको पीडा बुझ्न आएका छैनन्।
उनीहरू धर्ना बसेको भने आइतबारसम्म १२ दिन भयो। यसअघि सुर्खेत उच्च अदालतको आँगनमा थिए। सुर्खेतमा २ दिन बसेर काठमाडौं आएका हुन्।
उनीहरूले घर छोडेको भने १४ दिन भइसकेको उर्मिला बताउँछिन्।
वैशाख १६ गते उच्च अदालत सुर्खेतमा उनका छोराहरूलाई लखेटीलखेटी हत्या गर्ने व्यक्तिहरूका लागि फैसला सुनाउने दिन थियो।
‘छोराहरूलाई मार्ने व्यक्तिले सजाय पाउनुपर्छ भन्न दुईदिन अघि नै सुर्खेत आइपुगेका हौं,’ उनले भनिन्, ‘हाम्रा छोराहरूलाई जसरी मारेको छन् ती अपराधिमाथि निष्पक्ष फैसला गर्छ भन्ने विश्वास बोकेर आएका थियौं। तर हाम्रो विश्वासमा अदालतले पानी हालिदियो।’
उच्च अदालत सुर्खेतले वैशाख १६ गते जुन फैसला गर्यो। त्यसपछि उनीहरू घरै फर्किन पाएनन्। त्यो दिन जिल्ला न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जिल्लाको फैसलामा केही फेरबदल गर्यो।
यसअघि अर्थात २०८० मंसिर १९ गते रूकुम जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले नवराज बिकसहित ६ जनाको हत्यामा एक जना नावालकसहित २४ जनालाई जन्मकैद फैसला गरेको थियो।
साथै जन्मकैद फैसला भएका २३ जना मध्य मल्ल ठकुरी थरका सबैजनालाई जातिय छुवाछूततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत तोक्यो।
जिल्लाले फैसला सुनाउँदा न्याय पाएको महसुस गर्दै उनीहरूले न्यायाधीशलाई धन्यवाद दिएका थिए। तर उच्च अदालत सुर्खेतले पनि त्यही गर्ने उनीहरूको विश्वास थियो। त्यो विश्वास टुटेको उनीहरू बताउँछन्।
उच्च अदालत सुर्खेतले २३ जनालाई जन्मकैदको फैसला सदर गर्यो भने एकजना नाबालक भएकाले जन्मकैदको दुई तिहाइमात्र सजाय सुनायो। भने जातीय छुवाछूत तथा भेदभाव ठहर गर्ने निर्णय उल्टायो।
नवराजकी आमा उर्मिला विश्वकर्मा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी। सुर्खेत अदालतले भने जातीय छुवाछुत नभएको ठहर गर्यो।
आफ्ना छोराहरू मार्नेलाई कानुनले छोड्दैन भन्ने विश्वास बोकेर सुर्खेत आएका ६ जना आमाहरूको मन कुँडियो। आमाहरूको मनमा राँको बल्यो। जे कारणले घटना भयो अर्थात घटनाको जरालाई नै हटाउन खोजिएको आमाहरू बताउँछन्।
‘वैशाख १६ गते साँझ ५ बजेतिर फैसला सुनाइएको थियो। फैसला सुन्नासाथ हामीले अदालत छोडेनौं,’ उर्मिलाले भनिन्, ‘तिमीहरू डुम हौ, हाम्रो गाउँमा आउने हिम्मत कसरी गर्यौ भन्दै मारेको देख्ने प्रत्यक्ष छन्। अदालतले जातीय विभेद होइन पो भन्यो।’
अदालतको निर्णयबाट आफूहरूलाई न्याय नपाएको महसुस भएपछि काठमाडौं आउनु परेको आमाहरू बताउँछन्।
सुर्खेतले फैसला गर्नसाथ नवराजकी विककी आमा ४२ वर्षीया उर्मिला, टिकरामकी आमा ४८ वर्षीया गीताराम, सञ्जु विककी आमा ४६ वर्षीया सविता, गोबिन्द बुढाथोकी शाहीको आमा ५० वर्षीया भिमिकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा ४३ वर्षीया लक्ष्मी काठमाडौं आइपुगेका हुन्।
गणेश विककी आमा बिरामी भएकाले सुर्खेत अदालतमा उनका बुबा आएका थिए। श्रीमती बिरामी परेकाले उनी पनि काठमाडौं आउन सकेनन्। तर आफूहरू भने घर फर्किन नसकेको उनीहरू बताउँछन्।
‘आफ्ना छोराहरूलाई मार्ने मान्छे खुलेआम घुमिरहेको पीडा सहन नसकिने रहेछ,’ लक्ष्मी सुनारले भनिन्, ‘एक÷ दुईदिनका लागि सुर्खेत आएका थियौं। घर फर्किन नसक्ने भएपछि त्यहीँबाट सिधै काठमाडौं आयौं।’
जातीय छुवाछूतकै कारणले घटना भएकाले संलग्न सबैलाई जातीय छुवाछूतको कसूर हुनुपर्ने र मुद्दालाई कमजोर बनाउन खोजेको देखियो। त्योसँगै किशोरी र उनकी आमालाई सुर्खेतले सफाइ दिएको छ। आमाछोरी र जिल्ला अदालतका न्यायाधीशविरूद्ध कारबाही हुनुपर्ने उनीहरूको माग छ।
आफ्ना छोराहरू मारिएको घटना देशले बिर्सिनु नहुने उनीहरूको भनाइ छ।
२०७७ जेठ १० गते ६ जनाको हत्या भएको थियो।
जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको ज्यान गएको थियो।
उनीहरू ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो।
नवराज र रुकुमपश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीच प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो। प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका हुन्।
सोही घटनामा २४ जनाविरूद्ध जन्मकैदको सजाय सुनाइएको थियो भने किशोरी र उनकी आमालाई जातीय छुवाछूततर्फ दुई वर्ष कैद र ५० हजार जरिबाना तोकेको थियो। उनीहरू धरौटीमा छुटेका थिए। उच्च अदालत सुर्खेतले किशोरी र उनकी आमालाई सफाइ दियो।
‘जे कारण घटना भयो त्यही मुद्दालाई नै हटाइयो,’ लक्ष्मी भन्छिन्, ‘जातको कारणले नमारेको भए के कारणले मार्यो? हामीलाई यसको जवाफ दिइयोस्।’
उनीहरू सरकारसँग आफ्नो छोरा मारिनुको कारण बुझ्न चहान्छन्। त्यसको जबाफ नपाएसम्म माइतीघर नछोड्ने उनीहरूको अडान छ।
'जातीय विभेद होइन भने किन डोरीले बाँधीबाँधी मारियो त्यसको जबाफ हामीलाई चाहियो,' सञ्जुकी आमा सविताले भनिन्, 'हाम्रा छोराहरू मार्ने छुटिरहेका छन्। त्यसको जबाफ अदालतले दिनुपर्छ।'
उच्च अदालतको सुर्खेतले गरेको फैसला निपक्ष नभएको उनीहरूको आरोप छ। त्यहीकारण उनीहरूले बिहीबार न्याय परिषदमा पुगेर उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध उजुरी दिएका छन्।
त्योसँगै फौसलाको पूर्णपाठ आएपछि कानुनी कारबाहीमा अगाडि बढ्ने उनीहरूको भनाइ छ।
यो मुद्दामा वकालत गरिरहेकी अधिवक्ता कुन्जनी परियार प्यासीले पनि जातीय छुवाछूतको मुद्दामा किन बदर गरिदिएको भन्नेकुरा पूर्णपाठ आएपछि मात्र थाहा हुने जानकारी दिइन्।
माइतीघरमा धर्नामा बसेका भिमिकुमारी बुढाथोकी शाही, गीता विक र सविता विक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटीउनका अनुसार अहिले केही आधारहरू दिइएको छैन। पूर्णपाठ आएपछि किन जातीय छुवाछूतको मुद्दा हटाइएको भन्नेकुरा थाहा हुन्छ। त्यसपछि पुनरावेदनका लागि सर्वोच्च जाने तयारी छ।
‘फैसला भएको एक महिनाभित्रमा पूर्णपाठ आउने कानुनी प्रावधान छ, त्यसैले हामी पर्खाइमा छौं,’ उनले भनिन्, ‘विभिन्न अध्ययनहरूले पनि जातीय छुवाछूतकै कारणले घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।’
संसदीय समितिको संयोजक देवेन्द्र पौडेलले टोलीले बुझाएको प्रतिवेदनमा पनि घटनाको मुख्य कारण जातीय विभेदबाट सुरू भएको भनेको थियो।
उक्त प्रतिवेदनको निष्कर्षमा भनिएको थियो, ‘प्रेम सम्बन्ध अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएकोले अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछुतको कारणले भएको पाइयो।’
त्यस्तै, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, संयुक्त दलित जनअधिकार मञ्जलगायतका विभिन्न निकायले सोती घटना जातीय विभेदकै कारणले भएको ठहर गरेका छन्।