कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुख्यगरी शिक्षा,सेवा र अनुसन्धानको काम गर्छ। सन् २०११ देखि यी तीन वटै काम समानान्तर ढंगले चलिरहेको छ।
एमडी, एमएस, एमबिबिएस, पब्लिक हेल्थ, फार्मेसी, नर्सिङ लगायत १६ वटाभन्दा धेरै कार्यक्रम अहिले चलिरहेका छन्। विशेषज्ञ सहितको तीन सय बेडको अस्पताल चलिरहेको छ भने अनुसन्धानमा केही नयाँ कामहरू गर्ने प्रयास समेत भइरहेको छ।
यस्ता काम भइरहँदा समस्या पनि उत्तिकै छ। हुन त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुँदै प्रश्न उठेका थिए। एउटा अस्पताल समेत स्थापना हुन गाह्रो हुने ठाउँमा मेडिकल कलेज कसरी चल्छ भन्ने धेरैलाई लागेको थियो।
विशेष गरी भौगोलिक कारणले हामीलाई धेरै गाह्रो भयो। सुर्खेतबाट जुम्लासम्म २२५ किलोमिटर पार गर्न ९ घन्टा लाग्छ। कतै नरोकिएर गयो भने मात्रै यो समयमा पुगिने हो। कहिले जहाज एक हप्तासम्म जाँदैन, कहिले दुइटा आउन सक्छ।
यातायातको कठिनाइका कारणले त्यहाँ काम गर्ने विद्यार्थी, चिकित्सक र विभागका कर्मचारीलाई अलि मुस्किल छ। त्यस कारण पनि विभागहरू चलाउन गाह्रो भएको छ।
दोस्रो कारण, राज्यले यो प्रतिष्ठानलाई जुन ढंगले अगाडि बढाउन पर्थ्यो, त्यसरी गर्न सकेको छैन।
जबकि त्यहाँ मेरूदण्डदेखि थुप्रै खालका जटिल अपरेसन हुन्छन्। त्यसका लागि आवश्यक एमआरआई मेसिन छैन। मुटुको अत्यावश्यक शल्यक्रिया हुँदैन। बजेट अभावले उपकरण ल्याउन सकिएको छैन।
बजेटकै अभावमा कार्डियोलोजीमा डिएम चिकित्सक राख्न सकिएको छैन। सरकारी तलबकै भरमा मात्र विशेषज्ञ चिकित्सक अड्याउन सकिँदैन।
यसका बाबजुद एमबिबिएसको पाँचौं ब्याच भर्ना भइसकेको छ। अबको एक डेढ वर्षमा २० जना एमबिबिएस डाक्टर हुन्छन्। अन्य कार्यक्रमहरू एमडी, एमएस, नर्सिङ, फर्मेसी लगायत विषयमा विद्यार्थीहरू पास भएर तयार भइसकेका छन्।
अहिले सबै कार्यक्रममा गरेर ४५१ जना विद्यार्थी छन्। विभागहरू सक्रिय छन्। जुम्ला गएर प्रतिष्ठान हेरियो भने शिक्षण अस्पतालको एउटा फाउन्डेसन देख्न सकिन्छ।
तर हामीसँग प्रविधि र प्राविधिक जनशक्ति कमी छ। अहिलेको अवस्थाबाट माथि उठ्न सरकार, सरोकारवालाहरुको साथ र सहयोग जरूरी छ।
धेरैलाई यहाँ अस्पताल चाहिन्छ, मेडिकल कलेज चाहिँदैन भन्ने लागेको थियो। तर मेडिकल कलेजबिनाको अस्पतालले त्यहाँको आवश्यकता पूरा गर्न सक्दैन। विशेषज्ञ चिकित्सकलाई अगाडि बढ्न मेडिकल कलेज चाहिन्छ। मेडिकल कलेजले शैक्षिक वातावरण बनाउँछ र अस्पताल सञ्चालन सहज बनाउँछ।
सुविधा सम्पन्न अस्पताल मात्र हुनु र मेडिकल कलेज हुनुमा धेरै फरक छ। जस्तो, सुर्खेतमा एउटा अपरेसन गर्नुपर्यो भने राति १२ बजे विशेषज्ञ आउन गाह्रो हुन्छ। तर हाम्रोमा २४ घन्टे विशेषज्ञ सेवा दिन सकिन्छ।
अहिले प्रतिष्ठानको स्कुल अफ मेडिसिन ५ औं वर्षमा छ। पाँचौं ब्याचमा २० जना, चौथो र तेस्रो ब्याचमा ३०/३० जना अनि पहिलो र दोस्रो ब्याचमा ५०/५० जना गरी १८० जना एमबिबिएस अध्ययनरत छन्। त्यस्तै ७ वटा विषयमा एमडी/एमएसका कार्यक्रम चलिरहेका छन्।
यति ठूलो संरचना हुँदा पनि एमआरआई मेसिन ल्याउन सकिएको छैन। यसका लागि २० करोड रूपैयाँ भन्दा धेरै खर्च हुन्छ। धेरै पटक प्रयास गर्यौं तर सम्भव हुन सकेन।
२०८१ चैतमा मेरो चार वर्षे कार्यकाल सकिँदै गर्दासम्म १२ जना स्वास्थ्य मन्त्री भए। तर कसैले केही गरेनन्। यस पटक स्वास्थ्य मन्त्रालयले एमआरआई मेसिन पठाउने भनेको छ। आउँछ कि भन्ने आशा छ।
क्याथ ल्याबको पनि आवश्यकता छ। हृदयाघात भएका बिरामीको तत्काल उपचार गर्न पाइएन भने बचाउन सकिँदैन। कति बिरामीको मृत्यु भएको देख्नुपरेको छ। त्यसैले विशेषज्ञ सहितको क्याथ ल्याब चाहिएको छ। तत्काल अपरेसन गर्न पर्याप्त पारिश्रमिक सहित विशेषज्ञलाई प्रतिष्ठानमा पठाउन पर्छ।
भौगोलिक रूपमा टाढा, परिवारबाट छुट्टिएर बस्नुपर्ने ठाउँमा थोरै तलबमा डाक्टरहरू कसरी अडिन्छन्?
त्यसैले यसबारे ध्यान दिन जरूरी छ।
(हाडजोर्नी तथा नसा रोग विशेषज्ञ एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावलसँग गरिएको भिडिओ कुराकानीः)