वैशाख ८ गते (सोमबार) ताप्लेजुङमा लत्रिएको बिजुलीको तारका कारण चार जनाको ज्यान गयो। गाडी चालकसहित एकै परिवारका तीन सदस्यले ज्यान गुमाउनुपर्यो।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० मा पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी भएको हो। उक्त घटनामा दुई जना घाइते भए।
विराटनगरस्थित कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरका अनुसार घटनाबारे थप छानबिन गर्न विद्युत विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। प्राधिकरणले पनि बेग्लै छानबिन समिति बनाएको छ।
ठाकुर भने यो दुर्घटनामा कसैको दोष नभएको बताउँछन्।
'त्यो रात हावाहुरी र चट्याङसहित पानी परेको थियो। बिजुलीको पोलमा फलामे पिनमा अल्झाएर राखिएको तार चट्याङले तल झारिदिएछ,’ ठाकुरले भने, ‘पोलमा त्यसरी तार राखेको ठाउँमा माटोको डल्लो पनि राखिएको हुन्छ। चट्याङले पहाडी इलाकामा त्यो डल्लो फुटाइदिन्छ।'
उनका अनुसार लत्रेको तार जिपको छतमा अड्किएको थियो। गाडीको कुनै विद्युतीय सूचालक धातु (मेटल) ले जमिनमा छोएकाले करेन्ट लागेको हुन सक्ने उनी अनुमान गर्छन्।
'चालकले तार लत्रिएको देखेनन् र पोलको छेउबाट गुडाउँदा यो दुःखद घटना भयो,' ठाकुरले भने, 'बाँकी कुरा समितिले अध्ययन गरेपछि मात्र थाहा हुन्छ।'
यस्तै घटना २०८१ भदौ २१ गते बैतडीमा भएको थियो। त्यो बेला भुइँमा लत्रिएको तारले छुँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको थियो।
२०७७ वैशाख ३० गते धादिङमा पनि लत्रिएकै तारमा छुँदा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको थियो। मकै गोड्न भनेर बारी गएकी उनको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
नेपाल विद्युत प्राधिकरणले पूर्वाधारबारे ध्यान नदिँदा यस्ता घटना बर्सेनि भइरहेका छन्। यस्ता घटना सहरी क्षेत्र भन्दा पनि ग्रामीण भेगमा धेरै हुन्छन्। हावाहुरी र चट्याङले मात्र होइन, पोल र तार सार्ने क्रममा पनि तारहरू लत्रिएका हुन्छन्। गाउँमा घरहरू नजिक नभएकाले यस्ता समस्याबारे जानकारी हुँदैन। जानकारी गराइएको पनि हुँदैन।
समस्या हुँदा पनि त्यहाँसम्म पुग्न भौगोलिक कारणले प्राधिकरण टोलीलाई लामो समय लाग्छ। यस्तै समस्याले गर्दा बेलाबेला मानवीय क्षतिसहितको दुर्घटना हुने प्राधिकरणका सहायक निर्देशक निर्मला पनेरू बताउँछिन्।
'कुनै ठाउँमा समस्या भएको जानकारी आए करेन्ट काटिन्छ। तर कतिपयलाई कहाँ फोन गर्ने, के गर्ने भन्ने जानकारी नै हुँदैन,' उनले भनिन्, 'प्राधिकरणले जानकारी त गराउँदै आएको छ। तर बर्सेनि ४०/५० जनाले यस्ता घटनामा ज्यान गुमाउने गरेका छन्।'
प्राधिकरणको कमजोरीका कारण दुर्घटना भएको पुष्टि भए पीडित पक्षलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको पनि उनले जानकारी दिइन्।
प्राधिकरणको तथ्यांक अनुसार आठ वर्षयता विद्युतसँग सम्बन्धित दुर्घटनामा परेर ३१२ जनाले ज्यान गुमाएका छन्। ४२४ जना घाइते भएका छन्।
वर्ष २०७४/७५ मा ३४ जनाको ज्यान गएको थियो भने ७१ जना घाइते भएको थिए। २०७५/७६ मा ४४ जनाको मृत्यु भएको थियो, ८६ जना घाइते थिए। २०७६/७७ मा ४१ जनाको मृत्यु भएको थियो र ३८ जना घाइते थिए। २०७७/७८ मा ३७ जनाको मृत्यु भएको थियो र ५० जना घाइते थिए।
त्यस्तै, २०७८/७९ मा ४३ जनाको मृत्यु भएको थियो र ४७ जना घाइते थिए। २०७९/८० मा ४९ जनाको मृत्यु भएको थियो र ५९ जना घाइते थिए। २०८०/८१ मा ४१ जनाको मृत्यु भएको थियो र ४७ जना घाइते थिए। २०८१/८२ फागुनसम्म २३ जनाको मृत्यु भएको थियो र २६ जना घाइते थिए।
औसतमा बर्सेनि तीन दर्जनभन्दा बढी मानिसले यस्ता घटनामा ज्यान गुमाएका छन्।
ग्रामीण भेगमा बिजुली तार वितरणको काम अझै चलिरहेको छ। कतै नयाँ तार राखिँदै छ त कतै पुरानो तार फेर्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए।
'यस्ता दुर्घटना हुनुमा प्राधिकरणको मात्र कमजोरी छैन,' उनले भने, 'सडक विभागले बाटो बढाउँदा वा खन्दा, प्राधिकरणसँग समन्वय गर्दैन। पोलहरू ढल्किएका वा तार चुँडिएको मतलब नै गर्दैन।'
पोल ढल्किएको वा तार चुँडिएको देख्दा पनि सम्बन्धित निकायमा कसैले खबर नगर्दा समयमै सावधानी अपनाउन नसकिएको उनी बताउँछन्।
सहरी क्षेत्रमा बिजुलीको पोलमा गाडी ठोक्किएर, पोल ढलेर दुर्घटना हुने गरेको छ। ग्रामीण भेगमा पोल नजिकै सडक खनिदिने, तार चुँडिए पनि प्राधिकरणलाई खबर नहुने, नांगा तार हुने जस्ता कारणले दुर्घटना हुने प्रवक्ता शिल्पकारले बताए।
'यस्ता घटना कम गर्न प्राधिकरणले मर्मत काम गरिरहेको हुन्छ। कहिलेकाहीँ कहाँ तार छुट्टिएको छ भन्ने जानकारी नहुँदा समस्या निम्तिन्छ,' उनले भने, 'तार लत्रिएको, चुँडिएको देख्नासाथ सम्बन्धित निकायमा खबर गरेमा दुर्घटना कम हुन सक्छ।'