अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ कार्यकाल जितेका छन्।
सोमबार भएको निर्वाचनमा कार्नीले नेतृत्व गरेको लिबरल पार्टी सबैभन्दा ठूलो दल हुने भएको छ।
समाचार संस्था रोएटर्सका अनुसार पछिल्लो मत परिणाम अनुसार कूल ३४३ सिट भएको हाउस अफ कमन्समा सत्तारूढ लिबरल पार्टीले १६७ वटा सिटमा जित वा अग्रता हासिल गरेको छ। त्यस्तै प्रमुख प्रतिपक्षी दल कन्जर्भेटिभले १४५ सिट जितेको वा अग्रता लिइरहेको छ।
बहुमत सरकार बनाउन चाहिने १७२ सित नजिते पनि लिबरल पार्टीले अर्को सरकारको नेतृत्व गर्ने पक्का भएको छ।
कन्जर्भेटिभ पार्टीका पियर पलिएभ केही घण्टा अघि नै हार स्वीकारिसकेका छन्।
ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा कार्नीले मार्च महिनामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। अमेरिकासँग त्यतिबेला चर्किरहेको व्यापार युद्धले आफ्नो दललाई फाइदा हुने भएकाले शपथ लिएको एक सातामै उनले संसद विघटन गरेर चुनावको घोषणा गरेका थिए।
ट्रम्पले दोस्रो कार्यकाल सुरू नगरिकनै आफ्नो लोकप्रियता व्यापक खस्किएपछि जनवरीमा तत्कालिन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टी नेताबाट राजीनामा दिएका थिए।
उनले राजीनामा दिएपछि पनि आम-निर्वाचनमा हार्ने लगभग निश्चित भइसकेको उनको लिबरल पार्टीले अहिले ट्रम्पकै कारण क्यानडामा निर्वाचन जितेको हो।
गत नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जितेदेखि ट्रम्पले क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने र क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने भनिरहेका छन्।
विपक्षी कन्जरभेटिभ पार्टीका दक्षिणपन्थी नेता पियर पलिएभलाई ट्रम्पजस्तै भनेर तुलना गरेर चुनाव प्रचार गरेपछि लिबरल पार्टीको भाग्य चम्किएको हो।
ट्रम्पसँग निकट रहेका 'टेस्ला' कम्पनीका मालिक इलन मस्क, पडकास्टर जो रोगन लगायत ट्रम्प समर्थक अमेरिकीले पनि पलिएभको तारिफ गर्थे।
ट्रम्पले क्यानडाका जनतालाई चिढ्याउनु अघिसम्म पलिएभले चुनाव प्रचार गर्दा पनि ट्रम्पकै शैली अपनाएका थिए। पहिलो पटक राष्ट्रपति चुनाव लडेको बेला ट्रम्पले ‘अमेरिका बर्बाद भएको छ’ भन्ने नारा दिए जस्तै पलिएभ पनि ‘क्यानडा बर्बाद भएको छ’ भनेर नारा लगाउँथे।
तर ट्रम्प कार्यकालको एक महिनामै पलिएभका लागि ट्रम्पको समर्थन र उनीसँगको समानता घाँडो भएको थियो।
उनले आफ्नो प्रचार शैली फेरेर ‘क्यानडा फर्स्ट’को नारा लगाए पनि क्यानडेली जनताले उनको दलभन्दा लिबरल पार्टीले ट्रम्पको सामना बलियोसँग गर्नेछ भनेर लिबरललाई चुनाव जिताएका हुन्।
ट्रम्पले कार्यभार सम्हाल्नु अघिसम्म चुनावपछि पलिएभ क्यानडाका प्रधानमन्त्री बन्ने लगभग पक्का मानिएको थियो। करिब एक वर्षअघि देखि ट्रम्पले कार्यभार सम्हाल्नु अघिसम्म पनि मत सर्वेक्षणले उनको दलको लिबरल पार्टीमाथि २० प्रतिशत विन्दुभन्दा बढीको अग्रता थियो। तर ट्रम्पले क्यानडामाथि गरेको प्रहार र ट्रुडो र ट्रुडो पछि कार्नीले त्यसविरूद्ध गरेको प्रतिकारका कारण लिबरल पार्टीको लोकप्रियतामा व्यापक वृद्धि भएको हो।
विगतमा पहिले क्यानडा र पछि बेलायतको केन्द्रीय बैंकमा गभर्नर रहेर राम्रो काम गरेका मार्क कार्नीको व्यक्तिगत छविले पनि लिबरल पार्टीलाई फाइदा पुग्यो।
आफ्नो उत्तरी छिमेकीलाई अमेरिकाको ५१ औं राज्य बनाउने घोषणा गरेका ट्रम्पलाई क्यानडामा लगभग सबैले विरोध गर्छन्। त्यसैले उनीजस्तै छवि भएका पलिएभको पार्टीलाई जनताले चुनाव हराएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)