चीनको हुवावे कम्पनीले उच्च गुणस्तरको चिप बनाउने अमेरिकी कम्पनी एनभिडियाको जत्तिकै शक्तिशाली चिप परीक्षण गर्न लागेको खुलेको छ।
चीनसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा प्रतिस्पर्धाका कारण अमेरिकाले उच्च गुणस्तरका महँगा र अत्याधुनिक चिप चीनलाई बेच्न प्रतिबन्ध लगाएको छ।
हुवावेलाई त ५ जी लगायत संचार प्रविधिमा अमेरिका लगायत पश्चिमा देशलाई पछि पारेकाले धेरै पहिले नै अमेरिकाले प्रतिबन्ध लगाएको थियो। पश्चिमा देश मात्रै नभएर आफूसँग राम्रो सम्बन्ध भएका अरू देशलाई समेत हुवावेको संचार प्रविधि प्रयोग नगर्न दबाव दिएको थियो।
अमेरिकी प्रतिबन्धका कारण कुनै समयमा चीनको सबैभन्दा सफल कम्पनी हुवावे संकटमा परेको थियो। तर अमेरिकी प्रतिबन्धका बावजुद सो कम्पनीले उच्च गुणस्तरका मोबाइल फोन मात्रै नबनाएर पछिल्लो समय एनभिडियासँग प्रतिस्पर्धा गर्न सक्ने शक्तिशाली चिप बनाउन सफल भएको छ।
आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली चिप प्रयोग गरेर एआई प्रोसेसरको परीक्षण गर्न हुवावेले केही चिनियाँ प्रविधि कम्पनीहरूसँग सम्पर्क गरेको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
एसेन्ड ९१० डी नाम दिइएको हुवावेको सो नयाँ चिप प्रयोग गरिने एआई प्रोसेसरको पहिलो ‘ब्याच’ सो कम्पनीले मे महिनाको अन्त्यसम्ममा हात लाग्ने भनेर केही व्यक्तिहरूको हवाला दिँदै जर्नलले लेखेको हो।
हुवावेले एसेन्ड ९१० डी एनभिडियाको शक्तिशाली एच-१०० भन्दा धेरै शक्तिशाली हुने आशा गरेको छ। हुवावेको सो चिप एच-१०० भन्दा शक्तिशाली एनभिडियाकै एच-२०० मोडेलभन्दा शक्तिशाली छ कि छैन भन्ने चाहिं खुलेको छैन।
तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा एनभिडियाको शक्तिशाली एच-१०० चिपमा प्रतिबन्ध लगाएका थिए। त्यसपछि एनभिडियाले प्रतिबन्ध मापदण्ड उल्लंघन नगर्ने गरी चीनलाई बेच्न झन्डै त्यति नै शक्तिशाली एच-८०० चिप बनायो। सन् २०२३ मा यो चिपमा पनि अमेरिकाले प्रतिबन्ध लगायो।
अमेरिकाले सुरूमा २०२२ मा प्रतिबन्ध नलगाउँदै चिनियाँ कम्पनीले धेरै एच-१०० चिप किनेका थिए। पछि एच-८०० चिपमा पनि प्रतिबन्ध लाग्ने डरले ठूलो संख्यामा किने।
तीनै जम्मा पारेका चिपहरूको प्रयोग गरेर नामै नसुनिएको चिनियाँ स्टार्टअप कम्पनी 'डिपसिक'ले जनवरीमा सोचेर उत्तर दिने (रिजनिङ) लार्ज ल्यांग्वेज मोडल (एलएलएम) आर-१ जारी गरेको थियो। निःशुल्क प्रयोग गर्न मिल्ने आर-१ अमेरिकी प्रतिद्वन्द्वीहरू ओपनएआईको च्याट जिपिटी र मेटाका एआई जत्तिकै शक्तिशाली भए पछि अमेरिकामा खैलाबैला मच्चिएको थियो।
हुवावेले दावी गरे झैं उसको नयाँ चिप एनभिडियाको एच-१०० भन्दा धेरै शक्तिशाली हुने हो भने ती चीप प्रयोग गरेर चीनले एआईको प्रतिस्पर्धामा अमेरिकालाई थप चुनौती दिन सक्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)