एकै परिवारका तीन जना र गाडी चालकसहित चार जनाको ज्यान जाने गरी सोमबार बिहान ताप्लेजुङमा भएको दुर्घटनाका मृतकहरूको शव सदरमुकाम फुङलिङ ल्याइएको छ।
फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बुले दिएको जानकारी अनुसार मृतक सबैको शव घटनास्थलभन्दा १२ किलोमिटर दक्षिण सदरमुकाम ल्याइएको हो।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएका तीन जना एकै परिवारका सदस्य हुन्।
ताप्लेजुङ प्रहरीका सूचना अधिकारी विवेक बस्नेतका अनुसार झापा भद्रपुर–८ स्थित अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षकी श्रीमती सरिता पौडेल, उनीहरूकी छोरीतर्फकी नातीनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको थियो। गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको पनि मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।
दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुरकी वर्ष ४५ वर्षीया सबिना आचार्य र नाती वर्ष १० का अबियम आचार्य घाइते छन्। उनीहरूको अहिले जिल्ला अस्पताल फुङ्लिङमा उपचार भइरहेको छ।
उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतले जानकारी दिए।
‘घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ। काठमाडौंबाट हेलिकप्टर उडिसकेको छ,’ उनले भने।
वडाध्यक्ष लिम्बुले शवको पोस्ट्मार्टमका लागि सदरमुकाम ल्याइएको बताए। उनका अनुसार आइतबार साझ फुङलिङ क्षेत्रमा हावाहुरीसहित पानी परेको थियो।
‘त्यो हावाहुरीले बिजुलीको तार छिनाएको रहेछ,’ उनले भने, ‘एउटा तार जमिनभन्दा १०–१२ फिटमाथि नै झुन्डिएको रहेछ। बिहान दर्शनार्थी बोकेको गाडीको छतमा उक्त तार अड्किँदा यो दुर्घटना हुनपुग्यो।’
पाथीभरा दर्शनका लागि आईतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनीहरू होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि निस्केका थिए।
मृतक पौडेल काठमाडौमा अडिट फर्म सञ्चालन गर्थे। भद्रपुरस्थित पौडेलका छिमेकी गोपाल गिरीले दिएको जानकारी अनुसार अस्पताल चोकमै रहेको पौडेल परिवारको घरमा अहिले ताल्चा लागेको छ। दुर्घटनाको खबर सुनेलगत्तै नातेदारहरू सबै ताप्लेजुङ हिँडेका छन्।