ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु हुने तीन जना एकै परिवारका भएको खुलेको छ।
झापा भद्रपुरस्थित अस्पताल चोकका ७० वर्षका विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, उनीहरूकी छोरीतर्फकी नातीनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको हो। गाडी चालक फुङलिङ-१० का अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।
दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीया छोरा अबियम आचार्य घाइते छन। अबियम बोल्न सक्ने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ।
प्रहरीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको हो।
पाथीभरा दर्शनका लागि आईतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनीहरू होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि निस्केका थिए।
मृतक पौडेल काठमाडौंमा अडिट फर्म सञ्चालन गर्थे।