काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रूपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ।
अनुगमनका क्रममा हानीकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकासमेत वेवास्ता गरेको पाइएपछि अस्पताललाई जरिवानाको पत्र पठाइएको महानगरले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताइन्।
रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानीकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने ऐनमा व्यवस्था छ।
यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था पनि सोही ऐनमा छ।