आइतबार युक्रेनको सुमी शहरमा भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार दुईवटा ब्यालिस्टिक मिसाइलहरूले स्थानीय समय अनुसार बिहान करिब १०:१५ बजे सहरको केन्द्रमा आक्रमण गरेका थिए।
पाम आइतबार मनाउन जम्मा भएका मानिसहरूमाथि सो प्रहार भएको थियो। घटनास्थलबाट आधिकारिक च्यानलहरूमा पोस्ट गरिएका तस्बिरहरूमा सडकको छेउमा कालो बडी ब्यागहरूको लस्कर देखिएको भनेर समाचार संस्था एपीले जनाएको छ।
भिडिओ फुटेजमा क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा जलेका कारहरूको आगो निभाउन अग्नि नियन्त्रकहरू प्रयोग गरिरहेको पनि देखिएको छ।
'यो उज्यालो पाम सन्डेमा हाम्रो समुदायले भयानक त्रासदी भोगेको छ,' कार्यवाहक मेयर आर्टेम कोब्जारले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै भनेका छन्।
'आक्रमणको परिणामस्वरूप कम्तीमा ३२ जनाको मृत्यु भएको छ, जसमा दुई बालबालिका पनि छन्,' युक्रेनको स्टेट इमरजेन्सी सर्भिसले एक वक्तव्यमा भनिएको छ, 'जसमा १० बालबालिका सहित थप ८४ जना घाइते भएका छन्।'
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्धार प्रयासहरू जारी रहेको पुष्टि गरेका छन्। दोहोरो मिसाइल आक्रमणमले 'धेरै' जनाको मृत्यु भएको बताए।
'प्रारम्भिक जानकारी अनुसार, धेरै सर्वसाधारण मारिए र घाइते भएका छन्। सामान्य मानिसहरूको ज्यान लिने यस्तो व्यवहार केवल घृणित मानिसहरूले मात्र गर्न सक्छन्,' उनले भने।
सुमीमा भएको आक्रमण एक हप्ताभन्दा बढी समयमा सर्वसाधारणको ज्यान लिने दोस्रो ठूलो आक्रमण हो, यसअघि अप्रिल ४ मा जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा भएको घातक मिसाइल आक्रमणमा नौ बालबालिका सहित २० जनाको मृत्यु भएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)