फरार रहेको दुई सातापछि प्रहरीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले विज्ञप्ति निकालेरै झापाको भद्रपुरबाट प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई नियन्त्रणमा लिएको उल्लेख गरेका छन्।
प्रसाईंलाई शुक्रबार भारतबाट नेपाल ल्याएर प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं ल्याई अदालतबाट १२ दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित हिरासतमा छन्। उनीमाथि राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।
प्रसाईंको खोजीका लागि प्रहरीको विशेष ब्युरोका प्रमुख डिआइजी सिद्धीबिक्रम शाहको नेतृत्वमा ‘दुर्गा प्रसाई पक्राउ समिति’ नै बनेको थियो।
यही समितिअन्तर्गत सुरूमा वरिष्ठ सई रमेश बजगाईं र सन्तोष धमला दुई जना भारतको नयाँ दिल्ली पुगेका थिए, प्रसाईंलाई खोज्न।
दिल्लीमा विभिन्न ठाउँमा पुगेर उनीहरूले प्रसाईंलाई खोजे, भेटेनन्।
दिल्लीमै केही समय बिताएको उक्त टोलीले थप सूचना संकलन गर्यो।
‘यहाँबाट टोली गएपछि सुरूमा सूचनाको विकास गर्यो, त्यहाँ विभिन्न सम्भावित ठाउँहरूबारे क्लुहरू लिँदै गर्यौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘प्रसाईं नेपालमै छन् कि भन्ने आशंका पनि थियो। तर उनी भारत पसिसकेको विभिन्न क्लुले देखाउँथ्यो।’
प्रसाईं काठमाडौंबाट बाहिरिँदा चढेको गाडी प्रहरीले इटहरीमा फेला पार्यो। इटहरीबाट बरामद गरेको गाडीका चालकलाई पनि सोधपुछ गरी प्रहरीले अनुसन्धान थाल्यो। चालकले प्रसाईं झापास्थित बिएण्डसी अस्पताल पुगेको बताए पनि उनी त्यहाँ नगएको खुल्यो।
प्रसाईं बीच बाटोबाटै भारतको उत्तराखण्डस्थित प्रयागराज पुगेको सूचना पनि प्रहरीलाई थियो। भारत पुगेको प्रहरीले प्रसाईं प्रयागराजबाट फेरि लोकेसन बदलेर लखनउ पुगेको पत्ता लगायो। त्यहाँबाट दिल्ली हुँदै राजस्थान पुगेको देखियो।
‘भारत पुगेका प्रसाईं एकै ठाउँमा बसिरहेका थिएनन्। ठाउँ बदलिरहे। प्रयागराजबाट लखनउ, त्यहाँबाट दिल्ली, त्यहाँबाट राजस्थानबाट फेरि भरतपुर भन्ने ठाउँमा पुगेको थाहा भयो,’ अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीले भने।
अन्तिममा प्रसाईं भारतको असम पुगेका थिए।
‘असममा एक जनाको घरमा बसेका रहेछन्। पछिल्लो समय त्यहाँबाट मुभ भएनन्। उनले अन्त पनि सहयोगको अपेक्षा राखेका रहेछन् तर नपाएपछि त्यहीँ गएर बसेका रहेछन्,’ उनले भने।
प्रसाईं भागिरहँदा उनले एउटा भिडिओ पनि सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। एउटा मन्दिर अगाडि बसेर उनले बोलिरहेको भिडिओ फेसबुकमा पोस्ट भएको थियो।
त्यही भिडिओ प्रहरीका लागि ठूलो 'क्लू' बन्न पुग्यो। ब्युरोको टोलीले प्राविधिक तथा अनुसन्धानका लागि खटाएको प्रहरीबाट प्राप्त सूचनाले प्रहरी नजिक-नजिक पुगिरहेको थियो।
उनले ठाउँ बदल्न विभिन्न गाडी प्रयोग गरे। प्रसाईं र उनका अंगरक्षक दीपक खड्का सँगसँगै काठमाडौंदेखि नै असमसम्म पुगेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका डिएसपी अनिल घिमिरे पनि प्रसाईं खोजी समितिमा थिए। घिमिरे पनि केही दिन अघि दिल्ली पुगे।
दिल्लीमा पुगेर उनीसहितको टोलीले प्राविधिक अनुसन्धान गर्यो। प्रसाईंबारे जानकारी हुनसक्ने केही व्यक्तिहरूसँग सोधपुछ समेत गर्यो।
प्रसाईं असममा रहेको पत्ता लाग्यो। त्यसपछि प्रहरीको टोली बिहीबार बिहानै असम पुगेको थियो। प्रहरीले दिनभरिमा भिडिओमा देखिएको मन्दिर पनि पत्ता लगायो। र प्रसाई बसेको घरसम्म पुगेको थियो।
‘उनी बसेको घर पत्ता लागेपछि हिजो राति प्रहरीले नियन्त्रणमा लिएको हो,’ ती प्रहरी अधिकारीले भने।
प्रसाईं पक्राउ पर्दा गृहमन्त्री रमेश लेखक, आइजिपी दीपक थापा, ब्युरो प्रमुख सिद्धिबिक्रम शाह छलफलमा थिए।
नेपाल प्रहरीले असमबाट कुनै अभियुक्तलाई पक्राउ गरेको यो पहिलो घटना थियो।
‘प्रसाईं भारतको असमको बक्सा भन्ने जिल्लामा बसेका थिए। त्यहाँबाट चार किलोमिटर जतिको दूरीमा भुटानको सीमा छ। नेपाल प्रहरीले यति टाढा ठाउँबाट पक्राउ गरेको यो पहिलो घटना हो। उनले आत्मसमर्पण गरेको भन्ने कुरा केही पनि होइन। प्रहरीले नै समाएको हो,’ ती प्रहरीले भने।
तर उनी पक्राउ परेको केही समयपछि नै सूचना चुहियो। यसरी सूचना चुहिएपछि भने प्रहरीलाई नेपालसम्म ल्याउन चुनौति हुने विश्लेषण गृहमन्त्री लेखकसमेत रहेको छलफलमा कुरा चलेको थियो।
समाचारहरू बाहिरिएपछि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले दुर्गा प्रसाईं पक्राउ नपरेको र भ्रामक समाचार सम्प्रेषण नगर्न भन्दै विज्ञप्ति नै निकालेका थिए।
तर उताबाट डिएसपी अनिल घिमिरेको टोली प्रसाईंलाई लिएर गाडीबाट नेपालतर्फ आउँदै थिए। बक्साबाट १४ घण्टाको यात्रापछि शुक्रबार बिहान करिब १० बजेतिर प्रहरीको टोली झापा आइपुगेको थियो।
बक्सा जिल्लामा बसिरहँदा उनी केहीसमय त्यहीँ बस्ने योजनामा रहेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। ‘उनी आफ्ना छोरा निराजन प्रसाईंसँग भने निरन्तर संवादमा थिए,’ ती प्रहरीले भने।
परिवारका सदस्यसँग निरन्तर संवादमा रहेको पाइएपछि प्रहरीले दुर्गाका दाजु राकेश प्रसाईंलाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको थियो।
चैत मसान्तसम्म बक्सामै बस्ने र वैशाखमा छोरा असम पुगेपछि त्यहाँबाट अन्यत्र सर्ने तयारीमा भने प्रसाईं थिए।
प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा पनि अनुसन्धान गर्ने वा नगर्नेबारे छलफल गरिरहेको छ। उनले प्रहरीलाई पेलेरै सुरक्षा घेरा तोडेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले भने, ‘अहिले उनीमाथि राज्यविरूद्धको कसुरमा म्याद मिलान भएको छ। उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान गर्नेबारे छलफल भइरहेको छ।’
प्रसाईं राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' हुन्। उनकै आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा थियो तर प्रदर्शन हिंसात्मक बन्यो, सभा हुनै पाएन।
प्रसाईं गाडी हुइँक्याउँदै तीनकुने क्षेत्र आएर चैत १५ गते दिउँसो सुरक्षा घेरा तोडेका थिए। प्रहरीहरूलाई पेलेरै उनी अघि बढेका थिए। प्रहरीहरूले प्रसाईंलाई गाडीबाट ओरालेर तीनकुनेस्थित मञ्चछेउ पुर्याएर छाडेका थिए।
प्रसाईंले प्रदर्शन र सभाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएका पनि थिए।
तर प्रदर्शन शान्तपूर्वक अघि बढेन। प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली पनि चलायो। यसबीच प्रदर्शनकारीहरूले व्यक्तिगत घर, पार्टी कार्यालय, भाटभटेनी, जडिबुटी प्रशोधन केन्द्र, सरकारी गाडीमा आगजनी गरिसकेका थिए।
प्रदर्शन हिंसात्मक बनेपछि चैत १५ गते अपराह्नदेखि प्रसाईं सम्पर्कविहीन थिए। उनले यसबीचमा दुई वटा भिडिओ जारी गरेका थिए भने नेपालमै रहेको र ज्यानको सुरक्षा हुने भए प्रहरी प्रशासनमा उपस्थित हुने बताएका थिए।
तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो भने गोली लागेरै २० जना घाइते भएका थिए।
प्रदर्शन आह्वान गरेका मुख्य व्यक्ति प्रसाईंलाई प्रहरीले चैत १५ गतेदेखि नै खोजिरहेको थियो तर दुई सातासम्म फेला पार्न सकेको थिएन।
तीनकुने क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १७८ जनालाई नियन्त्रणमा लिएको छ। तीमध्ये ८२ जनामाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिवसमेत रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उक्त समितिमा आन्दोलन परिचालन समितिमा रहेका राप्रपा महामन्त्री धवल शम्शेर राणालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट पटक पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।