गत मार्च २८ गते म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ सय नाघेको छ।
म्यानमारका सरकारी अधिकारीले दिएको जानकारी अनुसार मृतकको संख्य ३ हजार ५ सय ९१ पुगेको छ। झन्डै ५ हजार मानिस घाइते छन् भने डेढ सय बढी हराइरहेका छन्।
मृत्युमा हुनेमा १८ जना नेपालीभाषी बर्मेली नागरिक रहेको म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले जानकारी दिए। साथै १५ जनाभन्दा बढी नेपालीभाषी नागरिक हराइरहेको घिमिरेले जनाए।
म्यानमारमा झन्डै डेढ लाख बढी नेपालीभाषी नागरिकहरू बसोबास गर्दै आएका छन्। उनीहरू डेढ सय वर्षभन्दा अगाडिदेखि बसोबास गर्दै आएको इतिहास छ।
यहाँका याङ्गुन र म्यान्डले क्षेत्रमा नेपालीभाषीको संख्या उल्लेख्य छ। याङ्गुनमा मात्र २० हजार बढी नेपालीभाषी नागरिक छन्। यद्यपि ती सबै नेपालीभाषी नागरिकहरू सुरक्षित रहेको राजदूत घिमिरे बताउँछन्।
'याङ्गुनमा करिब २० हजार नेपालीभाषीहरू हुनुहुन्छ तर उहाँहरू कसैलाई केही भएको छैन। याङ्गुन भूकम्पको केन्द्रविन्दुबाट टाढा भएकोले पनि क्षति नदेखिएको हो,' उनले भने।
याङ्गुन म्यानमारको पुरानो राजधानी हो। सन् २००५ पछि भने राजधानी नेपिडोमा सारिएको थियो।
म्यानमारको दोस्रो ठूलो सहर मान्डले भने भूकम्पको केन्द्रविन्दु रहेको सगाइङसँग जोडिएको क्षेत्र हो। त्यसैले त्यहाँका नेपालीभाषीहरू पनि प्रभावित छन्।
अहिले मान्डलेमा त्यहाँ सक्रिय रहेको नेपालीभाषीहरूको संघसंस्थाहरूले राहत वितरणदेखि आधारभूत कुराहरू प्रभावित मानिसहरूलाई सहयोग गरिरहेको घिमिरेले बताए।
'मान्डलेमा अखिल म्यानमा देशीय गोर्खा हिन्दु धार्मिक भन्ने छाता संगठन छ। अहिले डेढ सय बढी प्रभावित मानिसहरूलाई खाना र आवासको व्यवस्था गरिरहनुभएको छ। उहाँहरूले दूतावासलाई पनि आउन आग्रह गर्नुभएको छ र हामी जाने तयारीमा छौं,' उनले भने।
भूकम्पपछि क्षतिग्रस्त बनेको म्यानमारलाई अहिले अन्तर्राष्ट्रिय संघसस्थादेखि छिमेकी देशहरूले राहत सामग्री सहयोग गर्दै आएका छन्। नेपालले पनि २७ टन बराबरको राहत सामग्री म्यानमारलाई सहयोग गरेको छ।
बुधबार राति नेपाल वायुसेवा निगमको चार्टर्ड विमान राहत सामग्री पुर्याएर फर्किएको छ।
परराष्ट्र मन्त्रालयका दक्षित एसिया डिभिजन प्रमुख तपस अधिकारीसहित १६ सदस्यीय प्रतिनिधि मण्डल राहत सामग्री हस्तान्तरण गरेर फर्किएको हो।
भिडिओ: