ललितपुरको ग्वार्को ओभरपासका केही भागमा प्राविधिक समस्या देखिएर भत्काउनुपरेपछि दुई वर्षदेखि निर्माणाधीन यो संरचना कहिले पूरा होला भन्ने प्रश्न उठेको छ। म्याद थप्दा पनि अहिलेसम्म ८२ प्रतिशत मात्र काम सकिएको छ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीले भत्काउनुपरेको भागमा दुई सातादेखि पुनर्निर्माण भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार र्याम्पको माटो कम्प्रेसनमा समस्या देखिएकाले भत्काउनुपरेको हो।
हामीले यो भनेको के हो र यस्तो समस्या कसरी आयो भनेर केन्द्रका सिनियर डिभिजन इञ्जिनियर पुजन गिरीसँग कुरा गरेका छौं।
उनले ग्वार्को ओभरपास कालो माटोमाथि निर्माण भइरहेको र यस्तो माटोको भारवहन क्षमता कम हुने बताए। यसका लागि भारवहन क्षमता बढाउन माटो दबाउने काम गर्नुपर्छ।
ग्वार्को ओभरपासमा उत्तरतर्फ (ग्वार्को-बालकुमारी) ३२० मिटर र दक्षिणतर्फ (ग्वार्को-सातदोबाटो) १८० मिटरको र्याम्प निर्माण भइरहेको छ। उत्तरतर्फ लामो र्याम्प उठाउँदा माटो समान रूपले दबिएकाले संरचनामा असर नपरेको उनले बताए। दक्षिणतर्फको छोटो र्याम्पमा भने माटो असमान रूपले दबिँदा समस्या आएको उनको भनाइ छ।
उनका अनुसार ग्वार्कोबाट दक्षिणतर्फ माटोको विविधताका कारण असमान रूपमा दबिएको हो।
'ओभरपासमा भइरहेको निर्माण कार्य नियमित अनुगमन गर्दा दक्षिणी र्याम्पको प्रि-कास्ट प्यानल जोइन्ट ग्याप बढेको पाइयो। हामीले निर्माण व्यवसायीलाई पत्राचार गरेर यो समस्या सल्टाउन निर्देशन दियौं,' गिरीले भने, 'उनीहरूले आफ्नै खर्चमा पुनर्निर्माण सुरू गरेका छन्।'
पुनर्निर्माण क्रममा सबभन्दा पहिला तीन मिटर माटो भरिएको थियो। त्यसपछि माटो दबिँदै जाओस् भनेर छाडिएको थियो। माटो दबिने क्रम रोकिएपछि पुनर्निर्माण सुरू गरिएको उनले बताए।
ग्वार्को ओभरपास 'मेकानिकल्ली स्टेभलाइज्ड अर्थ वाल' प्रविधिअनुसार निर्माण गरिएको हो। यसमा माटो भरेर जमिनको सतहभन्दा माथि उठाइन्छ। भरेको माटो अडाउन प्रि-कास्ट प्यानल राखेर बाँधिन्छ।
यो संरचनाको ठेक्का आशिष समानान्तर रेलिगेयर जेभीले २०७८ फागुन ११ गते पाएको थियो। लागत १७ करोड ६ लाख रूपैयाँ हो। निर्माण २०७९ मंसिर १६ बाट सुरू भयो।
जुन मोडलमा यो ओभरपास निर्माण भइरहेको छ, त्यसअनुसार लागत बढेको अवस्थामा ठेकेदार नै जिम्मेवार हुनुपर्छ। तोकिएको अवधिमा काम नसकिए निर्माण कम्पनीलाई हर्जना तिराएर काम लगाउने व्यवस्था छ।
यही व्यवस्थाअनुसार पुस ८ गतेसम्म म्याद थपिएको थियो। म्याद गुज्रिँदा पनि निर्माण पूरा नभएपछि कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जाना तिरेर काम गरिरहेको छ।
अब कहिले सकिएला त यो काम?
हाम्रो यो प्रश्नमा सडक विभागका निर्देशक बराहीले भने, 'वैशाख मसान्तसम्म निर्माण सकिन्छ। त्यसपछि फिनिसिङ लगायतका काम बर्खा सुरू हुनुअघि नै सक्ने योजना छ।'
ग्वार्कोमा बनिरहेको ओभरपासमा पिलर छैन। ग्वार्को चोकबाट बिएन्डबी अस्पतालसम्म १८५ मिटरको लामो स्लोप बनाइएको छ। त्यस्तै, बालकुमारीतर्फ ३२० मिटरको अर्को स्लोप छ। यसबीच ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडाइ १६ मिटर हुनेछ। बीचको लेनमा ओभरपास रहे पनि दायाँबायाँका सर्भिस लेन हालकै अवस्थामा रहने छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास गरिएको छ।
हेर्नुहोस् भिडिओः