पोखरामा डेरा गरेर बस्ने कमलेस कुमार गत फागुन ३ गते पक्राउ परे। ६ दिन प्रहरी हिरासतमा बसेर छुटेका उनी अहिले दैनिक जिल्ला प्रशासन कार्यालय कास्की जान्छन्। हाजिर गरेर कोठा फर्किन्छन्।
हाजिरी जमानीमा छुटेका कमलेसलाई अहिले केही काम गर्ने जाँगर छैन। सरकारी गिरफ्तारीमा पर्नुअघि उनी बेलुनमा हाइड्रोजन ग्यास भरेर बेच्थे।
फागुन ३ गते पोखरा भ्रमण वर्ष घोषणा सभामा आयोजकले बेलुन उडाउने भनेका थिए। सोही अनुसार कमलेसले २५० वटा बेलुनका दुइटा झुप्पा बनाएर कार्यक्रममा दिए।
उद्घाटन क्रममा स्पार्किङ मेसिनबाट उडिरहेको आगोको झिल्का बेलुनमा पर्यो र बिस्फोट भयो। त्यति बेला कमलेस त्यहाँ थिएनन्। घटनाबारे थाहा पाएपछि दौडिएर पुगे। उनी पुग्दा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पताल लगिसकिएको थियो।
प्रहरीले सोही दिन साँझ कार्यक्रमका आयोजक तथा व्यवस्थापकसँग सोधपुछ थाल्यो। कमलेस पनि साइकल चढेर बैदामस्थित वडा प्रहरी कार्यालय पुगे। प्रहरीले सबैको बयान लिएर छाडिदियो। कमलेसलाई भने हिरासतमा राख्यो। भोलिपल्ट बैदाम प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय पठायो। अनि उनीमाथि अभद्र व्यवहार मुद्दा लगायो।
उक्त आरोपमा ६ दिन सरकारी हिरासतमा बसेका उनको मुद्दा टुंगिएको छैन। त्यसैले दिनदिनै सिडिओ कार्यालयमा हाजिर भइरहेका छन्।
भारतीय नागरिक कमलेसको मुद्दाबारे हामीले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेलाई सोध्यौं।
उनले यो घटना अनुसन्धानकै क्रममा रहेको बताए। अनुसन्धान अधिकृतले कानुन अनुसार हिरासतमा राख्न म्याद थप गरे पनि अरू कुन कुन कानुन आकर्षित हुन्छ भनेर हेर्न बाँकी रहेको उनले बताए।
'उहाँले अनुमति नलिइ बेलुन बनाउने र बेच्ने गरेको त देखियो,' सिडिओ पाण्डेले भने, 'कुन कानुन अनुसार अनुसन्धान अघि बढाउने भन्ने अनुसन्धान अधिकृतले जान्ने कुरा हो।'
घटनाबारे छानबिन गर्न सरकारले सिडिओ पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। छानबिन प्रक्रिया जारी भएकाले कमलेसलाई हाजिरी जमानीमा राखिएको उनले बताए।
'घटना भएपछि अब इस्यु त उठ्यो नि! कानुनी आधार पनि हेर्नुपर्यो,' सिडिओ पाण्डेले भने, 'हामीले कमलेसलाई सम्पर्कमा राखेको मात्र हो।'
यसबारे हामीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि सोध्यौं। सूचना अधिकारी डिएसपी वसन्त शर्माले बेलुन बिस्फोट घटना हुँदा आफू बिदामा रहेको बताए। कार्यालय फर्किएपछि कमलेसलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको र उनी हाजिरी जमानीमा छुटिसकेकाले यो विषयमा अब प्रहरीको काम बाँकी नरहेको उनले बताए।
'कमलेस कुमारलाई सार्वजनिक मुद्दा लगाइएको थियो। म बिदा सकिएर आएपछि यसरी हुँदैन भनेर प्रशासनमा बुझायौं,' डिएसपी शर्माले भने, 'प्रशासनबाट हाजिरी जमानीमा रिहा भइसकेका छन्। यो विषयमा अब मलाई थप जानकारी छैन।'
४१ वर्षीय कमलेस पोखराको औद्योगिक क्षेत्रमा टिनले छाएको एउटा सानो कोठामा केही साथीहरूसँग बस्छन्।

उनको घर भारतको बिहार हो। उनी वर्षमा सात महिना नेपाल बस्छन्। बाँकी समय खेती गर्न घर जान्छन्।
धान रोप्ने बेला गएर उनी नेपाल आउँछन्। फेरि धान भित्र्याउने बेला जान्छन्। यसरी नै गहुँ रोप्ने र भित्र्याउने बेला पनि घर जान्छन्। आफूले खेती गर्ने जमिन भने अर्काको भएको उनले बताए।
'अरूको जग्गा लिएर धान, गहुँ रोप्छौं। वर्षमा सात महिना नेपाल बस्छु, बाँकी समय खेती गर्न घर जान्छु,' कमलेसले सेतोपाटीसँग भने, 'नेपाल बस्न थालेको लगभग १८ वर्ष भइसक्यो।'
कमलेस पहिलो पटक १६ वर्षको उमेरमा दाजु नाता पर्ने एक जना व्यक्तिसँग पोखरा आएका थिए। पाँच कक्षा मात्र पढेर आएका उनले त्यति बेला घरघरमा रङ लगाउने काम गरे। चार वर्ष रङको काम गरेपछि उनी बरफ बेच्न थाले। अहिले पनि गर्मीयाममा बरफ नै बेच्छन्।
'गर्मीका बेला बरफ बेच्छु, जाडोमा बेलुन बेच्छु,' उनले भने, 'बेलुनमा हाइड्रोजन भरेर बेच्न थालेको १५ वर्ष भइसक्यो। यस्तो बेलुन बेच्दा आगोबाट जोगाउनू है भन्छु।'
उनी आफैले पनि हाइड्रोजन उत्पादन गरेको बताए। हाइड्रोजन बनाएर बेलुनमा भर्न उनलाई नेपाली साथीले सिकाएका थिए। ती साथीमध्ये केही अहिले काठमाडौंमा त कोही अरू सहरमा भएको उनले बताए।
साथीहरूले सिकाए अनुसार हाइड्रोजन बनाएर उनी सिलिन्डरमा भर्थे। सो सिलिन्डर खाना पकाउने ग्यासको सिलिन्डर काटेर बनाइएको हो। अहिले उनीसँग त्यो सिलिन्डर छैन। सबै सामान प्रहरीले उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशमा बुझाइदिएको छ। निर्देशनालयले कमलेसलाई आफ्नो व्यवसाय एक महिनाभित्र दर्ता गर्न लिखित निर्देशन दिएको छ।
कमलेस व्यवसाय दर्ता गरेर चलाउन तयार छन्। बेलुनमा हाइड्रोजनका सट्टा अरू सामान्य र खतरा नरहेका ग्यास भर्न पनि तयार छन्। तर अरू सामान्य ग्यास भर्दा बेलुन हावामा उड्दैन। हावामा उडाउन हाइड्रोजनको साटो हिलियम ग्यास बनाउने उपाय उनलाई थाहा छैन।
'पम्पबाट अरू हावा भरेर पनि बेलुन बेच्न सकिन्छ तर उड्दैन। जेबाट उड्छ, त्यो मलाई बनाउन आउँदैन,' उनले भने, 'त्यसैले सरकारले हाइड्रोजन ग्यास भर्न पाइँदैन भन्यो भने म बनाउन छोडिदिन्छु।'
बेलुन बेच्दा कमलेसले महिनामा २० देखि २५ हजार रूपैयाँ कमाउँथे। बरफ बेच्दा १० हजार रूपैयाँ मात्र हुन्छ। कुनै महिना त त्यति पनि हुँदैन।
भाडा र खानाको पैसा उनले साथीहरूसँग बाँडिचुँडी गरेका छन्। बिहारमा उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। श्रीमती खेती गर्छिन्, छोराछोरी स्कुल पढ्छन्।
'मेरो घरतिर त अरू कुनै रोजगारीका लागि आफ्नो कोही मान्छे ठूलो ठाउँमा हुनुपर्छ। मेरो कोही मान्छे छैन। त्यसैले नेपाल आएको थिएँ,' कमलेसले भने, 'तर हामी काम गरेर खाने मान्छेलाई कसैले पनि नहेर्ने रहेछ।'