प्यूठानमा भएको दम्पतीको हत्या प्रकरणमा सूचना दिने व्यक्ति नै पक्राउ परेको खुलेको छ।
शनिबार मध्यान्ह माण्डवी गाउँपालिका–२ रातामाटे ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनीहरूको हत्या गरेको अभियोगमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको हो।
घटनाको अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालले हत्याको सूचना दिने व्यक्ति नै पंकज भएको बताए।
‘जसले हामीलाई सबैभन्दा पहिला घटना शंकास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो,’ डिएसपी बस्यालले भने। पंकजको घर मृतकको घर भन्दा ६० मिटरको दुरीमा छ।
पक्राउ परेका पंकजले हत्या गरेको पनि स्वीकारिसकेका छन्।
‘पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेका छन्,’ डिएसपी बस्यालले भने, ‘आफूलाई अंकल अण्टीले सँधै गाली गर्ने र नराम्रो मान्ने हुँदा हत्या गरेको हुँ भनेका छन्।’
घटना भएदेखि नै प्रहरीले पंकजसहित ५/६ जनालाई उच्च निगरानीमा राखेको थियो। तर, आइतबार दिउँसो १२ बजेपछि विभिन्न विश्लेषण गर्दा प्रहरी पंकजमा मात्रै केन्द्रित बनेको थियो।
प्रहरीलाई उनले दिएका विभिन्न खाले बयान नै उनीमाथि शंका लाग्नुको कारण बन्न पुगेको थियो।
‘उसले कहिले राति ११ बजे सुत्न गएँ, कहिले ६ बजे र कहिले ८ बजे सुत्न गए भन्ने जस्ता कुराहरू गरिरहेका थिए। हामी आइतबार मध्यान्ह १२ बजेपछि उसैमा केन्द्रित भएका थियौं,’ डिएसपी बस्यालले भने, ‘शंकै शंकामा क्रस प्रश्नहरू गर्दै गर्दा उनले घटनाबारे स्वीकारे।’
पक्राउ परेका पंकज कतै भागेका पनि थिएनन्। मृतक काका-काकीले सँधै गाली गर्ने, घर नआउन भन्ने, विवाह गर्न नसकेको जस्ता विभिन्न कुराहरू गरेकाले त्यसैको रिसमा हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्। हत्या गर्न प्रयोग भएको घन प्रहरी घटनास्थलभन्दा ५० मिटर दक्षिण बारीमा फेला पारेको थियो।
डिएसपी बस्यालका अनुसार मृतक रामबहादुर मिस्त्रीको काम गर्थे। त्यही भएर उनको घरमा घन हुन्थ्यो।
शुक्रबार राति साढे १० बजेतिर अत्यधिक मदिरा सेवन गरी हत्या योजनाका साथ पंकज आफ्नो काकाको घरमा गएका थिए। घरको दोस्रो तलामा रहेको झ्यालबाट प्रवेश गरेका थिए। त्यहाँबाट भुइँ तलामा ओर्लिएका उनले दुवै जनालाई पालैपालो गरी घनले हिर्काएर हत्या गरेको बताएका छन्।
हत्यापछि काकी हुकुमाको पटुकामा रहेको २२० रुपैयाँ पनि झिकेर लगेका थिए।
त्यसमध्ये दुई सय रुपैयाँ खर्च गरिसकेको र २० रुपैयाँ घरमा रहेको पाइन्टको गोजीमै रहेको प्रहरीले जनाएको छ।