बर्दियाको ठाकुरबाबा नगरपालिका-१ की ५१ वर्षीया राधा बोहराको हत्या भएको एक हप्ता बितिसक्दा पनि आरोपी पक्राउ पर्न सकेका छैनन्।
उनी गत आइतबार घर भित्र मृत फेला परेकी थिइन्। प्रहरीको अनुसन्धानबाट उनको घाँटी कसेर हत्या भएको खुलेको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार राधाको हत्यापछि हत्यारा बाहिरबाट ताल्चा लगाएर फरार भएका थिए।
‘राधाको हत्या पछि कोठा भित्रै खामोमा बाँधेर राखेको अवस्थामा थियो। कोठा बाहिरबाट ताल्चा लगाएर आरोपी फरार भएका छन्,’ एसपी खनालले भने।
राधाको शव गत आइतबार फेला परेको भएपनि हत्या त्यो भन्दा अगावै भएको हुनसक्ने प्रहरीको विश्लेषण छ। राधालाई नदेखेपछि छिमेकी उनको घरमा पुगेका थिए। राधालाई त्यस बिहान स्थानीयले बोलाए, तर जवाफ फर्काएनन्।
घर भित्र झ्यालबाट चिहाएर हेर्दा धुरीखाँबोमा बाँधिकएको अवस्थामा उनको शव देखिएपछि तत्काल प्रहरीलाई खबर भएको थियो। त्यसपछि अनुसन्धानको टोली चिकित्सकसहित पुगेको थियो।
घटनास्थलमा पुगेका चिकित्सकले पनि राधाको हत्या घाँटी कसेर भएको बताएका थिए। पोष्टमर्टम रिपोर्टले त्यसलाई पुष्टि गरेको एसपी खनालले बताए।
घटनास्थलमा खटिएका चिकित्सकले हत्या झन्डै ५० घण्टा पहिल्यै भएको हुनसक्ने पनि बताएका थिए। तर यसबारे यकिन भइसकेको छैन।
प्रहरीले तालिमप्राप्त कुकुर पनि झिकाएर अनुसन्धान गरेको थियो। तर परिणामा निस्केन। प्रहरीले हप्तादिन बित्दा पनि कुनै क्लू भने फेला परेको छैन।
‘पछिल्लो समय हामीले प्राविधिक रूपमा पनि विश्लेषण गरेका छौं। नजिकैका आफन्तहरूसँग पनि सोधपुछ गरेर अनुसन्धान गरिरहेका छौं,’ एसपी खनालले भने, ‘स्पष्ट क्लू फेला नपरेको भए पनि हामी अब छिट्टै हत्यारा नजिक पुग्ने छौं।’
राधा एउटा कटेरो भाडामा लिएर एक्लै बस्थिन्। त्यहाँ रक्सी बनाउने र बेच्ने काम गर्दै आएकी थिइन्।
त्यस कटेरो नजिकै उनकी दिदी र भिनाजु पनि बस्दै आएका छन्।
राधाको हत्या कसले र के कारणले गरेको हुनसक्छ भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
सम्पत्ति प्राप्तिका लागि हत्या भएको हो कि भनेर पनि प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनास्थलबाट एउटा सानो सुनको मुन्द्री फेला पारेको छ। उनका आफन्तले राधाले अरू पनि गरगहना लगाउने गरेको प्रहरीलाई बताएका छन्।
‘राधाले लगाउँदै आएको भनिएका कानका अन्य गरगहनाहरू फेला परेका छैनन्,’ एसपी खनालले भने, ‘तर गहना लैजान कान लुछेको वा जोर जबरजस्ती थुतेर लगेको त्यस्तो घाउ खत वा संकेत थिएनन्।ती गरगहनाका साथै राधाको आफ्नै नाममा केही जग्गा पनि रहेको खुलेको छ। एक्ली छोरी अमेरिकामा रहेको हुँदा पनि सम्पत्तिका लागि भएको हुनसक्ने हाम्रो अनुमान छ।’
जीविकोपार्जनका लागि गाउँमा रक्सी उत्पादन गरी बिक्री गर्दै आएकी राधाको हत्याको कारणसहित आरोपी छिट्टै सार्वजनिक गर्ने उनले बताए।