माघ ३० गते सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ भवगतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन्।
उनी झुण्डिएको अवस्थामा फेला परेसँगै उनका परिवारले इलाका प्रहरी कार्यालय लहानमा 'आत्महत्या दुरूत्साहन' मा रूपेश मन्डलविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीले त्यसैमा जाहेरी दर्ता गर्यो र शव पोष्टमर्टमका लागि लहान अस्पताल पठाएको थियो।
त्यतिञ्जेलसम्म रिंकुमाथि भएका घटनाहरू कतै पनि सार्वजनिक भएका थिएनन्। एकाएक सञ्चार माध्यममा उनीमाथि सामूहिक बलात्कार भएको र पञ्चायत बसेर मिलाउन खोजेको समाचार आयो।
त्यसपछि यस घटनाले अर्को रूप लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवान बताउँछन्।
'प्रहरीले सोधपुछ गर्दा केही भनेका थिएनन्,' उनले भने, 'अहिले घटनाले अर्कै रूप लियो।'
त्यहीकारण रिंकु मृत फेला परेको घटना छानबिन गर्न मधेस प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा सोमबार छानबिन समिति बनाइएको छ।
एसएसपी कोइरालाका अनुसार रिंकुकुमारीमाथि तीन जनाले बलात्कार गरेको परिवारको आरोप छ। त्यसबारे पुष्टि हुन बाँकी छ। तर उनीमाथिको घटना मिलाउन आर्थिक लेनदेन अर्थात् पैसाको बार्गेनिङ भएको भने पुष्टि भएको छ।
'पञ्चायत बसेर पैसाको बार्गेनिङ भएको प्रहरी अनुसन्धानमा देखिएको छ,' उनले भने, 'विस्तृत अनुसन्धान भइरहेको छ।'
घटना के हो ?
माघ २७ गते रातको साढे ९ बजेतिर रिंकुकुमारी शौचालयकझ लागि बाहिर निस्किएकी थिइन्। धेरैबेरसम्म नफर्किएपछि घरपरिवारले खोजतलास गर्यो। रातको १२ बजेसम्म रिंकुकुमारी कतै भेटिइनन्।
बिहान सबेरैदेखि पुन: खोजतलास गर्ने परिवारले सोचेका थिए। तर मनले नमानेपछि उनीहरूले फोनबाट उनको अवस्था बुझ्ने, जानसक्ने सम्भावित ठाउँमा खोजखबर गर्ने काम गरे।
२८ गते बिहानपख अर्थात् ३ बजे रिंकु घरमा आइपुगेको उनका ठूलोबुबा रामसेवक सदाय बताउँछन्।
'उनी घरमा आइपुग्दा शरीरभरि माटो र विछिप्त अवस्थामा आइपुगेकी थिइन्,' उनकी आमा सीता सदायले रामसेवकलाई भनेकी थिइन्- 'छोरीलाई तीन जना युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर बलात्कार गरेर राति घर अगाडि ल्याएर छोडिदियो भनिरहेको छे।'
आफूले यो कुरा सुनेपछि गाउँका अन्य व्यक्तिलाई पनि यसबारेमा खबर गरेको उनी बताउँछन्। उनका दाजु अर्थात् सीताका श्रीमान भने रोजगारीका लागि भारतमा थिए। त्यसैले यसबारेमा आफूले नै गाउँका अगुवाहरूलाई सुनाएको उनले बताए।
उनका अनुसार माघ २८ गते गाउँभरी हल्ला भयो। यसबारे वडा सदस्य नठुनी साहले गाउँमा पञ्चायत बोलाउने सल्लाह दिइन्। त्यही अनुसार २९ गते वडा सदस्य नठुनी साह, स्थानीय अगुवा रामपुकार मण्डल, रामप्रित साह लगायतले पञ्चायत डाके। उनीहरू पनि गए।
उक्त पञ्चायतमा रूपेश मन्डलका परिवार पनि उपस्थित भएका थिए। रिंकुले आमालाई भनेकै कुरा त्यहाँ पनि भनेपछि पैसा दिएर मिलाउने कुरा भएको रामसेवक बताउँछन्।
'रूपेश मन्डलका परिवारले १ लाख ५० हजार तिर्नुपर्ने पञ्चायतको कुरा थियो। त्यसमा रूपेशका बुवाले धेरै भयो भनेपछि १० हजार रूपैयाँ घटाइएको हो,' रामसेवक भन्छन्, 'माघ ३० गते पुन: रूपेशका बुबाले पञ्चायत बोलाएर आफू एक्लैले १ लाख ४० हजार नदिने भनेपछि विवाद भयो।'
पीडकले एक्लै पैसा दिन नसक्ने बताएपछि पञ्चहरूबीच नै विवाद भयो। पीडितले पैसा पाउने भएपछि त्यही पैसा पनि भागबन्डा गर्न धम्की दिएको रामसेवकको आरोप छ।
यस्तै, विवाद चलिरहँदा ३० गते रिंकुकुमारीलाई घर कुर्न राखेर साँझ सीतादेवी बजार गएकी थिइन्। उनीहरूको घर अलि एकान्त ठाउँमा छ। मुसहर बस्तीबाट अलि कोल्टे परेको ठाउँमा परेकाले आमा सीता बजारबाट छिट्टै फर्किइन्।
'घरमा आइपुग्दा छोरी झुण्डिरहेको अवस्थामा देखेर हामीलाई बोलाउनु भयो,' रामसेवकले भने, 'सुरूमा उहाँले नै देख्नुभयो र हामीलाई बोलाउनु भएको हो।'
उनका अनुसार पहिलोपल्ट छोरी झुण्डिएको अवस्थामा देख्दा साढे ६ भएको थियो। उनले पनि रिंकुकुमारी झुण्डिएको दृश्यलाई राम्ररी नियालेको दाबी गर्छन्।
उनले हेर्दा रिंकुकुमारीको शरीरभरी माटैमाटो लतपतिएको थियो। कपाल असरल्ल थियो। झट्ट हेर्दा कसैले भुइँमा मारेर झुण्ड्याएजस्तो देखिएको रामसेवक बताउँछन्।
छोरी झुण्डिएको देखेपछि बुहारी (सीता) बेहोस भइन्। त्यसैले आफूले नै वडाध्यक्षलाई फोन गरेर प्रहरीलाई बोलाउन भनेको उनी बताउँछन्।
वडाध्यक्ष नविनकुमार यादवले पनि रामसेवकले फोन गरेर रिंकुकुमारी झुण्डिएको अवस्थामा फेला परेको जानकारी पाएसँगै प्रहरीलाई खबर गरिदिएको स्वीकार गर्छन्।
'रिंकुकुमारीको मृत्युपछि मात्र मैले घटनाबारे थाहा पाएको हो, त्यसअघिका कुराहरू मलाई थाहा भएन,' उनले भने, 'पञ्चायत बसेर केटाकेटीबीच मेलमिलाप भयो रे भनेको चाहिँ कार्यालयमा सुनेको थिएँ। मिलिसकेको केस भएकाले चासो दिइनँ।'
वडाभित्र ६ वटा गाउँ छ। यसरी पञ्चायत बस्ने चलन खासै छैन। तर भवगतीपुरमा बसेको भन्ने कुरा आफूले पछि थाहा पाएको वडाध्यक्ष यादवले बताए।
वडासदस्य नठुनी पञ्चायतमा बसेको भनेर हल्ला सुनेको वडाध्यक्ष यादव बताउँछन्।
रामसेवक भने वडासदस्य नठुनी उपस्थित भएको दाबी गर्छन्। यस्तो जघन्य घटनामा कानुनी कारबाही अगाडि बढाउनुपर्नेमा उनकै संलग्नतामा पञ्चायत बसेर मेलमिलाप गर्न खोजिएको नठुनीमाथि आरोप छ। उनी भने अहिले फरार छिन्।
रिंकुमाथिको बलात्कारको घटनामा आर्थिक लेनदेनको विषयमा पञ्चायतमै विवाद भइरहँदा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
मृत्युपश्चात् फागुन १ गते सीतादेवी र रामसेवक इलाका प्रहरी कार्यालय पुगेका थिए। उनीहरूले त्यहाँ छोरीमाथि बलात्कार गरेका भनिएका तीन युवकमाथि कारबाही हुनुपर्ने भन्दै सीताले जाहेरी दिन थालेकी थिइन्।
जाहेरी दिँदै गर्दा मुद्दा फाँटमा बसेका एक प्रहरीले धेरै जनाविरूद्ध जाहेरी दिन नहुने बताएपछि सच्चाइएको रामसेवक बताउँछन्।
'दुई–तीनपल्ट सच्चाएर रूपेशविरूद्ध मात्र जाहेरी दिएको हो,' रामसेवकले भने, 'रूपेशसँगै पैसा मागेका युवकविरूद्ध पनि कानुनी कारबाही हुनुपर्ने माग राख्यौं।'
बुहारी र आफू दुवै जनाले त्यहाँका प्रहरी तथा अगुवाहरूले जे-जे भने त्यही अनुसारको जाहेरी दिइएको रामसेवकले बताए। त्यसमा उनीहरूले नै आत्महत्या दुरूत्साहन लेख्न लगाएको पीडित पक्षको आरोप छ।
'आफूहरूलाई पढ्नलेख्न नआउने भएकाले उनीहरूले जे-जे भने त्यही लेख्यौं,' रामसेवकले भने, 'त्यसमा के–के लेखियो भनेर पढेर सुनाइएको थिएन।'
डिएसपी पासवानका अनुसार पीडित पक्षले दिएको जाहेरीमा छोरीलाई विवाह गर्न भनेर २७ गते लगेको तर जातको कारण फर्काइएकाले झुण्डिएर मृत्यु भएको भनिएको छ।
तर यसबारे आफूहरूलाई जानकारी नभएको रामसेवक बताउँछन्।
प्रहरीले पनि आत्महत्या दुरूत्साहनको मुद्दामा अनुसन्धान गरिरहेको थियो। तर सञ्चार माध्यमा समाचार आएपछि बलात्कार मुद्दामा पनि प्रहरीको ध्यान गयो।
डिएसपी पासवानका अनुसार सञ्चार माध्यममा उनीमाथि सामूहिक बलात्कार भएको कुरा बाहिर आएपछि प्रहरी घटनास्थलमा पुगेर सोधपुछ गर्नेकाम भइरहेको छ। उनकी आमा अस्पतालमा भएकाले उनीसँग कुरा हुन सकेको छैन।
'रिंकुकुमारीले बलात्कार भएको घटना आमालाई नै बताएको हुँदा उनको बयान महत्त्वपूर्ण छ। उनकी आमा सीतादेवीसँग कुरा गर्ने तयारी गरिरहेका छौं,' डिएसपी पासवानले भने, 'पोस्टमर्टम रिपोर्ट नआएकाले पनि कुनै ठोस कदम चाल्न सकेका छैनौं।'
रिंकुको शव पहिला जिल्ला अस्पताल लहानमा राखिएको थियो। पछि सामूहिक बलात्कारको कुरा आएपछि थप अनुसन्धान गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको हो। तर बुधबार बिहानसम्म रिपोर्ट नआएको डिएसपी पासवान बताउँछन्।
प्रहरीले जाहेरीमा तोडमोड गर्न खोजेको कुरामा पनि अनुसन्धान हुनेछ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पनि यसबारे मुद्दा उठेको थियो।
यस घटनाबारे चर्चा भएसँगै मधेस प्रहरी कार्यालयले सोमबार नै एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
एसएसपी कोइरालाकै नेतृत्वमा प्रहरी निरीक्षक, मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्य छन्। यस घटनालाई सूक्ष्म ढंगबाट अनुसन्धान अगाडि बढाइने एसएसपी कोइराला बताउँछन्।
'छानबिन समिति गठन हुनासाथ सोमबार नै हाम्रो टोली घटनास्थलमा पुगेका थियौं,' एसएसपी कोइरालाले भने, 'पोस्टमर्टम रिपोर्ट नआएको र आरोपितसँगै पञ्चायत गराउने सबै फरार रहेकाले अहिले सोधपुछको काम मात्र भइरहेको छ।'
पारिवार शोकाकुल अवस्थामा भएकाले उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्न सहज छैन। त्यसैले अहिले प्रमाण जुटाउने काम भइरहेको उनी बताउँछन्।
उनका अनुसार, माघ २९ गते पञ्चायत बसेर पैसाको बार्गेनिङ भएको भने पुष्टि भएको छ। तर उनीमाथि बलात्कार भएको हो कि होइन भनेर भन्न सकिने अवस्था छैन।
'रिंकुकुमारीको सप्तरीको केटासँग विवाह हुन आँटेको र रूपेशसँग भागेको भन्ने कुराहरू आइरहेका छन्,' एसएसपी कोइरालाले भने, 'रूपेशको परिवाससँग पैसा मागिएको विषयमा पनि अनुसन्धान गरिरहेका छौं।'
'रिंकुकुमारी र रूपेश प्रेमी भएको गाउँमा हल्ला रहेछ,' उनले भने।
पीडित पक्षबाट पनि 'बलात्कारपछि हत्या' गरिएको भन्दै मंगलबार इलाका प्रहरी कार्यालय लहान पुगेका छन्।
पहिलाकै जाहेरीमा घटना थप गर्ने वा नयाँ जाहेरी दिने भनेर सल्लाह भइरहेको रामसेवक बताउँछन्।
'आज पनि (बुधबार) इलाका प्रहरी कार्यालयमा जाँदैछौं,' रामसेवकले भने।
यस घटनामा घटनास्थलमा पुगेर बुझेका मुसहर संघका प्रवक्ता सुनिल सदा भन्छन्- 'योजनाबद्ध ढंगले हत्या गरिएको देखिएकाले हामी बलात्कार गरी हत्या गरेको जाहेरी दिन इलाका प्रहरी कार्यालय पुगेका छौं।'
प्रहरीले पहिलाकै जाहेरीमा थप गरेर ल्याउन भनेको उनले बताए। लेखनदासले पहिलाको जाहेरी नदिएपछि मंगलबार त्यसै फर्किनुपरेके र बुधबार पुन जाने उनले बताए।
नेपाल राष्ट्र मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाका पनि घटनास्थालमा पुगेका थिए। त्यहाँ प्रत्यक्षदर्शीहरूका अनुसार गाउँका पञ्च तथा जनप्रतिनिधिहरूको घटनालाई तोडमोड गर्न खोजेको आरोप लगाउँछन्।
उनका अनुसार बलात्कारपछि पैसाको बार्गेनिङ हुनु र त्यसपछि पीडितको मृत फेला पर्नुले झनै शंका बढाएको छ।
दलित जनकल्याण युवा क्लबकी सदस्य आशा विश्वकर्माले पनि बलात्कारपछि पैसा दिनुपर्ने भनिएकाले मृत्युको कारण त्यही भएको बताउँछिन्।