माघ ३० गते बुधबार दिउँसो साढे २ बजेको हुँदो हो।
४० वर्षीय प्रविन रिसाल ग्राहकका लागि चिया पकाउँदै थिए। रिसाल दम्पतीले ६ वर्षदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित काठमाडौं डेरी प्रालिको बिक्री कक्षसँगै जोडिएको सटरमा खाजाको पसल चलाउँछन्।
त्यो दिन पनि उनी चिया पकाउनै तल्लीन थिए।
एक्कासि सडकमा ’खोला’ उर्लिएको देखेपछि ग्राहकहरू आत्तिएछन्। उनीहरू कुर्सीमा चढ्न पुगेछन्।
त्यसपछि प्रविन पनि आत्तिएर पाखा लागे। पसलभित्र पानी छिर्न नदिन के गर्ने भनेर सोच्न नपाउँदै भल पसेको रिसाल बताउँछन्।
‘सुरूमा पानीको भेल सानै देखिएको थियो, एक्कासि पानी घुँडामाथिसम्म आयो,’ रिसालले भने, ‘कतै पानी नपरी बाढी आउँदा अलमल्लमा पो पर्यौं।’
हेर्दाहेर्दै भलको लेदोले पसलका सामानहरू डुबाउन थाल्यो। कोठामा आधाआधा पानी भरिइसकेको थियो। सामानहरू बचाउन सक्ने अवस्था थिएन्। उनले आफूलाई बचाउन लागे।
हतारमा उनले मोबाइलसमेत निकाल्न बिर्सेछन्।
भान्छाको र्याकमाथि फोन राखेका थिए। त्यो फोनसमेत पानीले बिग्रिएको उनी बताउँछन्।
फ्रिज, मिक्सर र काठका फर्निचर लगायत चिनी, चामलको बोरासमेतमा भलले क्षति पुर्यायो।
बुधबार मेलम्चीको पाइप फुट्दा निस्किएको भलले ३ लाख रूपैयाँभन्दा बढी क्षति पुर्याएको उनले बताए।
‘पसलभित्र पसेको माटो पन्छाउन चार दिन लाग्यो, यही पसल चलाएर चार जनाको पेट भरिएको थियो,’ उनले भने, ‘चारदिनपछि पसल खोलेँ तर सुनसान छ।’
उनले आइतबारदेखि पसल खोलेका हुन्।
लेदो पन्छाउँदा पनि बालुवा अझै पूर्ण रूपमा निख्रिइसकेको छैन। त्यसले गर्दा ग्राहकहरू आएका छैनन्। आफूहरूले पनि पाँचौं दिनदेखिमात्र पसलमा खाना बनाएर खान थालेको उनी बताउँछन्।
उनका अनुसार बाढी पसेपछि नजिककै होटेलमा गएर खाना खाइयो। फ्रिज बनाउनै ५ हजार रूपैयाँ लाग्यो। मिक्सरहरू अन्य फर्निचरका सामान बनाउनै बाँकी छ।
‘जति पखाले पनि बालुवा टाँस्सिइरहेको छ, पहिला चिया, खाजा खानेमान्छे फाट्टफुट्ट आउँथे,’ उनले भने, ‘बाढी पसेदेखि फोहोर हुन्छ भनेर ग्राहक आएका छैनन्।’
बुधबार बबरमहलमा मेलम्ची खानेपानीको पाँच सय एमएमको पाइप फुट्दा बाहिरिएको पानीले वरिपरि रहेका सरकारी र निजी भवन जलमग्न भएको थियो।
पाइप फुट्दा नजिकै रहेको काठमाडौं जिल्ला अदालत, वन विभाग परिसर, भित्री गल्ली र स्थानीयको घरसमेत डुबानमा परेको हो।
त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगन गर्न थालेको थियो। मेसिनको प्रयोग गरेर सडकमा प्वाल पार्ने र त्यसबाट तार छिराउने प्रविधिमा आधारित भएर उसले भूमिगत गर्न थालेको थियो।
सडक प्वाल पार्न प्रयोग हुने मेसिनले खानेपानीको पाइप बीचमै फुटाएको थियो। जसले गर्दा सडकसमेत भास्सियो।
चार फाँटमा क्षति पुगेपछि काठमाडौं जिल्ला अदालतले सूचना निकालेर केही इजलास केही दिन बन्द हुने जानकारी गराएको थियो। त्योबाहेक अन्य कुनै पनि क्षति भएको विवरण अहिलेसम्म स्थानीयतह वा अन्य कुनै निकायले सार्वजनिक गरेका छैनन्।
त्यही कारण मेलम्चीको पाइप फुट्दा आसपासका व्यवसायी र स्थानीयको अवस्थाबारे बुझ्न आइतबार बबरमहलको रेञ्जर भवनको अगाडि रहेको काठमाडौं डेरी प्रालिको बिक्री कक्ष आसपासका स्थानीयसँग हामीले कुराकानी गरेको छौं।
प्रविनकै पसल छेउमा नवराज श्रेष्ठले भुइँतलामा गाडीको पार्टपुर्जाहरूको गोदाम सञ्चालन गरिरहेका छन्। सडककै छेउमा भएकाले उनको गोदाम भित्र पनि लेदोसहितको भल छिर्यो।
‘पानी सडकैसडक मात्र बगेन। आसपासका घरभित्र पनि पस्यो,’ श्रेष्ठले भने, ‘काठमाडौं महानगरका कर्मचारीहरू आएका थिए। पहिला पानी ढलमा हाल्नतिरमात्रै ध्यान दिए।’
उनले पानी घरभित्र छिर्दै गर्दा रोक्न सकेनन्। गोदामको आधा सामान डुब्यो। त्यतिबेला सामान निकाल्ने तथा पानी फाल्नेतिर ध्यान नै गएन। पछि महानगरका कर्मचारीलाई भन्दा नटेरेको उनको आरोप छ।
‘महानगरका कर्मचारीहरूलाई भनेका थिएँ, यहाँको पानी तानेर फालिदिनु भनेर। उहाँहरूले पेट्रोल सकिएकाले तत्काल मेसिन चल्दैन, केहीबेरमा गरिदिन्छौं भने तर गरिदिएनन्,’ उनले भने।
उनका अनुसार बुधबार साँझसम्म कोठामा पसेको पानी फाल्न पाएको भए कम क्षति हुन्थ्यो, बिहीबार मात्र पानी फालेकाले लाखौं रूपैयाँको नोक्सानी व्यहोर्नु परेको उनी बताउँछन्।
सवारी साधनको पार्ट भएकाले कतिपय सामानमा पानी हाल्न नमिल्ने थिए। त्यसमा पानी पसेर खिया लागिसकेको छ। ती अब काम लाग्दैनन्।
सोमबारसम्म पनि सामान पन्छाइसकिएको छैन। त्यसैले अझै कति सामानमा क्षति पुगेको छ भनेर भन्न नसक्ने उनको भनाइ छ।
उनलाई गोदाममा पसेको लेदो फाल्न दुई दिन लाग्यो। मानवीय क्षति नभए पनि आर्थिक रूपमा ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए।
‘यसबारे वडाध्यक्षलाई जानकारी गराएको छु। कसलाई निवेदन दिने भनेर थाहा नभएकाले पनि बुझ्दैछु,’ श्रेष्ठले भने।
उनीहरूकै छिमेकी ५८ वर्षीय कमल सापकोटा भुइँतलामा भाडामा बस्दै आएका थिए। फ्लाइट नै भाडामा लिएर बसेका उनको भुइँमा ओछ्याइएको कार्पेटदेखि काठका फर्निचरहरू राखिएको आधा भाग बिग्रिएको छ।
आइतबार साँझसम्म उनीहरूको घरभित्र बसेको लेदोको अवशेष हटिसकेको थिएन। उनकी श्रीमती भिजेका ओछ्यान, खाट आदि घाममा सुकाउनै व्यस्त थिइन्।
सापकोटाका अनुसार चामल, दाललागयत लत्ताकपडा र खाटहरू भलले चुर्लुम्म डुबायो। खाद्यन्न र फर्निचर पानीले डुबाएर कामै नालग्ने भएको छ।
‘धनीहरूका लागि यी ससाना सामान केही नहोलान्, हामीले वर्षौं लगाएर जोडेका हौं,’ सापकोटाले भने, ‘यहीँको स्थानीय भएको भए वडाले हेर्थ्यो पनि होला। भाडामा बस्ने भएर कुनै वास्ता गरेन। हामी यहाँका मतदाता होइनौं!’
उनले पनि दुई÷तीन लाख रूपैयाँ बराबरको क्षति पुगेको बताए।
‘बाढी पसेको दिन वडाध्यक्ष हेर्न आउनुभएको थियो। केही समस्या परेका भन्नु भनेकाले आफ्ना समस्याहरू लेखेर निवेदन दिएका पनि थियौं,’ उनले भने।
वडा कार्यालयले निवेदन लिएको छ। केही काम परेमा बोलाउने भनिएको छ। उनी कुनै एक निजी कम्पनीमा काम गर्छन्। सापकोटाको श्रीमती घर सम्हाल्छिन्।
दुई छोराछोरी भने पढ्दैछन्। उनीहरूले दुई दिनसम्म किचेनको लेदो सफा गर्न समय लाग्यो। त्यतिञ्जेलसम्म उनीहरूले बाहिरी होटेलमा गएर खाना खाएको सापकोटाले जानकारी दिए।
यस्तो हुँदा पनि दोहोर् याएर वडाध्यक्ष वा अन्यकुनै पदाधिकारी फर्किएर पनि नआएको उनको आरोप छ।
५० वर्षीया सरस्वती अधिकारीलाई भने आफ्नो तीनवटा कोठाको लेदो पन्छाउन आइतबारसम्म लाग्यो। लत्ताकपडा, चामल, दाल र लेदोमाटोले गर्दा कार्पेटहरू फाल्नु परेको उनी बताउँछिन्।
‘कार्पेटबाहेक लत्ताकपडा र खाद्यन्नमात्र १२ बोरा नष्ट गर्नुपर्ने भएको छ,’ अधिकारीले भनिन्, ‘फोहोरको गाडीले लैजान्छ कि लग्दैन त्यो पनि थाहा छैन।’
शैक्षिक प्रमाणपत्रसमेत लेदोले नष्ट गरिदिएको उनले बताइन्।
दुई दिनसम्म लेदोले गर्दा कोठाभित्र छिर्नसक्ने अवस्था थिएन। भान्छाका सामानहरू पनि बिग्रिएकाले आफन्तको गएर खाना खाएको उनी बताउँछिन्।
उनीसहित ३ जना बस्दै आएको थिइन्। उनी भने चोकमा कस्मेटिक पसल चलाउँछिन्।
‘यतिधेरै क्षतिपुग्दा पनि वडाध्यक्ष के भयो भनेर बुझ्न आएका छैनन्, कोठा पन्छाइसकेपछि हामी वडा कार्यालय जाने तयारी गरिरहेका छौं,’ उनले भनिन्, ‘आज भर्खर कोठा सफा गरेर सकिएकाले कार्यालय जान पाइएन।’
उनी आफूहरूमाथि परेको विपद्मा वडाकार्यालयले खासै ध्यान दिएको आरोप लगाउँछिन्। उनीहरूको मात्र होइन्, त्यही आसपास ४० घरभन्दा बढी घरहरूमा क्षति पुगेको ५३ वर्षीय रामकुमार बस्नेत बताउँछन्।
उनी पनि खाजा पसल चलाउँछन्। उनको पसल भने अलि अग्लो ठाउँमा भएकाले कुनै पनि क्षति पुगेको छैन। तर आसपासका कोठामा बस्नेहरूको भने विजोग भएको उनले सुनाए।
‘धेरै घरहरू डुवानमा परेको थियो। तर त्यसको लेखाजोखा गर्न कोही आएका छैनन्,’ बस्नेतले भने, ‘वडाले भने केही क्षति पुगेको छैन भन्दै हिँडिरहेको छ भन्ने सुनिएको छ। तर धेरै डेरावालले सुत्न नपाएको कुरा कतै आएन।’
उनका अनुसार, धेरैजनाको घरभित्र पानी पसेकाले भुइँतलामा बस्नेहरूको खाद्यन्न, फर्निचर, लत्ताकपडा लगायतका सामानहरू नष्ट भएको छ। यसबारे स्थानीय सरकारले बुझ्नुपर्ने उनले बताए।
त्यहीँकी स्थानीय ३८ वर्षीय रोषनी लामा पनि अहिलेसम्म वडाले कति घरमा क्षति पुगेको छ भनेर तथ्यांक संकलन गर्न नआएको बताउँछिन्।
‘एकैछिन पाइप फुटेर ३०/४० घरभित्र पानी पस्यो। डेरामा बस्ने वा व्यवसायीको सामान बिग्रिएको छ,’ उनले भनिन्, ‘आर्थिक स्रोत राम्रो भएकाले सरकारले नहेरे पनि ज्याला गरेर खाने परिवारलाई सरकारले सहयोग गर्नुपर्छ।’
उनी कोठामा बस्ने र ठूलो क्षति पुगेकालाई वडाले सहयोग गर्नुपर्ने धारण व्यक्त गर्छिन्।
यसबारे हामीले वडाध्यक्षलाई पनि सोध्यौं।
वडाध्यक्ष हिरालाल तन्डुकारले केही घरभित्र पानी पसे पनि ठूलो क्षति नपुगेको बताउँछन्।
‘पानी पस्दा अलिअलि समस्या भएको हो। त्यति धेरै क्षति भएको छैन,’ वडाध्यक्ष तन्डुकारले भने, ‘खाद्यन्न नष्ट भएकाहरूलाई निवेदन दिन आउनु भनेको छु। अहिलेसम्म एकजना मात्र आउनुभएको छ।’
त्यो निवेदन मेलम्ची खानेपानी विकास समितिमा पठाइएको वडाध्यक्ष तन्डुकार बताउँछन्।
उनका अनुसार वडा कार्यालयका पदाधिकारीहरू तीन/चार पल्ट गएर अवलोकनमा गरेका थिए। पानी घरभित्र पसे पनि ठूलो क्षति कतै भएको देखिएन।
वडाकार्यालयका सदस्य सरोजकुमार मुल्मीले भने मेलम्चीको पाइप फुट्दा लगभग ४० भन्दा बढीघरहरू प्रभावित भएको देखिएका बताए।
त्यसको तथ्यांक वडाले निकालेको छैन।
बाढीले प्रभावित भएको पाँचौं दिनसम्म पनि स्थानीयसरकारले चासो नदेखाएको स्थानीयको गुनासो छ। भाडामा बस्दै आएकी २८ वर्षीय तारा काफ्लेको कोठा पनि डुबानमा परेको थियो। तर अहिलेसम्म कुनैपनि व्यक्ति समस्याबारे सोधपुछ गर्न नआएको उनी बताउँछिन्।
‘कोठामा बस्ने मानिसहरू धेरै भएकाले होला हामीलाई वास्ता गरिएकै छैन,’ उनले पनि यही गुनासो गरिन्।