दाङमा प्रहरीले एक जना लागुऔषधका डिलरलाई पक्राउ गरेको छ।
विशेषगरी तुलसीपुर क्षेत्रमा ब्राउन सुगर बिक्री गर्दै आएका डिलरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिए।
सल्यानको बागचौर नगरपालिका–२ घर भई तुलसीपुर बस्दै आएका २७ वर्षीय प्रविण सुनार पक्राउ परेका हुन्।
उनलाई पक्राउ गर्नुपूर्व प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
माघ १२ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६ का २१ वर्षीय सन्तोष विक ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनीबाट प्रहरीले १२० मिलिग्राम ब्राउन सुगर बरामद गर्यो।
विकमाथि नै सोधपुछ गरेर प्रहरीले माघ १३ गते तुलसीपुर–५ ज्योतिनगर टोलका २१ वर्षीय पूर्णबहादुर बाँठा मगरलाई १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर र ४२ हजार ७ सय रुपैयाँसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको थियो।
त्यसपछि मात्रै प्रहरीले सुनारलाई पक्राउ गर्न सकेको हो। उनीबाट प्रहरीले ५ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र एक लाख २४ हजार ३९५ रुपैयाँ बरामद गरेको हो।
केही समययता सुनारले ब्राउन सुगर भारतबाट किनेर तुलसीपुरमा बेच्ने गर्दै आएका थिए।
‘अनुसन्धानमा आधा दर्जन बढीले सुनारको नाम पोल्दै आएका थिए,’ डिएसपी ठकुरीले भने, ‘पच्छ्याउँदै जाँदा सुनारसम्म पुग्न प्रहरीलाई दुई महिना समय लाग्यो।’
पक्राउ परेका सुनार एउटा सुन पसलमा कार्यरत कालीगढ समेत हुन्। उनी तुलसीपुर क्षेत्रमा डिलरको नामले परिचित छन्।
कालीगढको कामबाट पनि राम्रै आम्दानी गरिरहेका थिए। तर धेरै कमाउने सोँचले उनी भारत पुगेको र कारोबारीसँग सम्पर्क भएको अनुसन्धानमा देखिएको हो।
ब्राउन सुगरबाट राम्रै कमाइ हुँदै आएपछि सुनार भारत छोडेर दाङ फर्किएका थिए। भारतबाट ब्राउनसुगर ल्याइ र बाँके, दाङ, सल्यान लगायतका जिल्लामा कारोबार गर्दै आएका हुन्।