फेवातालको मुहान पामेतर्फ श्रीमती यशोदा र छोरी समृद्धिलाई लिएर घुम्न जाँदा, फोटो पत्रकार कृष्णमणि बरालले ताल किनारमा खेतालाहरूले खेत रोपिरहेको देखे।
फेवातालको सिमसार क्षेत्रमा यो दृश्य सुन्दर थियो। जहाँ जाँदा पनि क्यामरा नछाड्ने कृष्णमणिले मोटरसाइकल रोके। श्रीमती र छोरीलाई ओरालेर फोटो खिच्न थाले।
फोटो खिचेकोमा खेतालाहरूले उनलाई गाली गरे।
'हाम्रो फोटो खिचेर बेच्ने त होला नि,' खेत रोपिरहेका खेतालाको गाली सम्झिँदै कृष्णमणिले भने, 'फोटो खिच्दा गाली पाइएला भनेर सोचेको पनि थिइनँ।'
खेतालाको गाली सुनेर यशोदालाई रिस उठ्यो। थर्काउँदै कृष्णमणिलाई भनिन्, 'अबदेखि मसँग हिँड्दा क्यामरा भिर्ने होइन!'
थोरै बोल्ने स्वभावका फोटो पत्रकार कृष्णमणि जसलाई भेट्दा पनि मुस्कुराउँछन्। गाली गर्दा पनि मुस्कानले जबाफ दिए।
खपौंदीबाट फर्किएपछि उनले फोटो आफूले काम गर्ने संस्था अन्नपूर्ण पोस्ट र द हिमालयन टाइम्समा पठाए। भोलिपल्ट दुवै पत्रिकाको पहिलो पृष्ठमा फोटो छापियो।
'अहो, फोटो खिच्ने कुरा पनि महत्वपूर्ण नै रहेछ। हिजो मैले बेकारमा गाली गरेछु,' यशोदाले पत्रिका हेर्दै भनिन्।
त्यति बेला खिचेको त्यही फोटो आइतबार उनले फेवाताल किनारमा सार्वजनिक प्रदर्शनीमा राखे। फोटामा भएका खेताला कहाँ पुगे, उनलाई थाहा छैन। खेत भएको ठाउँमा अहिले फेवातालको पानीमै जोडिने गरी रेस्टुरेन्ट भरिएका छन्।
'यो फोटो नखिचेको भए छुट्ने रहेछ,' कृष्णमणिले भने, 'अहिले ताल नै अतिक्रमण गरेर रेस्टुरेन्ट भरिएका छन्। यो ठाउँमा पहिले जेठोबुढो धान रोपिन्थ्यो भनेर यही फोटो मात्र प्रमाण छ।'


विश्व सिमसार दिवसका अवसरमा उनले फेवाताल किनारमा यस्तै ३५ वटा फोटो प्रदर्शनीमा राखेका छन्। यी तस्बिरले बीस वर्षअघिको र अहिलेको फेवाताल चित्रण गरेका छन्। दुई दशकमा फेवाताल कति प्रदूषित, कति अतिक्रमित भयो भन्ने देख्न सकिन्छ।
'ताल कति साँघुरियो, कति अतिक्रमणमा पर्यो, कति प्रदूषित भयो भनेर मान्छेले थाहा पाउन जरूरी छ,' बरालले भने, 'यी फोटा हेरेर कोही न कोहीलाई त संरक्षणप्रति चासो जागोस्।'
कृष्णमणिले फेवातालको विभिन्न रूप कैद गरेका छन्। उनका फोटोमा चखेवा–चखेवी सिमसारमा रमाइरहेका छन्, सगरमाथा माथिबाट उडेर आउने खोयाहाँस माछा टिपिरहेका छन्, कुर्मा चरा र जलेवा फेवातालमा पौडी खेलिरहेका छन्। साथै फेवातालमा थुप्रिएको फोहोरका डंगुरहरू छन्। मदिराका बोतलदेखि प्लास्टिकका प्लेट र ग्लाससम्म तालमा तैरिरहेका छन्। किनार र सिमसार क्षेत्र फोहोरले भरिएको छ।
यो फोहोर टिप्ने कसैलाई चासो छैन। फोहोर फाल्न नहुने चेतावनी दिने पनि कोही छैन। मासुजन्य फोहोर फालिएको दृश्य बरालका फोटामा देखिन्छ जसलाई गिद्धले खोजी खोजी खाइरहेका छन्।
'गिद्धले मरेका सिनो मात्र खान्छन्। त्यसैले यसलाई प्रकृतिको कुचिकार भनिन्छ,' कृष्णमणिले भने, 'फेवाताल सफा गर्न गिद्धले जति भूमिका खेल्छन्, सरकारले पनि त्यति नै खेलेको भए ताल बच्थ्यो।'
कृष्णमणिले फेवाताल मात्र होइन, दिपाङ, गुँदे, न्युरेनी, बेगनास, रूपा लगायत ताल र पोखरीका तस्बिर पनि प्रदर्शनीमा राखेका छन्। कतै तालमा भैंसी र मानिस एकै ठाउँमा नुहाएको देखिन्छ, त कतै बाटो बनाउने नाममा दिपाङ ताल पुरिएको देखिन्छ।
फोटो प्रदर्शनी हेर्न पुगेका वातावरणविद हेमन्त ढकाल पोखराका ताल पोखरीमा परिणत हुँदै गएको बताउँछन्।
'पोखरीहरू मासिसके, अब तालको पालो,' उनले भने, 'बीस वर्षमै कति अतिक्रमण भयो, कति प्रदूषण बढ्यो भनेर यी फोटाले स्पष्ट पार्छन्।'
स्थानीय, प्रदेश वा संघीय — कुनै पनि सरकारले चासो नदिँदा तालको अस्तित्व मेटिने खतरा रहेको उनले बताए।
फेवातालपारि रानीबन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर चरा खेलिरहेका छन्, अन्नपूर्ण बेस क्याम्प भासिएको छ, गंगापूर्ण ताल फैलिँदैछ। होलीमा खेलिएको रङ बगेर तालको पानी नै रातो भएको तस्बिर पनि प्रदर्शनीमा राखिएको छ।
हेर्दा हेर्दै फेवातालको अवस्था बिजोग बन्दै गएको कृष्णमणि बताउँछन्। मोटरबाटो बनेपछि सहरीकरणले तीव्र गति लियो, तर सिमसार संरक्षणमा कुनै प्रभावकारी योजना बनाइएन।
पोखराका तालहरूको अस्तित्व जोगाउन सरकारले कस्तो नीति ल्याउने हो, त्यो भविष्यले बताउनेछ। तर, कृष्णमणिका फोटाले अहिले नै स्पष्ट संकेत दिएका छन् — संरक्षणबिनाको विकासले दीर्घकालीन रूपमा ठूलो क्षति पुर्याउनेछ।
पोखरा-६ बैदामका स्थायी बासिन्दा कृष्णमणिको खेत फेवातालमाथि सेदी र तल बिरौटामा थियो। पूर्व र पश्चिम दुबै ठाउँमा खेत भएकाले २०४८ सालमा परिवारले सेदीको खेत बेचेर बिरौटामा थपेका थिए।
बाल्यकालमा तालमै पौडी खेलेर, पानी पिएर हुर्किएका कृष्णमणि अहिलेको विनाश देख्दा चिन्तित छन्।


'अहिले त सिमसार क्षेत्रमा भोटी माछा देख्न पनि गाह्रो छ,' उनी भन्छन्।
२०५६ सालतिर उनले पहिलो पटक रिल क्यामरा किनेर फोटो खिच्न थालेका हुन्। उनले पहिलो समाचार भने घान्द्रुक भ्रमणपछि लेखेका थिए जति बेला पोखराको पर्यटन व्यवसाय स्वच्छ थिएन।
उनका अंकल विद्याविमल बराल लेकसाइडमा होटल चलाउँथे। पर्यटकलाई घान्द्रुक घुमाउन लैजान उनले प्रेरित गरे। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) थालनी भएको ठाउँ भएकाले होटल तथा होमस्टेको व्यवस्थापन, पर्यटकसँग गर्नुपर्ने व्यवहार र खानपान सिकाइएको थियो।
घान्द्रुकका सबै होटल तथा होमस्टेको मेनु एक्यापले बनाए अनुसार चल्थ्यो। त्यसो भएपछि, जुन घर वा होटलमा बसे पनि मूल्य एउटै हुन्थ्यो। लेकसाइडको पर्यटन व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा देखेर उनलाई घान्द्रुकको मोडल उचित लाग्यो।
'त्यति बेला घान्द्रूकका सबै होटल तथा होमस्टेको मेनुमा मूल्य एउटै थियो, जहाँ बसे पनि,' उनले भने, 'पोखरामा भने पर्यटकलाई देख्नेबित्तिकै अर्को व्यवसायीले भन्दा सस्तोमा दिने भन्दै तानातान हुन्थ्यो। अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा सबै होटलले एउटै मेनु बनाउनु उचित हुन्छ कि भनेर मैले समाचार लेखेँ। घान्द्रुकबाट पोखराले सिक्न सक्ने पाठ यही हो।'
त्यति बेला उनी कुनै सञ्चारमाध्यममा आबद्ध थिएनन्। उनको समाचार पोखराको स्थानीय पत्रिका 'आदर्श समाज' मा प्रकाशित भयो। अरूले उनलाई चिन्न थाले। आफ्नो नाममा छापिएको समाचार देखेर कृष्णमणि पनि दंग परे।
अर्को दिन, अंकलले उनलाई भारतीय पर्यटकलाई पातले छाँगो (डेभिस फल) देखाउन पठाए। त्यति बेला त्यहाँ जान अहिले जस्तो संरचना थिएन। सानो प्वालबाट पर्यटक लिएर भित्र छिरे। गुफामाथि ५–६ वटा घर बनेका थिए। भित्र त ह्वाङ्गै! बाहिर घर देखेर उनलाई डर लाग्यो।
'जोखिममा गुफामाथिको बस्ती' भन्दै उनले दोस्रो समाचार लेखे, 'आदर्श समाज' मै छापियो। त्यही समाचार विस्तार गरेर पठाएका थिए, 'राजधानी' को शनिबारीय परिशिष्टांकमा छापियो। पहिलो पटक राष्ट्रिय पत्रिकामा आफ्नो नाम देखेर रमाए। यसपछि नेपाल समाचार पत्रमा उनको पाठक पत्र छापियो। अब भने उनलाई पत्रकारिताको लत बस्न थाल्यो।
त्यही बेला पोखरामा 'हाम्रो बहुउद्देश्यीय सहकारी 'ले 'समाधान दैनिक' पत्रिका निकाल्ने तयारी गर्दै थियो। पत्रकार चाहिएको सूचना आयो। कृष्णमणिले आवदेन दिए, अन्तर्वार्ता दिएर उत्तीर्ण भए।
यो २०५९ सालको कुरा हो।
'समाधान दैनिकमा आबद्ध भएपछि म पूर्णकालीन पत्रकार बनेँ। त्यति बेलादेखि नै फेवातालका समाचार लेख्न र फोटो खिच्न थालेँ। प्रदूषण बढ्दै गएको र अतिक्रमण भइरहेको विषय उठाउन थालेँ,' उनले भने।


'अन्नपूर्ण पोस्ट' र 'द हिमालयन टाइम्स' ले कृष्णमणिलाई पोखराबाटै काम गर्ने गरी फोटो पत्रकारका रूपमा नियुक्त गरे। व्यावसायिक फोटो पत्रकार बनेपछि उनी दिनहुँ फोटोका लागि नयाँ ठाउँ, नयाँ विषय र पात्रहरू खोज्न थाले। सिमसारमा रमाएका चरादेखि गिद्धसम्म, खेत रोपिरहेका किसानदेखि माछा मारिरहेका जलारीसम्म, जहाँ जाँदा पनि उनले क्यामरा छुटाएनन्। नयाँ विषय देख्न्यो कि क्यामरा सोझ्याउन थाले।
'पहिले ताल भएका ठाउँ पुरिनेबित्तिकै खेत बनाइन्थ्योस। ती जग्गामा खेती गर्नेहरूले अहिले चराले धान खायो भनेर गुनासो गर्छन्। चरा धान खान आएको होइन, मान्छे नै चरा चर्ने ठाउँमा पुगेको हो,' उनले भने, 'फेवातालको सिमसारमा खेती गरेपछि चराले धान खान्छ। चरा र वनस्पतिका लागि खाली ठाउँ खोइ? तालको जमिन कसरी व्यक्तिगत भयो? ताल पुरिनेबित्तिकै खेत रोप्न अनुमति कसरी पाए?'
उनको सुझाव छ — सिमसारलाई प्राकृतिक रूपमै राख्नुपर्छ!
यसरी राख्दा उत्पादन हुँदैन भन्नेहरूलाई पनि उनी जबाफ दिन्छन्, 'सिमसारमा खेती गर्दा उत्पादन बढ्छ भन्नेहरूलाई थाहा हुनुपर्छ, पोखरामा चरा हेर्न अमेरिका, डेनमार्क लगायत देशबाट पर्यटक आउँछन्। चिनियाँहरू दिनभर चराको फोटो खिचेर बस्छन्। उनीहरूले बसेको, खाएको आम्दानी पनि त उत्पादन नै हो। चरा नै नरहे पर्यटक आउँदैनन्।'
विश्वभर गिद्ध संकटमा छन् भन्ने समाचार पढेपछि उनले गिद्धलाई पछ्याउन थाले। नेपालमा पाइने ९ प्रजातिका सबै गिद्ध पोखरामा देखिन्छन्। अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको ठाउँ पहिले चउर थियो। मुस्ताङबाट आएका घोडा, खच्चड लगायत जनावर त्यहीँ चर्न जान्थे। कतिपय मर्थे, अनि गिद्धहरू भुनभुनाउन थाल्थे।
कृष्णमणि दिनहुँ फोटो खिच्न त्यहाँ पुग्थे।
बेगनास तालतिर जाँदै गर्दा एक दिन आकाशमा सयौं गिद्ध घुमिरहेका देखे। उनी पनि त्यतै गए। जाँदा त चउरमा एउटा गाई मरेको रहेछ, अर्को गाई जिउँदो। जिउँदो गाईले गिद्धहरूलाई मरेको गाई खान नदिएको रहेछ। कुनै गिद्ध मरेको गाईमा बस्नासाथ, जिउँदोले लखेटिहाल्थ्यो। त्यो देखेर कृष्णमणिका आँखा रसाए।
'तर जब दर्जनौं गिद्ध एकैपटक बस्न थाले, जिउँदो गाईले केही गर्न सकेन र लुरूलुरू गयो। जनावरले पनि एकअर्कालाई यति धेरै माया गर्ने रहेछन्,' उनले सम्झिए।
उनको संग्रहमा अहिले हजारौं फोटो छन्। तिनलाई सार्वजनिक प्रदर्शनीमा राख्न सके, संरक्षणप्रति चासो जाग्छ कि भन्ने आशा छ।
उनले पहिलो पटक सन् २००९ मा काठमाडौंमा प्रदर्शनीमा राखेका थिए। 'सेभ द भल्चर' शीर्षकमा गिद्धका फोटो मात्र प्रदर्शनीमा थिए। त्यही वर्ष, अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा उनले पोखरामा पनि गिद्धका फोटो प्रदर्शन गरे। तनहुँको दमौली र नवलपुरको जटायु रेस्टुरेन्टमा पनि प्रदर्शनी गरिसकेका छन्।
सिमसार सम्बन्धी फोटो भने उनले पहिलो पटक सन् २०१२ मा फेवातालको किनारमा प्रदर्शन गरेका थिए। त्यसपछि विद्यालयहरूमा र कहिलेकाहीँ अन्य ठाउँमा पनि सार्वजनिक प्रदर्शनी गर्छन्।


'फोटो प्रदर्शनी गर्न खर्च अलि धेरै लाग्छ, त्यसैले पावर-प्वाइन्टमा देखाउने गरी विद्यालय र अन्य कार्यक्रममा प्रदर्शन गर्छु,' कृष्णमणिले भने, 'प्रकृतिका लागि गिद्ध र सिमसार कति महत्वपूर्ण छन् भन्ने जानकारी गराउँछु।'
नेपालमा लोपोन्मुख गिद्ध संरक्षण कसरी भइरहेको छ भन्ने देखाउन उनले वर्ष मार्चमा अमेरिकाको मिनेसोटामा पनि प्रदर्शनी गरेका थिए।
कृष्णमणिले गिद्धसम्बन्धी फोटो किताब पनि तयार पारेका छन्, जुन प्रकाशनमा पठाउन बाँकी छ। सिमसारको विगत र वर्तमानबारे पनि फोटो पुस्तक निकाल्ने उनको योजना छ।
'मेरा तस्बिर अमेरिकी अखबार द न्यूयोर्क टाइम्स, वाशिङटन पोस्ट, बेलायती दैनिक गार्डियन, रोयटर्स, एपी, एएफपी लगायत विश्वका धेरै सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन्,' उनले भने।
फोटो पत्रकार कृष्णमणि राजनीतिक आन्दोलनमा पनि पटक-पटक चपेटामा परेका छन्।
२०४६ साल फागुन ७ गते आन्दोलन घोषणा भएको दिन, तत्कालीन राजा वीरेन्द्र पोखराको रत्नमन्दिरमा थिए। त्यति बेला, वडा कार्यालयमा सरकारले टिभी बाँडेको थियो। कृष्णमणि, सन्जय पौडेल र राजेन्द्रराज रेग्मी टेलिभिजन हेर्न वडा कार्यालय गए। टेलिभिजनमा राजाको जयजयकार आइरहेको थियो। उनीहरू टिभी हेरेर निस्किए।
त्यति बेला, कृष्णमणि तालबाराही माविको कक्षा ९ मा पढ्थे। आफूभन्दा ठूला साथीहरूसँगै अंकलको घरमा रेडियो सुन्न गए। बाटोमा हिँड्दै गर्दा, राजेन्द्रले 'पञ्चायत मुर्दावाद! प्रजातन्त्र जिन्दावाद!' भनेर नारा लगाए। कृष्णमणि र सन्जयले साथ दिए। तीन जनाले व्यवस्था विरोधी नारा लगाएको कुरा प्रहरीले थाहा पाएर खोज्न थाल्यो।
उनीहरू अंकलको घर पुगे। समाचार सुन्न रेडियो मिलाउँदै थिए, प्रहरी आएर पक्राउ गर्यो। उनीहरू एक महिना थुनिए।
फोटो खिच्ने क्रममा पटक पटक धम्की पनि पाएका छन्। २०६२/६३ को आन्दोलनमा सेनाले क्यामरा खोसेर फोटो डिलिट गरिदियो। प्रहरीले समातेर गाडीमा हाल्यो। तर अरू पत्रकार र आन्दोलनकारीले चर्को विरोध गरेपछि उनलाई छाडियो।
'आन्दोलन गरेर व्यवस्था परिवर्तन गरियो, तर प्रकृति संरक्षणमा भने सरकार झन् उदासीन देखियो,' कृष्णमणि भन्छन्।


