रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले पालिकामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका छन्। उनले पालिकाको १ र २ नम्बर वडामा ४२० रोपनी जग्गामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका हुन्।
केही समय पहिले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मगरले च्याउ खेतीमा राज्यको दुई करोड ५० लाख रूपैयाँ लगानी रहेको बताए।
'हामी यहाँ फेरि सामूहिक खेतीको विकास गर्ने तयारीमा छौं,' मगरले भने, 'एउटा प्लटमा एउटै किसिमको मात्रै बाली लगाउने योजनाका साथ काम गरिरहेका छौं।'
सामूहिक खेती प्रणाली विकासका लागि प्रदेश कृषि ज्ञान केन्द्रबाट ४५ लाख, पालिकाबाट ४० लाख र संघीय सरकारबाट ५० लाख रूपैयाँ बजेट आएको अध्यक्ष मगरले जानकारी दिए।
सामूहिक खेती हुने स्थानसम्म पुग्न कृषि सडक निर्माणको योजना पनि थबाङले बनाएको छ। कृषि सडकका लागि पालिकाले १० लाख, प्रदेश सरकारले पाँच लाख र संघीय सरकारले ४० लाख रूपैयाँ बजेट विनियोजन गरिएको उनले बताए।
'राजनीतिक क्रान्ति त पूरा भयो, अब हामी यहाँ कृषि क्रान्ति गर्न चाहन्छौं,' अध्यक्ष मगरले भने, 'हामी उदाहरण बन्न चाहन्छौं र हाम्रो काम देखेर अरूले त्यसको अनुकरण गरून् भन्ने चाहन्छौं।'
युद्धकालमा थबाङले 'कम्युन' शैलीमा काम गरेको, त्यतिखेर कसैसँग कुनै लालच नहुने र एकअर्कालाई आवश्यक परेका बेला सहयोग गर्ने चलन रहे पनि शान्ति प्रक्रियापछि त्यो अभ्यासले सार्थकता नपाएको अध्यक्ष मगरले स्वीकार गरे।
'युद्धकालमा हामी थबाङका ३८ घरका ११८ जना सँगै बस्थ्यौं,' उनले भने, 'शान्ति प्रक्रियापछि त्यो छिन्नभिन्न भयो। पार्टी पनि छिन्नभिन्न जस्तै भयो र त्यो कम्युनको अभ्यासलाई मार्गनिर्देशन गर्ने कोही नभएपछि समस्या भयो।'
नेपालमा पछिल्लो समय खाँटी कम्युनिस्ट कोही नभएको पनि उनले बताए।
'म पनि आज असली कम्युनिस्ट होइन,' उनले भने, 'कम्युनिस्ट सिद्धान्त अनुसार नेपालमा कोही पनि कम्युनिस्ट छ जस्तो लाग्दैन।'
आफू रहुन्जेल हरेक वर्ष फागुन १ लाई 'जनयुद्ध दिवस' का रूपमा मनाउने उनले प्रण गरे। हरेक वर्ष जनयुद्ध दिवसमा थबाङले सार्वजनिक बिदा दिने गरेको र आफू पदमा रहँदासम्म बिदा दिइरहने बताए।
'जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएपछि सर्वोच्च अदालतमा मेरो नाममा अहिले पनि मुद्दा छ,' अध्यक्ष मगरले भने, 'तर, म अध्यक्ष रहुन्जेल जसले जे भने पनि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइरहनेछु।'
कलेजका कानुन पढिरहेका विद्यार्थीले 'तपाईंको यो कदम सर्वोच्चको अवहेलना होइन?' भनेर सोध्दा अध्यक्ष मगरले सर्वोच्च अदालत पनि आफूहरू जस्ता क्रान्तिकारीका लागि सबैथोक नभएको जबाफ दिए।
विद्यार्थीले 'बिगतमा तपाईंहरूले गाविस भवनहरूमा बम हान्ने, तर आफूले शासन गर्दा भने चार करोडको भवन चाहिन्छ भन्ने किन' भन्ने प्रश्न गरेका थिए।
जबाफमा उनले भने, 'हाम्रो क्रान्तिबाटै अहिलेको व्यवस्था परिवर्तन सम्भव भएको हुँदा अन्य कुरालाई गौण रूपमा बुझ्नुपर्छ।'
विद्यार्थीहरूले शिक्षासम्बन्धी सोधेका प्रश्नमा अध्यक्ष मगरले बिगतमा विज्ञान विषय नपढाइने थबाङमा अहिले कक्षा ११ र १२ मा विज्ञान पढाइ भइरहेको बताए। विज्ञान पढ्ने विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गाउँपालिकाले गरेको छ। विज्ञान शिक्षकलाई गाउँपालिकाले तलब दिने गरेको अध्यक्ष मगरले बताए।
स्थानीय पाठ्यक्रम तयार पारेर कक्षा ५ सम्म मगर खाम भाषामा पढाइ भइरहेको र कक्षा ८ सम्म मगर खाम भाषा पढाउने गरी पाठ्यक्रम तयारी भइरहेको उनले जानकारी दिए।
स्थायी शिक्षक र कर्मचारीहरू 'कसैले चाहेर मलाई चलाउन सक्दैन' भन्ने मनस्थितिले काम गर्ने हुँदा आफूले सोचेको जस्तो शिक्षामा सुधार गर्न नसकेको उनले बताए।
'हेर्नुहोस्, डाँडापाखा खनेर राताम्मे पार्नु मात्रै विकास होइन भन्ने मलाई लाग्छ,' मगरले भने, 'थबाङलाई मानव विकास चाहिएको छ – डाक्टर, नर्स, इञ्जिनियर, असल शिक्षक चाहिएको छ।'
गाउँपालिकाले शिक्षामा जोड दिएको हुँदा त्यसको परिणाम आउन १०-१२ वर्ष लाग्ने उनले बताए।
'बाटो खने एक घन्टामै देखिन्छ,' उनले भने, 'तर मैले त्यसमा उति चासो दिएको छैन। मैले शिक्षामा जोड दिएको छु र त्यसको परिणाम अबको एक दशकपछि देखिन थाल्ने आशा छ।'
विद्यार्थीहरूले बिगतमा जबरजस्ती बाल सेनामा लगिएकाहरूको वर्तमान अवस्था सोध्दा, अध्यक्ष मगरले आफूले शान्ति प्रक्रिया सुरू भएपछि शक्तिखोरमा बसेर पढेको बताए।