चितवनको दिव्यनगरबाट पासोमा पारिएको चखेवासहित एक युवक पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जले पासोमा पारिएको चखेवासहित ३१ वर्षीय युवकलाई रंगेहात पक्राउ गरेको हो।
चरा देखाउन विदेशी पर्यटकलाई लिएर गएका गाइडले पासो थापेको देखेपछि निकुञ्जलाई खबर गरेका थिए।
दिव्यनगर फार्मल्याण्ड क्षेत्र हिउँदमा बसाइँ सरेर आउने चराहरुको रोजाइको स्थान हो। यहाँ दक्षिण पूर्वी युरोप, मध्य एसियाका देशहरु तथा मंगोलिया, पश्चिम चाइनातिरबाट चराहरु बसाइँ सरेर जाडो छल्न आइपुग्छन्। चखेवा पनि तिनै मध्येको एक प्रजाति हो।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले पासो र चखेवासहित समातिएका युवकको विषयमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको बताए। उनले बयानमा चरा मार्दा कानुन लाग्छ भन्ने थाहा नपाएको बताएको थापाले जानकारी दिए।
विगतमा पनि यस क्षेत्रमा चरालाई पासोमा पार्ने, बालीमा विष छरेर मार्ने गरेको भेटिएको थियो। बढ्दो क्रममा रहेको मानवीय गतिविधि, पूर्वाधार निर्माण, विष हालेर मार्नेलगायतका कारणले यहाँ बसाइँ सरेर आउने चराको संख्या घटिरहेको छ।