दाङको तुलसीपुर उपमहानगरपालिका– ५ बिपी चोकको केही दक्षिण मुख्य बजारमै रहेको एनएमबि बैंकको शाखा कार्यालयमा चोरी गर्न भनेर मध्यरातमा पुगेका २७ वर्षीय सन्तोष चौधरीको पनि खाता रहेको खुलेको छ।
तुलसीपुर–१८ दुधरासका चौधरीको बैंकमा आफ्नै खाता थियो भने उनले त्यहाँ आफै कारोबार गर्ने गरेको खुलेको छ।
‘मध्यराति चोरी गर्न भनेर आएका व्यक्ति हाम्रो बैंकको एकाउन्ट होल्डर पनि हो,’ बैंकका शाखा प्रबन्धक सबिन अधिकारीले भने, ‘उहाँले हाम्रो बैंकमा आवश्यकता अनुसार पैसा जम्मा गर्ने तथा झिक्ने कार्य गर्दै आउनु भएको थियो।’
चौधरीले यो बीचमा पैसा राख्न र झिक्न आउने क्रममा बैंकमा दिउँसोमा जस्तै रातिमा सुरक्षार्थ गार्ड कोही हुँदैनन् भन्ने कुरा थाहा पाएका थिए। त्यो कुरा पत्ता लगाएपछि उनले बैंकबाट एकै पटक ठूलो परिमाणमा पैसा झिक्न सक्छु भन्ने गलत आसय बनाई चोरी गर्ने उद्देश्यका साथ मध्यराति पुगेको अनुसन्धानबाट खुलेको छ।
चौधरीलाई आइतबार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खत्री नेतृत्वको टोलीले पक्राउ गरेको थियो।
एनएमबि बैंकमा ताला फोडी कोलियाबाट भित्र प्रवेश गरी चोरीको प्रयास गरिरहेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यो पनि:
मध्यरातमा चोरी गर्न छिरेका युवक समातिए बैंक भित्रैबाट
चौधरीको साथबाट प्रहरीले हतौडा, छिनो, पिलास, ह्वाक्सा बिलेट लगायतका सामग्री पनि बरामद गरेको थियो। चौधरीले दूधरासबाट तुलसीपुर बजारसम्म पुग्न प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर बैंकको नजिकै पार्किङ गरी आफू चोरी गर्ने उद्देश्यले बैंकभित्र छिरेका थिए।
प्रहरी हिरासतमा रहेका आरोपित चौधरीले उपचार गर्ने पैसा नभएपछि आफू बैंक चोरी गर्न सके उपचार गर्थें भन्ने उद्देश्यले गएको हुँ भन्ने प्रारम्भिक बयानका क्रममा बताएका छन्।
‘खुट्टामा रड छ भन्ने कुरा चौधरीको छ,’ प्रहरी निरीक्षक खत्रीले भने, ‘बैंक फोडेपछि उपचार गर्न पैसा प्रशस्त हुन्थ्यो भन्ने उद्देश्यले चोरी गर्न गएको थिएँ भन्ने बयान आरोपितको छ।’
चौधरीले प्रारम्भिक रूपमा आफ्नो उपचार गर्ने पैसाको जोहो गर्न चोरी गर्न गएको हुँ भने पनि त्यसबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
चौधरीले एकैपटक अकुत पैसा प्राप्त गर्ने लालचले बैंक चोरी गर्न पुगेको भए पनि प्रविधिका बारेमा ज्ञान भने नराखेको अधिकारीहरू बताउँछन्।
एनएमबि बैंकको तुलसीपर शाखामा रातिमा सुरक्षार्थ कोही गार्ड नराखे पनि प्राविधिक रूपमा भने सुरक्षित थियो। सिसिटिभी त हरेक बैंकमा हुन्छन् नै। त्यो बाहेक यो बैंकले केन्द्रबाट गतिविधि मोनिटरिङ गर्ने गरी ठूलो स्क्रिन पनि राखेको छ। जब चौधरीले बैंकमा बाहिरको ताला फोडेर भित्र प्रवेश गरे केन्द्रको स्क्रिनमा हलचलका केही खतरा जनाउ दिने रेड सिग्नलहरू प्रविधिका कारण तत्कालै पुगेपछि बैंकको केन्द्रीय कार्यालयले नै दाङको घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा तत्कालै फोन सम्पर्क गरी बैंकमा भइरहेको चोरीको प्रयासबारे सूचना दिएको थियो।
त्यो खबर पाउनासाथ पौने २ बज्दै गर्दा जिल्ला प्रहरी कार्यालय घोराहीले २४ किलोमिटर पश्चिमको इप्रका तुलसीपुरलाई तत्कालै एनएमबि बैंकमा जान निर्देशन दिएको थियो।
त्यसपछि मध्यरातमा पुगेको प्रहरी निरीक्षक खत्री नेतृत्वको टोलीले राप्ती राजमार्ग अन्तरगतको मुख्य सडक खण्डमा बैंक नजिकै पार्किङ गरिराखेको एउटा स्कुटर देखेको थियो। तर, प्रहरीले स्कुटरभन्दा चौधरीलाई नियन्त्रणमा लिएको थियो।
चौधरीलाई नियन्त्रणमा लिइसकेपछि आशंका लागेर सोध्दा नजिकै पार्किङ गरिराखेको स्कुटर उनकै भएको खुलेपछि प्रहरीले त्यो पनि नियन्त्रणमा लिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका प्रमुख डिएसपी अनिल ठकुरीले बताए।