कर्णालीका युवा उद्यमीहरुले युवाहरुलाई विदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताएका छन्।
वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन शनिबार समूह छलफलमा वक्ताका रुपमा सहभागी उद्यमीहरुले राज्यले युवालाई उद्यम क्षेत्रमा आकर्षित गराउन नसकेको बताए।
वीरेन्द्रनगरमा रेष्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरुलाई रोजगारी दिएका पोषणराज रेग्मीले युवालाई विदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए।
‘नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरुलाई प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरु स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रुपमा सहजीकरण गर्नु जरुरी छ।’
अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्र विष्टले युवाहरुलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आफूले सुरु गरेको व्यवसाय पनि अरु युवाहरुलाई प्रेरित गर्नका लागि भएको बताए। नवप्रर्वतनका क्षेत्रमा उनी कर्णालीकै ख्यातिप्राप्त युवामा पर्दछन्।
राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो।
‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरु समेत उद्यमशिलतामा आर्कषित भएको पाइँदैन्।’
अर्का उद्यमी कल्पना विष्टले उद्यमशील बन्न चाहने युवाहरुले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन्।
बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने उद्यमी लक्ष्मी भट्टराईले युवाहरुलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुर्ने बताइन्। वीरेन्द्रनगरमा बेत तथा बाँसबाट फर्निचर तथा भवन डेकोरिङका सामानहरुको उत्पादन र बजारीकरण गर्दै आएकी छिन्।
नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरुका लागि उद्यमशिलता र नवप्रर्वतनसम्बन्धी व्यवसायका लागि बंैक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गरिरहेको बताए।