भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको सनाखत भएको जनाएको छ।
बुधबार अपराह्न ५ बजेतिर रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। जसमध्ये सात जना नेपाली रहेको खुलेको हो।
मन्त्रालयले मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ।
ज्यान गुमाउनेहरू कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्मा विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध छन्।
दुर्घटनामा घाइते भएका चार जना नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ।
मन्त्रालयले मृतकको शव नेपाल ल्याउन र घाइतेको उपचार गर्न दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंको भारतीय दूतावाससँग समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।