बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
दाङको राप्ती सोनारी गाउँपालिका – ९ ओभरीकी ६७ वर्षीया सेती बुढा मगरको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।
सेती बुधबार बिहान ११ बजेतिर स्थानीय भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा लिन गएकी थिइन्।
दिउँसोसम्म घर नफर्केपछि स्थानीय बासिन्दाहरू खोजीका लागि वन गएका थिए।
स्थानीयले सोही दिन दिउँसो साढे ३ बजेतिर सेतीको टाउको र खुट्टाको भाग बाघले खाएको अवस्थामा शव फेला पारेका थिए।
त्यसपछि स्थानीयले दिउँसो ४ बजेतिरे प्रहरीलाई सूचना दिएका थिए। सेतीको शव पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ।
मगरको घरदेखि घटनास्थल झन्डै तीन किलोमिटर दक्षिण पूर्वमा पर्छ। त्यो ठाउँ बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायिक वन हो।