भारतको महाराष्ट्रमा रेलमार्गमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पचोरानजिक महेजी र परधाडे स्टेशनको बीचमा बुधबार साँझ करिब ५ बजे भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको भारतीय मिडिया इन्डियन एक्सप्रेसले जनाएको छ।
बुधबार साँझ मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेलको बुगीमा आगलागी भएको हल्ला चलेको थियो। आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले आपतकालीन अवस्थामा रोक्नका लागि प्रयोग गरिने चेन तानेर रेल रोकेका थिए।
रेल रोकिएपछि ३०/३५ जना हामफालेर अर्को पट्रीतर्फ भागेका थिए।
इन्डियन एक्सप्रेसका अनुसार भागेकाहरूलाई विपरीत दिशाबाट आउँदै गरेको कर्नाटका एक्सप्रेसको रेलले ठक्कर दिएको थियो।
कमजोर भिजिबिलिटी र रेलवे ट्र्याक् घुम्ति भएकाले विपरीत दिशाबाट आउँदै गरेको रेल र पुष्पक एक्सप्रेसबाट भागेका यात्रु दुवैले एक अर्कालाई नदेखेकाले दुर्घटना भएको बताइएको छ।
प्रोटोकल अनुसार पुष्पक एक्सप्रेसका चालकले फ्ल्यासर लाइटहरू सक्रिय गरेको तर ट्र्याकहरूको घुमाउरोपनका कारण कर्नाटका एक्सप्रेसले समयमै ब्रेक लगाउन नसकेको भनिएको छ।
मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली छन्। १० जनाभन्दा बढी घाइते र तीमध्ये चार जनाको अवस्था गम्भीर छ। घटनास्थलबाट केही शवहरू टाउको नभएको अवस्थाा भेटिएकाले सनाखतका लागि समय लागेको बताइएको छ।
घटनापछि अधिकारीहरूले चेकजाँचका क्रममा रेलभित्र आगलागी नभएको पुष्टी गरेका छन्।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।