लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-२ बस्ने ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरे छन्।
उनले थुप्रै व्यक्तिहरूलाई झुक्यानमा पारेर ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
उनले विभिन्न महिलाहरूलाई आफू त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कार्यरत भन्सारको कर्मचारी हुँ भनेर चिनाउने गर्थे। लिलामी गर्नुपर्ने सुन सस्तोमा मिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गर्ने उनको शैली रहेको एसपी आचार्यले बताए।
त्यसैगरी भन्सारमा रहेको आइफोन, विभिन्न कम्पनीको ब्रान्डेड गाडीहरू मिलाइदिने भन्दै ठगी गर्ने गरेको खुलेको हो।
कतिपयलाई उनले आफू सिआइबीकै मानिस हुँ भन्दै बेरोजगार युवा युवतीहहरूसँग चिनजान गरी जागिरमा समेत लगाइदिने आश्वासन दिने गरेका थिए। जागिर मै लगाइदिने भनेर पनि उनले विभिन्न व्यक्तिहरूलाई ठगेको प्रहरीले जनाएको छ।
विभिन्न व्यक्तिहरूबाट ८० लाख भन्दा बढी रकम बराबरको ठगी जाहेरी प्रहरीकहाँ परेको छ।
कार्यालयमा मात्रै ११ वटा ठाडो उजुरी उनीविरूद्ध परेको छ। २०७२ सालदेखि विभिन्न अदालतबाट ठगी तथा बैंकिङ कसुर सम्बन्धी ९ वटा मुद्दा दर्ता भएको देखिएको छ।