टर्कीको एक रिसोर्ट होटलमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ।
टर्कीको बोलुमा मंगलबार बिहान १२ तले ग्रान्ड कार्टल होटलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहान साढे ३ बजेदेखि सुरू भएको आगलागी करिब १२ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो। चिसो मौसमका कारण दमकलहरू आउन ढिलाइ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यकहरूले जनाएका छन्।
आगलागी हुँदा होटलमा २३८ जना अतिथि थिए। आगो लाग्न सुरू हुँदा अलार्म पनि नबजेका कारण धेरैले आगलागी भएको थाहा नै पाउन नसकेको भनेर एकजना घाइतेलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
धेरै मानिसहरूको निसास्सिएर मृत्यु भएको र मृत्य भएकाहरुको पनि पहिचान गर्न कठिनाइ भइरहेको बताइएको छ।
आगालागीमा परी ५१ जना घाइते भएका छन्।
आगलागीपछि होटलको कयौंले होटलको झ्यालबाट हामफालेर ज्यान बचाएका थिए। एक जना त होटलको ११ औं तल्लाबाट हामफालेको भनेर प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएका छन्।
हामफालेर जिउ जोगाएकाहरुको उपचार भइरहेको छ।
आगलागीको घटनापछि रिसोर्टका मालिकसहित ९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
टर्कीमा बुधबार शोक बिदा दिइएको छ।