युवा तथा वृद्धहरूमा क्यान्सर लाग्ने कारणहरू धेरै हदसम्म पहिचान गर्न सकिन्छ। जस्तो, रक्सी, चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गरे, खानपानको समस्या तथा मोटोपनले जोखिम बढाउँछ भन्न सकिन्छ।
तर बालबालिकालाई क्यान्सर हुने कारण यही हो भनेर पुष्टि भएको छैन। अहिलेसम्म देखिए अनुसार जीनमै खराबी भएर क्यान्सर लाग्ने देखिएको छ। जीनको खराबीले ९० प्रतिशत क्यान्सर देखिन्छ भने १० प्रतिशत कारण वंशाणुगत हुन्छ।
त्यसैले यसको स्क्रिनिङ गर्ने प्रविधि छैन। यसबाट बच्ने भनेकै लक्षण देखिएपछि वा रोग पहिचान भएपछि सक्दो चाँडो उपचार गराउने हो।
बालबालिकालाई लाग्ने क्यान्सर मुख्य गरी दुई खालका हुन्छन्।
एउटा रगतको कोषिकासँग सम्बन्धित हुन्छ। यसलाई रक्त क्यान्सर वा ब्लड क्यान्सर वा ल्युकेमिया पनि भनेर चिनिन्छ।
अर्को हो शरीरको जुनसुकै अंगमा पनि लाग्ने क्यान्सर। जस्तैः ब्रेन ट्युमर, मिर्गौलाको, हाड तथा मांसपेसीको क्यान्सर लगायत।
बालबालिकालाई लागेको क्यान्सर उपचार गर्ने विभिन्न पद्धति हुन्छन्। किमोथेरापी, शल्यक्रिया, रेडिएसन लगायत पद्धति हुन्छन् जुन बिरामीको आवश्यकताका आधारमा प्रयोग गरिन्छ। मुख्य चाहिँ यिनै तिनटा पद्धति हुन्।
भक्तपुर क्यान्सर अस्पतालमा अहिले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क हुन्छ। बिरामीलाई शंका लागेर गरिएको परीक्षणदेखि औषधिसम्म केहीको शुल्क लाग्दैन।
बच्चालाई लाग्ने क्यान्सरमध्ये ९० प्रतिशतसम्मको उपचार सम्भव हुन्छ।
उपचारपछि निको हुने सम्भावना धेरै हुने र खर्च पनि नलाग्ने भएकाले बालबालिकाको उपचार गराइहाल्न आग्रह गर्छु।
(भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछानेसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित)